बढेको ब्याज तिर्छुभन्दा पनि ब्यवसायीले बैंकबाट ऋण पाउन छाडे, बैंकर भन्छन्- पैसा भएन ऋण दिने?

बिजमाण्डू
२०७३ माघ १० गते ०९:३० | Jan 23, 2017

काठमाडौं। लगानी योग्य पूँजी (तरलता) अभाव चर्किएपछि बैंकहरुले पहिले नै प्रतिबद्धता गरेका ऋण रोकेका छन्। बैंकहरुले व्यवसायीसँग रहेको 'ऋणको लिमिट' बाँकी हुँदासमेत पैसा दिन छाडेका हुन्।

Tata
GBIME
Nepal Life

'हामीले लिमिट हुँदा पनि ऋण पाउन छाडेका छौं' नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बिजमाण्डूसँग भने, 'औद्योगिक गतिविधि नै रोक्नु पर्ने अवस्था आएको छ।'

बैंकहरुले व्यवसायी तथा नियमित ग्राहकहरुलाई पहिले नै ऋणको स्वीकृति दिन्छन्। स्वीकृति पाएपनि ब्यवसायीले ऋण चलाएका हुँदैनन्। उनीहरुले आवश्यकता पर्दा झिक्ने गरि स्वीकृत पैसा बैंकमै छाडिदिएका हुन्छन्।

'अहिले आवश्यकता पर्दा त्यो पैसा झिकेर चलाउन पाइएको छैन' मुरारकाले भने, 'बैंकले कहिले यो कागज पुगेको रहेनछ त्यो कागज पुगेको रहेनछ भनेर झुलाउन थालेका छन्।' उनले  पैसा नभएकै कारण सजिलै ऋण दिने बैंकले कागजको वाहना देखाउन  थालेको जानकारी दिए।

कुनै कुनै बैंकले पहिले नै स्वीकृत भएको कर्जाको ब्याजमा अहिले मोलमोलाइ गरेर ऋणका लागि निरुत्साहित गर्न थालेको अनुभव मुरारकाले सुनाए।

'ऋण स्वीकृत हुँदा जति ब्याज भए पनि अहिले २/३ प्रतिशत बढेको छ। त्यसमा लिने भए मात्र दिन सकिन्छ भनेर बैंकका हाकिमहरुले भन्न थालेका छन्' उनले भने 'आवश्यकतै परेपछि जति ब्याज भने पनि लिनै पर्ने अवस्था छ। तैपनि मागेजति ऋण पाउने अवस्था छैन।'

बैंकहरु पनि अहिले ऋण दिन नसकिएको स्वीकार्छन्। 'ऋण दिने रकम सकिएकाले प्रतिबद्धता जनाएकाहरुलाई पनि पैसा दिन सकिएको छैन' बैंक अफकाठमाण्डू लुम्बिनीका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठले भने, 'बैंकहरुसँग अहिले ऋण दिने कोष सकिएको छ।'

बैंकहरुले १०० रुपैयाँ निक्षेप उठाउँदा ८० रुपैयाँ मात्र ऋण दिन पाउँछन्। बैंकहरुले ७९/८० रुपैयाँ नै ऋण दिइसकेकाले नयाँ माग्न आउनेलाई पैसा छैन भनेर फर्काउन थालेका हुन्।

'नयाँ ऋण दिन निक्षेप बढ्नु पर्ने हुन्छ' श्रेष्ठले भने, 'अहिले निक्षेप वढेको छैन। सरकारले खर्च नगरेका कारण स्रोत सुकेको छ।' राष्ट्र बैकका अनुसार सरकारी खाता २३० अर्ब रुपैयाँ बचतमा छ। सरकारले बजारमा भएको पैसा राजश्वका रुपमा उठाएर राख्ने र विकास निर्णामा खर्च नगरेका कारण बैंकहरुलाई थप ऋण लगानी गर्न पैसा उपलब्ध नभएको हो।