जाजरकाेटमा पालना भएन भवन संहिता, अाफुखुशी घर बन्न थाले, सबैजसाे घर मापदण्ड बिपरित

रासस
२०७३ माघ ६ गते १५:१५ | Jan 19, 2017

जाजरकोट। जाजरकाेट सदरमुकामस्थित भेरीमालिका नगरपालिका क्षेत्रभित्र भवनसंहिता मिचेर धमाधम घर निर्माण भइरहेका छन् । नयाँ नगरपालिकामा कर्मचारी पठाउन ढिलाइ गरेकाले स्थानीयवासीले भवनसंहिता पालन नगरी धमाधम आफूखुशी घर निर्माण गरेका हुन् ।

Tata
GBIME
Nepal Life

नगरपालिकाको बस्ती विकास सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मार्ग दर्शन, २०७२ भवनसंहिता लागू हुन सकेको छैन । नगरपालिका क्षेत्रभित्र एउटा घर बनाउनको लागि जग्गाको क्षेत्रफल कम्तीमा पनि ९० वर्ग मिटर हुनुपर्ने हो । जसमा एउटा घर निर्माणका लागि छ मिटर चौडाइ भएको जग्गा हुनुपर्ने हो तर यहाँ चार मिटरभन्दा कम चौडाइमा घर निर्माण भइरहेका छन् ।

तीस वर्ग मिटरभन्दा कम जग्गामा घर निर्माण भएको नगरपालिकाले जनाए पनि भुरचौर, कुदु, मटेला, सदरमुकाम खलङ्गाबजार, बाहुनथाना, कालेगाउँ, रावतगाउँ, रिम्नाबजारलगायतका स्थानमा भवनसंहिताको पालना नभएको हो ।

अधिकांश नगरवासीलाई भवनसंहिताबारे जानकारी नै छैन । कतिपयले त मापदण्ड थाहा पाएर पनि अटेरी गरेकाले बजारभित्रका अधिकांश घर भूकम्पीय दृष्टिकोणले जोखिमयुक्त रहेका छन् ।

खलङ्गा बजारका घर तथा भवन भवनसंहिता मात्रै उल्लङ्घन गरेर बनाइएको छैन । सडक तलमाथिको सार्वजनिक जग्गा मिचेरसमेत बनाइएको छ । जाजरकोट डोल्पा सडकको बीच भागबाट दायाँ–बायाँ आठ\आठ मिटर हुनुपर्ने चौरजहारीस्थित जिल्ला सडक डिभिजन कार्यालयले भनेपनि खलङ्गाबजारका अधिकांश घर त्यो मापदण्ड अनुकुलका छैनन् मापदण्डअनुसार अघि बढ्दा धेरैको घरबासविहीन हुने अवस्था छ ।

कर्मचारीको अभाव

नगरपालिकाले अहिलेसम्म कर्मचारी अभाव देखाउँदै भवनका नक्सा पासमा रोक लगाएपछि स्थानीयवासी बैंक कर्जा लिनबाट समेत वञ्चित भएका छन् । नक्सापासका लागि आवश्यक सर्वेक्षक नभएको भन्दै सयौँ नगरवासीका घरका नक्सा पास अलपत्र छ ।

नगरपालिका घोषणा भएयता निर्माण भएका घर तथा भवनले समेत भवनसंहिता पालन नगरेको कार्यकारी अधिकृत रामप्रसाद शर्माले बताउनुभयो । नयाँ घर बनाइरहेका र बनाउने तयारीमा रहेका सबैलाई मापदण्डअनुसार बनाउन भनिए पनि अटेरी गरेको शर्माको भनाइ छ ।

मापदण्ड पुर्याएर घर बनाउन सबैको ध्यानाकर्षण गरेका छौँ, कार्यकारी अधिकृत शर्माले भने । तर भवनसंहिता उल्लङ्घन गरेर निर्माण गरिएका घर तथा भवनको नगरपालिकाले नक्सा पास नगर्ने शर्माको भनाइ छ ।