लाइन नबसी अब यसरी भर्नुस् शेयर, फरवार्डको आइपिओ माघ ९ बाट, यस्तो हुन्छ आस्वाको फारम

बिजमाण्डू
२०७३ माघ ४ गते १४:११ | Jan 17, 2017

काठमाडौं। फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको शेयरमा आवेदन दिन लामो लाइन बस्नु नपर्ने भएको छ। बैंकले माघ ९ गतेबाट सर्वसाधारणका लागि शेयर निष्कासन गर्दैछ।
 
लाइनमा नबस्नका लागि तपाईसँग  २१ बाणिज्य बैकसहित ३० वटा वित्तीय संस्थाहरुमध्ये कुनैमा खाता हुन आवश्यक छ। आफ्नो खाता भएको संस्थामा गएर तपाईले 'शेयर भर्नु पर्यो' भनेपछि बैकका कर्मचारीले एउटा फारम दिन्छन्।
 
तपाईले चाहेको बराबरको शेयर किन्न लाग्नेजति पैसा खातामा भने हुनु पर्छ। तपाईले फारममा आवश्यक विवरण भरेपछि त्यहीँका कर्मचारीलाई बुझाउनु पर्छ। यस वापत बैंकले तपाईसँग १०० रुपैयाँ सेवा शुल्क लिन्छ।
 
नेपाल धितोपत्र बाेर्डले सर्वसाधारणलाई लाइन नबसी शेयर भर्ने सुविधा दिन गरेको यो व्यवस्थालाई आस्वा भनिन्छ। आस्वाअनुसार शेयर भर्दा तपाईले चेक पनि काट्नु पर्दैन। फोटो पनि टाँस्नु पर्दैन। फारम भर्दा नागरिकता नम्बर उल्लेख गर्नु पर्ने भएकाले बोकेर जाँदा राम्रो हुन्छ। तर फोटोकपी भने बुझाउनु पर्दैन।
 
धितोपत्र बाेर्डले यो ब्यवस्था माघ १ गतेबाट खुल्ने शेयरका लागि गरेको हो। यो व्यवस्था लागू भएपछि पहिलो शेयर जारी गर्ने कम्पनी फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स हो।
 
कम्पनीले ६ लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो। ६ लाख कित्तामध्ये ३० हजार कित्ता कर्मचारीका लागि छुट्याएको छ भने ३० हजार हजार कित्ता सामुहिक लगानी कोषलाई छुट्याएको छ। बाँकी रहेको पाँच लाख ४० हजार कित्ता शेयरमा मात्र सर्वसाधारणले आवेदन दिन पाउँछन्।
 
सर्वसाधारणले कम्तिमा ५० कित्ता र बढिमा तिन हजार कित्तासम्म आवेदन दिनसक्ने कम्पनीले जनाएको छ। शेयर माघ १२ गतेसम्म भर्न सकिन्छ।
 
आफ्नो खाता भएको बैकमा होइन लाइन बसेरै शेयर भर्छु भन्नेहरुलाई केही समयका लागि बाेर्डले छुट दिएको छ। 'सबै बैंक तथा वित्तीय संस्थाले आस्वा अनुमति नलिइसकेकाले अहिलेलाई यो ऐच्छिक गरिएको छ' बाेर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले भने।

Tata
GBIME
Nepal Life

आस्वाको नमुना फारम हामीले सानिमा बै्कबाट लिएका छौं।