जहाज किन्न पशुपतिनाथको साथ, अर्जुनदृष्टी लण्डन फ्लाइट, नयाँ एयरबस खरिदबारे सुगतरत्नको बयान

बिजमाण्डू
२०७३ माघ २४ गते १८:४३ | Feb 6, 2017
जहाज किन्न पशुपतिनाथको साथ, अर्जुनदृष्टी लण्डन फ्लाइट, नयाँ एयरबस खरिदबारे सुगतरत्नको बयान
नयाँ एयर बसको टेण्डर प्रक्रियालाई केही मिडियाले विवादमा मुछेपछि सोमवार नेपाल एयरलाईन्सका महाप्रबन्धक आफ्नो व्यवस्थापन टोलीसँग पत्रकारहरु सामु प्रकट भए। उनले विवादसँगै नयाँ एयरबस किन चाहियो त्यसको बयान गरे।

Tata
GBIME
Nepal Life

काठमाडौं। हामीले वाइडबडीकालागि तपाई‌हरुलाई धेरैपटक जानकारी दिइसकेका छौं। यो देशमा दुईचारवटा त्यस्ता तत्व छन् जो हाम्रो जहाज खरिदको समग्र प्रक्रियामा प्रश्नचिन्ह उठाएर यो जहाज खरिदका लागि अवरोध गर्दै आएका छन्।

जहाज खरिद प्रक्रियामा कुनै गलत नियत भयो की, ऐन नियम मिचेर खरिद प्रक्रिया अगाडि बढायो कि भनेर मिडियामा आउन थालेपछि हामीले माननीय मन्त्री र सचिवसँग सल्लाह गरेर प्रक्रिया अगाडि बढाएका हौं।

वाइड बडि खरिद गर्दा भएको के हो?

वास्तवमा वाइड बडि खरिद गर्दा भएको के भने झन्डै  २० महिनापछि यसको प्रक्रिया अगाडि बढेको थियो। यसभन्दा अगाडि पनि विभिन्न चरणमा १० बर्षे र १५ बर्षे योजना भनेर पनि अगाडि बढाएका थियौं। यसमा अनौपचारिक रुपमा छलफल गरेर निगमभित्र व्यापक व्रेनस्ट्रोमिङ भएर बाहिर आएको विषय हो।

त्यतिवेला वाइडबडि चलाउने कि अहिलेलाई यत्ति नै गर्दा हुन्छ भनेर पनि छलफल भएको थियो। त्यो बेला हामीले कुनकुन गन्तव्यमा कसरी उडाउने भनेर कुन गन्तव्यमा सेवा विस्तार गर्दा राम्रो हुन्छ र फाइदा हुन्छ भनेर छलफल भएको थियो। त्यस्तै पर्यटन क्षेत्रमा कसरी फाइदा हुन्छ भनेर पनि पर्यटन क्षेत्रमा आवद्ध संघसंस्था, होटेल संघ, ट्राभल एजेन्सी तथा व्यक्तित्वहरुसँग पनि छलफल भएको थियो। त्यतिबेला सवैको चाहना पनि नेपालको पर्यटन क्षेत्रलाई अगाडि बढाउन जहाज अनिवार्य रहेको भन्ने निश्कर्ष आएको थियो।

पर्यटन उद्योगलाई उकास्नका लागि नेपाल एयरलाइन्सको जहाज थप नगरिकन कुनै उपाय छैन। एकजना हाम्रो पर्यटन व्यवसायीले मलाई चुनौती समेत दिएका थिए। उसको नाम नै भनौं विजय अमात्य। उसले के भन्यो भने 'संसारमा एउटा मुलुकको नाम देखाइदेउ जुन मुलुकमा राष्ट्रिय ध्वजावाहक विमानविना पर्यटन उद्योग अगाडि गएको छ।'

त्यहि भएर पनि हामीले अहिले के मेसेज दिन खोज्या हो भने राष्ट्रिय ध्वजावाहक विमानको अपरिहार्यता नेपालमा धेरै रहेको छ।

किन्न हैन चलाउन गाह्रो 

वाइडबडि खरिद गर्न कुनै गार्हो विषय हैन। खासमा भन्दा त्यसको सञ्चालन गर्नु नै सबैभन्दा चुनौतीको विषय हो। काम गर्न गार्हो भएको कारण पनि जहाज खरिद गर्न ढिला  भएको हो। हाम्रा कर्मचारीहरु दिनरात खटेर त्यसका लागि धेरै कामहरु गरेका छन्। बाहिर देखिएजस्तो विमान खरिद गर्ने भन्ने कुरा कहाँ त्यति सजिलो छ र ?

