नेप्सेको ‘क’ वर्गमा समावेश हुन ठूला कम्पनीले नै चासो दिएनन्, ६० हाराहारीको मात्र आवेदन

बिजमाण्डू
२०७३ माघ ९ गते १४:३३ | Jan 22, 2017
काठमाडौँ । नेपाल स्टक एक्सेचेञ्ज (नेप्से)ले 'क' वर्गमा सूचीकरणका लागि खुलाएको आवेदनमा कम्पनीहरुले खासै चासो देखाएका छैनन्।
 
सोमबारसम्मको म्याद रहेकोमा अहिलेसम्म ६० हाराहारी कम्पनीले मात्र 'क' वर्गमा समावेश हुन आवेदन दर्ता गराएको नेप्सेले जनाएको छ। 
 
गत आर्थिक बर्षको आँकडा अनुसार 'क' वर्गमै रहेका स्ट्यान्डर्ड चार्टर्ड , प्राइम लगायत बैंकले समेत यसपाली आवेदन दिएका छैनन्। नेप्सेले २४ पुषमा सूचना प्रकाशित गरि बिभिन्न छ सर्त पूरा गर्ने कम्पनीले 'क' वर्गमा सूचीकृत हुन आवेदन दिन सक्ने जनाएको थियो। 
 
चुक्ता पूँजी कम्तिमा दुई करोड रुपैयाँ भएको, साधारण शेयरधनी थोरैमा पनि एक हजार जना रहेका, सार्वजनिक रुपमा शेयर बिक्री गरिसकेको, कम्तिमा तीन बर्ष देखि लगातार नाफामा रहेको, बुक भ्यालु चुक्ता पूँजी भन्दा कम नरहेको र आर्थिक बर्ष सकिएको छ महिना भित्र हिसाब किताब नेप्सेमा बुझाइ सकेको हुनुपर्ने मापदण्ड तोकिएको थियो। 
 
'क' वर्गमा सूचिकृत हुनु कम्पनीकालागि प्रतिष्ठाको बिषय हुनुपर्नेमा उनीहरुले चासो नदिनु आश्चर्यजनक रहेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए।
 
नेप्सेले कम्तिमा पनि १५० हाराहारी कम्पनीले आवेदन दिने अपेक्षा गरेको थियो। अहिले नेप्सेमा २३० कम्पनी सूचिकृत छन्। यिनीहरुमध्ये अधिकांश नेप्सेले तोकेको मापदण्डभित्र अटाउन सक्छन्।  
 
नेप्सेले 'क' वर्गका कम्पनीको छुट्टै सूचक समेत तोकेको छ।
 

Tata
GBIME
Nepal Life