‘सुनकान्ड’ले स‌ंसद ततायो : सुनको हात्ती छिरिसक्दा पनि के हेर्दैछ सरकार?

बिजमाण्डू
२०७३ माघ १० गते १४:१२ | Jan 23, 2017

काठमाडौँ। विमानस्थलबाट ३३ किलो सुन भन्सार पास गरी बाहिरिएको विषयले संसद पनि तताएको छ। आजको संसदको विशेष समयमा बोल्दै अर्थ समितिका सभापति समेत रहेका एमाले सांसद प्रकाश ज्वालाले बाकसमा सुन भित्रिए जस्तै अवैध हतियार भित्रिए देशको अवस्था के हुन्छ भनी प्रश्न गरे। 

Tata
GBIME
Nepal Life

कुख्यात अपराधी चार्ल्स शोभराजले नेपालको अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थालाई व्यङ्ग्य गर्दै आफूले यहाँबाट हात्ती छिराइदिने भनी गरेको टिप्पणीलाई रिमिक्स गर्दै ज्वालाले सोधे, विमानस्थलबाट सुनको हात्ती छिरेको छ। के हेर्दैछ सरकार?

देशको सुरक्षा व्यवस्था नाजुक भएकोप्रति उनले गम्भीर चासो व्यक्त गरे। 

अर्थमन्त्री कृष्णबहादुर महराले सुन तस्करलाई छाड्दैनौँ भन्ने अभिव्यक्तिहरु दिँदै गरे पनि अहिलेसम्म कारबाही भएको नदेखिँदा शंका गर्नुपर्ने ठाउँ रहेको उनको विचार थियो। 

उनले गम्भीर आरोप पनि लगाए, 'सुन तस्करीका नाइके आफू अनुकूल आइजी बनाउन लागेका छन्।'

नेपाल प्रहरीका महानिरीक्षकको पदावधि आगामी महिना सकिँदैछ। अहिले नयाँ महानिरीक्षक बनाउन चलखेल भइरहँदा उनको यस्तो टिप्पणी संसदमा आएको हो। 

संसदको विशेष समयमा बोल्दै उनले भारतीय विमानमा एयर मार्सल राख्न खोजेको देखिएको भन्दै विदेशीको दबाबमा सुरक्षा नियमावली परिवर्तन गर्न खोजिएको भन्दै यो खारेज गर्नुपर्ने माग राखे।