त्यस्तै अहिले हामी अनलाइन बुकिङमा जाँदैछौ। अनि युरोपियन देशमा जानकालागि सेफ्टि लिस्टबाट बाहिर जानकालागि प्रयास गरिरहेका छौं। त्यतातिर पनि ध्यान दिनुपर्यो। हामीले जति चाँडो युरोपियन स्टाण्डर्डमा गयौ त्यति धेरै नाफा कमाउन सक्छौ। चाँजोपाँजो मिलाउँदै जाँदा केहि समय लाग्ने हो। हामी जसरी भएपनि वाइडबडि चलाएर देखाउँछौ। त्यो हाम्रालागि च्यालेन्ज नै छ।

संसारका दुई सयवटा देशले वाइडबडि भएको जहाज चलाउने सक्ने हामीले किन नसक्ने, के नेपालले वाइडबडि चलाउन नसक्ने हो त, त्यसो हैन। हामीमा हिनतावोध हुनु भएन। हामी जसरीपनि जहाज चलाउन सक्छौ।

एक दिन तपाईंलाई गर्व हुनेछ

के कति कारणले चलाउन सक्दैनौं भन्ने प्रश्नको जवाफकालागि अहिले हामी दिनरात खटिइरहेका छौं। हाम्रा सबै कर्मचारीको जाँगर अहिले त्यसैमा छ, हामी जहिले वाइडबडि चलाउँछौ त्यो दिन भन्नुहोला एनएसीका कर्मचारीले पनि वाइडबडि चलाए। त्यो दिन तपाईंलाई पनि नेपाल वायु सेवा प्रति गर्व हुनेछ।

हाम्रो खरिद प्रक्रिया हामी सरकारी कार्यालय भएका कारणले केहि ढिला त अवश्य हुन्छ। हामीलाई युरोपियन, अमेरिकन तथा जापानका मान्छेले सोध्छन् पनि, किन खरिद गर्न ढिला गर्या भनेर। सरकारी अफिस भएपछि केहि ढिल त भइहाल्छ नी। यो संसारभरीको सरकारी कम्पनीको नियम नै हो, यसमा केहि ढिला हुन्छ नै।

हमीले १५/१६ महिना अगाडि देखिनै वाइडबडि कसरी ल्याउने अनि कसरी टेण्डर गर्ने भनेर व्यापक छलफल गरिरहेका छौं। सबैभन्दा मुख्य कुरा भनेको हामीले कुनैपनि विदेशी कम्पनी वा फर्मसँग वाइडबडि खरिदकालागि करोडौं रुपैयाँको कन्सल्टेन्सी पनि गरेनौ र नेपाली सिप र दक्षताबाट नै वाइडबडिको टेण्डर बनाएका हौं।

हाम्रो प्रयासमा नै टण्डर प्रक्रिया सबै भयो। म के भन्न चाहन्छु भने कुनैपनि निर्माणकालागि होस् या सडकका लागि होस् या पुल या हाइड्रोपावर वनाउने किन नहोस् ठेक्का पर्ने एउटा कम्पनीलाई नै हो। अव यसमा एकजनालाई दिने भनेर टेण्डर गरेको १० वटाले आवेदन दिए। १० वटा परिसकेपछि टेण्डर पर्यो एउटालाई र बाँकी रहेका नौवटाले त तत्कालै मुड अफ भएर केके भन्न थालिहाले।

टेण्डर भन्या के हुन्छ भने राम्रो सामान सस्तोमा पायो भने त्यो उत्कृष्ट टेण्डर हुन्छ र हामीले त्यो प्राप्त गरेका छौं। कहिलेकाहिँ केही राम्रो सामान अलि सस्तोमा र नराम्रो सामान केही औसतमा आयो भने त्यो समयमा केही गार्हो हुन्छ निर्णयकर्तालाई।

