भक्तपुरका भूकम्प पीडितले बल्ल पाउँदैछन् पहिलो किस्ता,सोमबारदेखि यी बैंकबाट दिइनेछ पैसा

बिजमाण्डू
२०७३ माघ ९ गते १६:३४ | Jan 22, 2017
भक्तपुर। भक्तपुरका ६ वटा नगरपालिकाका भूकम्पपीडित (लाभग्राही)लाई भोलि सोमबारदेखि पहिलो किस्ताको अनुदान रकम  ५० हजार रुपैयाँ वितरण गरिने भएको छ । 
 
जिल्लाका १८ हजार लाभग्राहीका लागि सरकारले पठाएको रु ९० करोड तोकिएको बैंकमार्फत भोलिदेखि वितरण कार्य सुरु हुने भक्तपुरका स्थानीय विकास अधिकारी धुवप्रसाद कोइरालाले जानकारी दिए।
 
सरकारले निकासा गरेको रकम कोष तथा लेखा नियन्त्रण कार्यालयले सम्बन्धित बैंकहरुमा पठाइसकेको जानकारी दिँदै उनले भने–“कोष तथा लेखा नियन्त्रण कार्यालयले बैंकहरुमा पठाएको रकमको आज चेक क्लिरियन्स गरेपछि अधिकांश बैंकले भोलिदेखि लाभग्राहीलाई पहिलो किस्ताबापतको रु ५० हजार रकम वितरण गर्ने थाल्ने छन् ।” 
 
चेक क्लिरियन्स गर्न केही समय लाग्ने बैंकमा भने थप एक दुई दिनपछि वितरण हुने उहाँको भनाइ छ । अन्य जिल्लाका भूकम्पपीडितलाई सरकारले दोस्रो किस्ताको अनुदान रकम वितरण सुरु गरेपनि भक्तपुरका लाभग्राहीले भने निजी आवास पुनःनिर्माणका लागि भूकम्प गएको २० महिनापछि अनुदान रकम पाउन लागेका हुन् । 
 
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भक्तपुरमा प्रमाणित गरी पठाएका २६ हजार १६ लाभग्राहीमध्ये हालसम्म २० हजार १५० लाभग्राहीसँग यहाँका नगरपालिकाले पहिलो किस्ताको अनुदान रकमका लागि सम्झौता गरेका छन् । कोइरालाकाअनुसार नगरपालिकाले सम्झौता गरी पठाएकामध्ये जिविसले १८ हजार २८ लाभग्राहीको थप प्रमाणीकरण गरी कोष तथा लेखा नियन्त्रण कार्यालय पठाएको थियो । 
 
कोइरालाले भने – “कोलेनिकाले १८ हजार लाभग्राहीलाई अनुदान रकम वितरण गर्न पुग्ने गरी बैंकमा रकम पठाएको छ । थप लाभग्राहीका लागि नपुग रकम छिटो पठाउन जिविसले माग गरेको छ । थप रकम आएपछि लाभग्राहीको सूचीमा रहेका सबैले पहिलो किस्ताको अनुदान रकम पाउँछन् ।”
 
सम्झौता भएका लाभग्राहीलाई रकम वितरण गर्न अझै रु १० करोड ७५ लाख रकम नपुग छ । लाभग्राहीको सूचीमा सूचीकृत भएका सबै लाभग्राहीलाई पहिलो किस्ताको रकम वितरण गर्न अझै रु ४० करोड आठ लाख अपुग रहेको छ ।
 
अनुदान रकम वितरण गर्दा पहिला अनुदान सम्झौता हुने लाभग्राहीलाई वितरण गरिने भएको छ । सुरु सुरुमा अनुदान सम्झौता भएका लाभग्राहीको सूचीअनुसार क्रमैसँग वितरण गरिन्छ, पछाडि सम्झौता भएकाहरुले पछाडि नै रकम पाउने उहाँको भनाइ छ ।
 
भक्तपुर नगरपालिकाको चार हजार ३४९, मध्यपुरथिमीको ९३८, नगरकोटको तीन हजार ४१२, चाँगुनारायण नगरपालिकाको तीन हजार ३२९, अनन्तलिङ्गेश्वरको दुई हजार ६१२ र सूर्यविनायकको तीन हजार ३६० लाभग्राहीले पहिलो किस्ताको अनुदान रकम पाउने भएका छन् । 
 
