तस्करीले धानेको नेपालको सुनबजार,तस्करीको सुन समातिएपछि नेपाली बजारमा हाहाकार

बिजमाण्डू
२०७३ माघ ६ गते २१:२८ | Jan 19, 2017
काठमाडौं। तस्करीमार्फत भित्रिएको अवैध सुन ठूलो परिमाणमा समातिन थालेपछि नेपाली बजारमा सुनको अभाव देखिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको ३३ किलो र बालाजुबाट समातिएको १५ किलो गरी ४८ किलो अवैध सुन प्रहरीले बरामद गरिसकेको छ।

Tata
GBIME
Nepal Life

बजारमा सुनको माग बढिरहेका बेला नेपाल राष्ट्र बैंकले भने दैनिक १५ किलोभन्दा सुन बेच्न वाणिज्य बैंकलाई अनुमति दिएको छैन।नेपालमा सुनको माग बढी हुने महिना मंसिर, माघ र बैसाख हो। अन्य समयमा १५ किलो सुनले बजारमा जसोतसो धाने पनि यी महिनामा दैनिक ४० देखि ५० किलो सुनको माग हुन्छ।

३०/३५ किलोसम्म सुन सरकारले दिने हो भने अत्यावश्यक कार्य पूरा गर्न मात्रै पुग्ने सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए। बजारमा सिजनको बेला दैनिक ५० किलोसम्म सुनको माग हुने उनी बताउँछन्।

 
१५ किलो सुनले मात्रै वैध कारोबारको अनुमति पाएपछि बाँकी हुने माग कालोबजारले धान्दै आएको शाक्य हाकाहाकी बताउँछन्। 'दैनिक ३०/३५ किलो सुनको माग कालोबजारले धानिरहेको बेला ४८ किलो सुन समातेपछि नै बजारमा सुनको अभाव देखिएको हो,' उनी भन्छन्। शाक्यका अनुसार ४८ किलो कालोबजारीको सुन दुई दिनमै खपत हुने माग हो। तर लगातार प्रहरीले सुन समात्दा अन्य कारोबारीहरु पनि सजग भएर 'कालोसुन' आयात ठप्प पार्दा बजारमा हाहाकार देखिएको हो।
 
अर्का सुन व्यवसायी रमेश महर्जन विगतका वर्षहरुमा माग बढेको बेला राष्ट्र बैंकले २० किलोसम्म सुन बेच्न अनुमति दिएको बताउँछन्। तर यो वर्ष भने १५ किलोभन्दा बढी सुन बेच्न बैंकले अनुमति दिएन।
 
सुनको आयात गर्ने जिम्मा राष्ट्र बैंकको हो। बजारमा माग बढिरहेका बेला चाहिएजति सुन राष्ट्र बैंकले दिने हो भने सुनको कालो धन्दा बन्द हुने व्यवसायी बताउँछन्। 'यति बेला राष्ट्र बैंकसँग विदेशी मुद्रा सञ्चिती पनि राम्रो छ। पहिले ६ महिना धान्ने विदेशी मुद्रा पनि हुन्थेन, १५ किलो सुन दिन्थ्यो,' उनी भन्छन्, 'अहिले १८ महिना पुग्ने विदेशी मुद्रा सञ्चिती भएको बेला पनि १५ किलो मात्रै दिँदा जटिलता आएको हो।'

यसरी सरकारले नै सरासर कालोबजारीलाई बढावा दिने काम गरेको शाक्यको भनाइ छ। 'एकातिर राजस्व गुमेको छ, अर्कोतिर कालोबजारीको सुन ३ हजार महँगोमा किन्नुपरिरहेको छ,' उनी प्रश्न गर्छन्, 'अहिले त त्यो पनि आउन छोड्यो। अब कसरी व्यवसाय चलाउन सकिन्छ?' यही अवस्था रहे ३ दिनमा उपत्यकाका पसल पनि बन्द गर्नुपर्ने अवस्था आउने उनी बताउँछन्।

 
बजारमा सुन अभाव देखिएपछि ग्राहकले माग अनुसार सुन पाइरहेका छैनन्। १० तोला सुन चाहिने ठाउँमा २ तोला दिएर टार्दै आएको शाक्यले बताए। 'बजारको वास्तविक माग कति हो भनेर राष्ट्र बैंकले अनुसन्धान गर्नुपर्छ कि पर्दैन?' तस्करीको यस्तो बिगबिगीको बेला पनि बैंक बेवास्ता गरेको उनी बताउँछन्।
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मनकुमार सुनारका अनुसार सुनको कोटा बढाउन राष्ट्र बैंक र वाणिज्य मन्त्रालयसँग संघले निरन्तर छलफल गरिरहेको छ।

यदि सुनको कोटा १५ किलोबाट बढाएर ३० किलो पुर्‍याइएन भने माघमा बिहे गर्नेहरुले सुन नै नपाउने संकट औंल्याउँछन् उनी। 'बजारको माग धान्न नसकेपछि १५ किलो सुन पनि नलिएर आन्दोलनमा जान्छै भनेर वाणिज्य मन्त्रीलाई भनिसकेका छौं,' सुनार भन्छन्।देशभर १५ हजार सुनचाँदी पसल छन्। ११ हजारभन्दा बढी व्यवसायी सुनचाँदी व्यवसायी महासंघमा आबद्ध छन्।