तर यो चाहिँ टेण्डर हाल्दाचाहिँ हामीलाई पशुपतिनाथले हेरेको हो भनेर भन्छौ हामी। किन भनेर भन्दा सबैभन्दा राम्रो सामान सस्तोमा आयो। टेण्डरमा भनेका थियौं तीनचार बर्ष चलेको र हजार घण्टा चलेको विमान हामी लिन्छौं सस्तो दियो भने। तर पर्न गयो कस्तो चान्सले भन्नुपर्यो अथवा हाम्रो भाग्यले दिएको भन्नुपर्यो एकघण्टा पनि नचलेको जिरो आवर्सको ब्राण्ड न्यू जहाज सबैभन्दा सस्तोमा दिने कम्पनी निस्कियो। भनेपछि त्यहाँ त नराम्रोको त च्याप्टर नै क्लोज भयो।

कतै रिटेण्डरको खेल त भैरहेको छैन?

हामीले मुल्याङ्कन समिति गठन गरेका थियौं त्यसले एक हप्ताभित्र सकाइदिनु भनेका थियौं। सबैकुरा प्रक्रिया पुर्याएर गरेको हो । र मलाई शंका लागेको कुरा टेण्डर नपरेका नौवटा कम्पनीले आस गरेको हुन्छ की यो टेण्डर प्रक्रियामा केही गडबढ भएको छ की केहि गरेर रि टेण्डर गर्यो भने त हामीले फेरि हाल्न पाइहाल्छौ। उनीहरुले विथोल्नका लागि यो हर्कत गरेको मलाई शंका लागेको छ।

अहिले केही मिडियामा आएको कुरा सम्झँदा र हामीलाई परेको उजुरी हेर्दा होकि जस्तो पनि लागिरहेको छ। त्यो बाहेक अरुलाई त शंका गर्ने ठाउँ नै देख्दिन म।

उदाहरणकालागि हाम्रा प्रतिस्पर्धी कम्पनीहरुले हामीले जब डाइरेक्ट फ्लाइट लण्डन, फ्राङ्कफर्ट, जापान राख्यो र भोलि गएर हामी सेफ्टी लिस्टबाट बाहिर आयौं भने उनीहरुको व्यापार कम हुने देखेर पनि यसो गरेको हुन सक्छ।


कम खर्चमा धेरै कमाउने लण्डन

तर हाम्रो आँखाको अर्जुनदृष्टी भनेको त डाइरेक्ट लण्डन फ्लाइट गर्ने हो। हामीले गरेको अनुसन्धानले पनि यहि भन्छ। सवैभन्दा कम खर्चमा धेरै पैसा कमाउने एकमात्र गन्तव्य भनेको लण्डन नै हो त्यो हामीले देखिसकेका छौं। तर हामी अहिले सेफ्टी लिस्टमा परेका कारणले जान सकिरहेका छैनौ तै पनि हाम्रो विश्वास के छ भने हाम्रो वाइडबडि आउन्जेलसम्म हामी सेफ्टीलिस्टबाट बाहिर गइसक्छौं।

लण्डन फलाइट भइसकेपछि हाम्रो प्रतिश्पर्धी कम्पनीको व्यापार घट्न सक्छ त्यो भएर उनीहरुलाई चिन्ता लाग्नु सामान्य हो। अहिले टर्कीको मात्र छ नेपालबाट युरोपमा जाने एयरलाइन्स। त्यो पनि आधा एसिया र आधार युरोप भएका कारण इस्तानवुलले युरोपको मान्यता सबै पाउँदैन। 

हामीले पर्यटक भित्र्याउने हो भने पर्यटकको खानी कहाँ छ भनेर खोतल्ने हो। हामी जहाँ विकसित मुलक र धेरै आयस्रोत भएका देशसँग फ्लाइट गर्ने हो। चीन र भारत बाहेक। उनीहरु त छिमेकी भएका कारण मध्यम बर्गको संङ्ख्या धेरै भएको पनि सुनेका छौं। उनीहरुलाई बर्षको एकपटक विदेश घुम्नकालागि त सरकारले नै व्यवस्था गरेको हुन्छ तिनीहरुलाई पनि आकर्षित गर्नुपर्छ। त्यसको हामी क्यास गर्न सकिरहेका छैनौं। र त्यसको कारण के हो भने हवाई क्षेत्रमा एसियाको सबैभन्दा महंगो गन्तव्य काठमाडौं भएका कारण पनि हो।


