नेप्सेका महाप्रबन्धकसँग बाेर्डले सोध्यो स्पष्टीकरण, थपलियाले भने- खै के स्पष्टीकरण सोध्यो र?

बिजमाण्डू
२०७३ माघ ६ गते १६:०० | Jan 19, 2017
नेप्सेका महाप्रबन्धकसँग बाेर्डले सोध्यो स्पष्टीकरण,  थपलियाले भने- खै के स्पष्टीकरण सोध्यो र?

काठमाडौं। पत्रकार सम्मेलन गरेर आफूविरुद्ध 'अनर्गल' प्रचारवाजी गरेको भन्दै धितोपत्र बाेर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अध्यक्ष रामजी रेग्मी र महाप्रबन्धक सीताराम थपलियासँग स्पष्टीकरण सोधेको छ।

Tata
GBIME
Nepal Life

बाेर्डले एक साताअघि स्पष्टीकरण सोधेको हो। नेप्सेका महाप्रबन्धक थपलियाले स्पष्टीकरणको पत्र आफूसम्म नआइपुगेको बताए। उनले भने- खै के स्पष्टीकरण सोध्यो र? मैले स्पष्टीकरण पत्र पाएको छैन। त्यस्तो जानकारी त छैन मलाई।

नेप्सेले गत पुस १२ गते पत्रकार सम्मेलनमार्फत बोर्डलार्इ पठाएको गोप्य डकुमेन्ट सार्वजनिक गर्दै शेयर बजारको विकास र विस्तारमा असहयोग गरेको आरोप लगाएको थियो।

नेप्सेले पत्रकार सम्मेलन गर्नु एक/डेढ महिना अगाडि बोर्डले पत्रकार सम्मेलनमार्फत आफ्ना सुझाबलार्इ वेवास्ता गर्दै बजार सुधार गर्न नचाहेको आरोप नेप्सेमाथि लगाएको थियो।

त्यसको 'बदला' लिँदै नेप्सेले पनि पत्रकार सम्मेलन गरेर बाेर्डको आलोचना गरेको थियो।

'पत्रकार सम्मेलन गरेर बाेर्डका विरुद्ध गलत प्रचारवाजी गरिएपछि त्यसको स्पष्टीकरण सोधिएको हो' बाेर्ड स्रोतले भन्यो।

पुस १२ गते नेप्सेले गरेको पत्रकार सम्मेलन

बाेर्डले स्पष्टीकरण सोधेपछि थपलियाले आफ्नो नियुक्तिमा सघाएका राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालसँग गुहार मागेका थिए। नेपालले 'स्पष्टीकरण पत्र दराजभित्र थन्क्याएर राख्न' थपलियालाई सुझाएको स्रोतको दावी छ।

नेप्सेका अध्यक्ष रेग्मीले पत्रकार सम्मेलनमा नियामक निकायको रुपमा रहेको बोर्डले शेयर बजार सुधारका लागि थालेको अभियानलार्इ असहयोग गरेको आरोप लगाएका थिए। 'आम जनताको पहुँच शेयर बजारमा पुगोस् भनेर नेप्सेल ब्रोकरहरुलाई शाखा बिस्तार गर्न दिने निर्णय गर्यो, उनले भनेका थिए- तर त्यसलार्इ बोर्डले सहयोग गर्नुको साटो रोक्ने काम गरेको छ।'

महाप्रबन्धक थपलियाले अनलाइन ट्रेडिङका बिषयमा परेको मुद्धाको पेशी पनि बोर्डकै कारण सरिरहेकाको थपलियाले आरोप लगाएका थिए।  उनले अन्तर्राष्ट्रिय रुपमा प्रमाणित सफ्टवेयर ल्याउन खोज्दा खर्च बढाएको भन्दै बाेर्डले रोकेको पनि बताएका थिए।

थपलिया महाप्रबन्धक नियुक्त भएपछि नेप्से र बोर्डको निरन्तर बिवाद देखिएको छ। बोर्डले बोलाएको बैठकमा नेप्सेका महाप्रवन्धक थपलिया अनुपस्थित रहने गरेका थिए।