जिविस भक्तपुरले आजदेखि नै पहिलो किस्ताको अनुदान रकम वितरण गर्ने झुटो प्रचार गराएको भन्दै बैंकहरुमा पुगेका लाभग्राहीले जिविस विरुद्ध आक्रोश पोखेका छन् । जिविसले लाभग्राहीलाई दुःख दिने नियतले गलत प्रचार गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।  
 
अनुदान सम्झौता भएका लाभग्राहीले खाता खोलेका तोकिएको बैंकबाटै अनुदान रकम पाउने व्यवस्था गरिएको छ । यसमा भक्तपुर नगरपालिकाले लाभग्राहीमध्ये वडा नं. १, २, ३, ४, ५, ६ र ९ वडाका लाभग्राहीले नेपाल बैंक लिमिटेड कमलविनायकबाट, ७, ८, ११, १२ र १४ वडाका लाभग्राहीले राष्ट्रिय वाणिज्य बैंक सूर्यविनायकबाट र १०, १३, १५, १६ र १७ वडाका लाभग्राहीले कृषि विकास बैंक दूधपाटीबाट अनुदान रकम पाउने व्यवस्था गरिएको छ । 
 
त्यसैगरी, मध्यपुरठिमी नगरपालिकाको वडा नं १, २ र ३ का लाभग्राहीले मेगा बैंक लिमिटेड बाहाखा बजारबाट, ४, ५ र ६ का लाभग्राहीले कृषि विकास बैंक, ७, ८, ९, १० र १७ वडाका लाभग्राहीले राष्ट्रिय वाणिज्य बैंकबाट, ११ र १२ वडाका लाभग्राहीले नेपाल बैंक लिमिटेड ठिमी शाखाबाट, १३ र १४ वडाका लाभग्राहीले माछापुच्छ्रे बैंक ठिमीबाट, १५ वडाका लाभग्राहीले सिद्धार्थ बैंक गठ्ठाघरबाट र १६ वडाका लाभग्राहीले एनआइसी एसिया कौशलटार शाखाबाट अनुदान रकम लिन पाउने व्यवस्था गरिएको छ ।
 
त्यस्तै, नगरकोट नगरपालिका–१ देखि १० वडाका लाभग्राहीलाई यति डेभलपमेन्ट बैंक कमलविनायकबाट र ११ देखि १३ वडाका लाभग्राहीलाई माछापुच्छ्रे बैंक कमलविनायकबाट अनुदान रकम पाउने व्यवस्था गरिएको छ । 
 
यता, चाँगुनारायण नगरपालिकाका १, २, ३, ४, ८, ९, १०, ११ वडाका लाभग्राहीले माछापुच्छ्रे बैंक कमलविनायकबाट, ५, ६ र ७ तथा १७ वडाका लाभग्राहीले यति डेभलपमेन्ट बैंक कमलविनायकबाट र १२ देखि १६ वडाका लाभग्राहीले कृषि विकास बैंक सल्लाघारीबाट अनुदान रकम पाउने व्यस्था गरिएको छ । 
 
सूर्यविनायक नगरपालिकाको वडा नं १ देखि ५ सम्मका लाभग्राहीले एनएमबी बैंक सूर्यविनायकबाट, वडा नं ६ देखि ८ सम्मकाले सानिमा बैंक सूर्यविनायकबाट, ९ देखि ११ वडाका लाभग्राहीले ग्लोबल आइएमई बैंक सूर्यविनायकबाट र १३ देखि १५ वडाका लाभग्राहीले बैंक अफ काठमाडौँ लुम्बिनी सूर्यविनायक शाखाबाट अनुदान रकम पाउनेछन् । 
 
यता, अनन्तलिङ्गेश्वर नगरपालिकाका लाभग्राहीमध्ये भने वडा न १ देखि ५ सम्मकाले हिमालयन बैंक कौशलटारबाट, ६ देखि ८ सम्मकाले लक्ष्मी बैंक कौशलटारबाट, ९ देखि १२ वडाका लाभग्राहीले माछापुच्छ्रे बैंक नयाँ ठिमीबाट र १३ देखि १५ वडाका लाभग्राहीलाई एभरेस्ट बैंक सूर्यविनायकबाट अनुदान रकम पाउने व्यवस्था गरिएको छ । 
 
 

Tata
GBIME
Nepal Life