नेपाल आउने पैसाले तीन देश घुम्न पुग्छ

त्यो कारणले पनि धेरै पर्यटक भित्रिन सकेका छैनन्। अस्ति एकजना जापानी साथीले भनेको तिम्रो देश आउने पैसाले त हामी तीनवटा देश घुम्नलाई पैसा पुग्छ।

त्यसैले हामी मार्केटमा हस्तक्षेप गरेर भएपनि युरोप र जापान तथा कोरियामा उडान भर्छौ। त्यहाँ हाम्रो कुरा पनि भइरहेको छ। जापानको ओसाकामा जाने भनेर भनिरहेका छौ। त्यस्तै कोरियाले त पर्मिसन पनि दिइसकेको छ।

वाइडबडि चलिसकेपछि हामी पुरानो बोइङ बेच्ने योजनामा छौं। एउटा त चाँडै नै विक्री हुँदैछ भने अर्को पनि सन् २०१९ सम्म बेचिसक्नेछौं। हाल खरिद गर्न लागेका दुईवटा वाइडबडि सुरुवातमात्र हो। त्यसपछि हामी बोइङ विस्थापित गरेर एयरबसमा जान्छौ। हाम्रो सञ्चालक समितिको धारणा नै हरेक बर्ष अन्तराष्ट्रिय सेवामा एउटा वाइडबडि एयरबस खरिद गर्ने हो। अझ सकिन्छ भने बार्षिक दुईवटा विमान थप गर्नुपर्छ भन्ने हो। यहि नीति लिएर अहिले इथियोपियाको राष्ट्रिय ध्यजावाहक इथियोपियन एयरलाइन्सले ७४ वटा जहाज बनाइसक्यो। उसले त अहिले युरोप तथा अमेरिका पनि उडान गर्छ। हामी पनि त्यसको सिको गर्दै निकट भविष्यमा धेरै जहाज थप गर्न सक्छौं।

अहिले हामी जुन जहाज खरिद गर्न गइरहेका छौं ।  अत्यन्त पारदर्शी ढंगले खरिद गर्न गइरहेका छौं। सार्वजनिक खरिद ऐनको कुनै दफा उल्लङ्घन भएको छैन साथै हाम्रो आफ्नै विनियमको पनि कुनै दफा उल्लङ्घन भएको छैन।
 

एयरबसको फ्याक्ट्रीमा बन्दैछ नयाँ जहाज

एएआर कम्पनीसँग जहाज छैन भनेर फगत हल्ला फिँजाइएको छ बजारमा। हुन पनि हो त्यो कम्पनीसँग अहिले कुनै जहाज छैन। भएको भए त हामीलाई सेकेन्डह्याण्ड दिन्थ्यो। हामीलाई दिने भनिएको जहाज त एयरबसको फ्याक्ट्रीमा बन्दै गरेको छ।

उक्त जहाज बनिसकेपछि त्यो जहाज सोझै काठमाडौं आउँछ। पोर्चुगलको कम्पनीले अर्डर गरेर किन्न नसकेपछि उक्त कम्पनीले किनेर हामीलाई दिने भनेको हो।

तपाईपनि हेर्न सक्नुहुन्छ कि एयरबसको वेवसाइटमा जहजको मूल्य कति हो भनेर हेर्दा सो जहाजको मूल्य दुईसय ३१ मिलियन राखेको छ। जबकि उक्त कम्पनीले हामीलाई एकसय चार मिलियनमा कसरी दिन सक्छ। अझ हामीलाई दिने कम्पनी एएआरले कति कमिसन पनि खाएको होला। लिस्टेड प्राइस भन्दा किन्ने प्राइस आधा कम हुँदो रहेछ। मैले पनि त्यो विषयमा धेरै कुरा गर्दा त्यसको जवाफ पाउन सकेको छैन।

हामीले खरिद गर्न लागेको विमानको आरएफपि बिजनेस क्लास १२ देखि १८ हुन्छ भनेको थियौ। तर हामीलाई के फाइदा भयो भने बन्दै गरेको जहाज भएका कारण अब हामीले कति वटा इकोनोमिक सिट र कतिवटा विजनेसको सिट राख्ने भनेर अर्डर समेत गर्न सकिन्छ। त्यो भनेको हाम्रो फाइदाको कुरा हो।

