सात महिनापछि औद्योगिक बोर्डको बैठक, अनुमति लिएको १० वर्षभित्र उद्योग खोलिसक्नुपर्ने

बिजमाण्डू
२०७३ माघ ११ गते १८:१२ | Jan 24, 2017
काठमाडौं।नवीन्द्रराज जोशी उद्योगमन्त्री भएर आएपछि पहिलो पल्ट औद्योगिक प्रवर्द्धन बोर्डको बैठक बसेको छ।सात महिनापछि बोर्ड बैठक बसेको हो।उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेसँगको 'टसल'ले बोर्ड बैठक बस्न सकेको थिएन।

Tata
GBIME
Nepal Life

विभागबाट उनी सरुवा भएपछि  महानिर्देशकमा प्रदीपराज कोइराला आएका छन्।बोर्ड बैठकले उद्योग खोल्न अनुमति लिएको १० वर्षभित्र संचालन गर्नुपर्ने समयसीमा तोकेको छ।बोर्डले उद्योग संचालनका लागि लाग्ने समयावधिका सम्वन्धमा मापदण्ड तयार भई लागु भएका उद्योगहरुका हकमा सोही बमोजिम हुने बताइएको छ।
 

उद्योग दर्ताको लागि ठूला, मझौला र विदेशी लगानी सम्वन्धि उद्योगका लागि उद्योग विभाग, साना लघु तथा घरेलु उद्योगका लागि घरेलु विभाग र  विशेष आर्थिक क्षेत्र (सेज)मा स्थापना हुने स्वदेशी उद्योगका हकमा विशेष आर्थिक क्षेत्र व्यवस्थापन कार्यालयलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ।
 
उद्योगले पालना गर्नुपर्ने शर्तहरु निर्धारण गर्ने सम्वन्धमा उद्योग विभागको महानिर्देशकको संयोजकत्वमा वन, वातावरण, कृषि, अर्थ, पर्यटन र स्थानीय विकास मन्त्रालयको प्रतिनिधि गठन गरी सो समितिले आगामी बैठकमा मापदण्ड प्रस्तुत गर्ने निर्णय गरेको बोर्डले जनाएको छ।
 
बैठकले विभिन्न समयमा दर्ता भई सञ्चालनको म्याद सकिएका उद्योगहरुको हकमा पुनः सञ्चालन गर्न दिने सम्वन्धमा कानूनी राय सहित अर्को बैठकमा पेश गर्ने निर्णय गरेको छ। उद्योग मन्त्री  जोशीले वोर्डमा लामो समयदेखि थाँती रहेका एजेण्डा संबोधन गरिने बताए।