यो भनेको हामीले डाइरेक्ट एयरवस कम्पनीसँगको डिल भएको जस्तै हो। धेरैले शंका गरेको कुरा के हो भने एयरबसले किन टण्डर हालेन त त्यो भनेको उसको कुरा हो। पछि हामीले बुझ्दा उसले हामीलाई सन् २०१८ तिरमात्र हामीलाई जहाज दिन सक्ने रहेछ र उसको अहिलेसम्म सवै प्याक पनि भइसकेको रहेछ। कारण त्यत्ति हो यहाँ पैसा खाएर टेण्डर हाल्न दिएन भेनर हावा फैलाएका छन्। यो सवै फगत हल्लामात्र हो।


बोइङलाई लिलाम बढाबढ  गर्छौं

अर्को कुरा इन्धन खपतको कुरा पनि आउँछ। बोइङको जहाजवाट कुनै गन्तव्यमा यात्रु पठाउँदा एयरबसले खर्च गर्ने इन्धनभन्दा २० देखि २५ प्रतिशतसम्म धेरै खपत गर्दो रहेछ। त्यहि भएर पनि हामीले एयरबस नै रोज्ने निर्णय गरेका हौं। यो यत्तिकै भनेको कुरा हैन सबै अध्ययनले  देखाएको कुरा हो। त्यसैले पनि वाइडबडि चाँडै ल्याएर बोइङलाई लिलाम बढाबढ  गर्नेछौं। हामीले त्यसको इन्जिनलाई पनि ठिकसँग राखेका छौं किनभने अघिल्लो पटक जहाज बिक्री गर्दा इन्जिन नचल्ने भएर टुक्रा पारेर बिक्री गर्नुपरेको थियो।

पैसा दियो भने सात महिनाभित्र हाम्रो जहाज खरिद प्रक्रिया अगाडि बढ्छ। हामीलाई धेरैले गुनासो पनि गर्ने गरेका छन्। खाली अन्तराष्ट्रिय क्षेत्रमा मात्र जाने र आन्तरिक सेवामा ध्यान नदिने भनेर त्यसका लागि पनि हामी चाँडै थप चारवटा चिनियाँ जहाज ल्याउनेछौं। अब हामी डोमेस्टिकमा पनि वास्ता गर्दैछौं। स्पेयर्स पार्टस् र वीमाको सुविधा काठमाडौंमा नै दिने भएपछि त्यसमा हाम्रो सेवा धेरै विस्तार हुन्छ र हामी फेरि हंङ्गामा गर्छौं नै।

हामीले निर्माता कम्पनीसँग छलफल गरेर पाटपुर्जाको मूल्यमा पनि कम गर्ने गरेका छौं। व्यापक छलफल भएका कारण अब चिनियाँ जहाजका कारण पनि वायुसेवा निगम राम्रो गतिमा गइरहेको छ।


निगमको भविष्य उज्वल छ

हामी दावाका साथ भन्छौ कि नेपालमा भएका कुनैपनि संस्था तथा संस्थानभन्दा हामी अगाडि छौं। हाम्रो पूँजी कम होला त्यो छुट्टै कुरा हो तर हमी संसारका खर्बै कमाउने २६ वटा टप कम्पनीसँग नेपालको तर्फबाट एक्लै लडिरहेका छौं र एकदिन हामी सफलताको शिखरमा पुग्ने निश्चित छ।
त्यहि भएर राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको भविष्य उज्वल रहेको छ। यसमा हामी सबैको साथ र सहयोग भने अपरिहार्य रहन्छ।

जसकालागि एक नम्बरमा जहाज थप गर्ने र दोस्रो व्यबस्थापन सुधार रहन्छ। एक खर्बको नेपाली हवाई क्षेत्रको व्यापारमा निगमको बल्ल ६ देखि सात अर्ब पुगेको छ अब हामी त्यसलाई बढाउन उद्दत भएर लागिरहेका छौं। ९० अर्ब भन्दा धेरै विदेशी कम्पनीले लैजाने अनि हामी एउटा विमान खरिद गर्दा पैसा खायो र त्यो गर्यो भनेर कराउँछौं, नेपालीको सबै पैसा जति उसले लान्छ। सानोतिनो कुरामा झमेला सृजना नगरी जहाज थप गर्नुपर्छ र नेपालको पर्यटन क्षेत्रलाई बढावा दिइनुपर्छ।