प्रधानमन्त्री प्रचण्डले उद्योगीलार्इ भने, आर्थिक विकासलार्इ गति दिनुनै असली राष्ट्रवाद

बिजमाण्डू
२०७३ पुष २७ गते २०:४९ | Jan 11, 2017
प्रधानमन्त्री प्रचण्डले उद्योगीलार्इ भने, आर्थिक विकासलार्इ गति दिनुनै असली राष्ट्रवाद


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशको आर्थिक विकासलाई गति दिनु नै अहिलेको असली राष्ट्रवाद भएको बताएका छन्। 
 

नेपाल चेम्बर अफ कमर्सको ६६ औँ साधारण सभा तथा चेम्बर दिवसमा बोल्दै प्रचण्डले चेम्बर अफ कमर्सले उद्योग व्यापार तथा वित्तसँग सम्बन्धित नीति निर्माणमा सुझाव दिएर थिङ्क ट्याङ्कको रुपमा काम गरेको बताए। सरकारले निजी क्षेत्रको मागलाई सम्बोधन गर्दै औद्योगिक ब्यवसाय ऐन विशेष आर्थिक क्षेत्र सम्बन्धी कानुन पारित गर्नुका साथै रुग्ण उद्योग सञ्चालनका लागि गृहकार्य गरिरहेको उनले बताए। 
 
वित्तीय क्षेत्रको सुदृढीकरणका लागि वाफिया सम्बन्धी कानुन पारित गरिसकेको र संक्रमणकालीन राजनीतिक अवस्थामा निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउन र दिगो आर्थिक विकासको लक्ष्य हासिल गर्न ऐनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे।
 
उद्योग व्यवसायको विकासकालागि अत्यावश्यक मानिएको विद्युत वितरण प्रणालीलाई सुदृढ गर्दै क्रमश लोडसेडिङ अन्त्य गर्दै लगिएको र थप विद्युत मागको व्यवस्थापनका लागि नयाँ तथा ठूला जलासययुक्त आयोजना निर्माण गर्ने सरकारको स्पस्ट लक्ष्य भएको पनि उनले बताए।
 
राजनीतिले सहि दिशा लिएमा मात्रै देशको विकास हुने भन्दै दिनदिनैका राजनीतिक विवादमा अल्झिएर  विकासका कामलाई पन्छ्याउन नहुने तर्फ ध्यान दिनु पर्ने उनले बताए।
 
केही समयअघि ब्रिक्स र बिमस्टेक को बैठकमा कनेक्टिभिटी बढाउन अन्तराष्ट्रिय समुदाय तथा दुई छिमेकी देशका राष्ट्र प्रमुख सँग सम्बन्ध विस्तारका बारेमा सम्वाद गरेको स्मरण गर्दै नेपाल भारत र चिनको त्रिदेशिय समझदारी कायम गरि हवाई, रेल र सडक सञ्जाल मार्फत उत्तर दक्षिण नाका विस्तार गरि व्यापार विविधीकरण गर्न लागेको पनि प्रचण्डले बताए।
 
अहिले आफू कसरी राजनीतिक समझदारी बनाउने र कसरी देशलाई तिब्र आर्थिक विकासको गतिमा लैजाने भन्ने विषयमा लागि परेको उनको भनाई थियो।आफ्नो नेतृत्वमा सरकार बनेपछि आफु हिमाल, पहाड र तराई मिलाएर  संविधान कार्यन्वयनको वातावरण मिलाउनेमा केन्द्रित हुनाका साथै आर्थिक विकास कसरी गर्न सकिन्छ भन्ने तिर पनि उत्तिकै लागिपरेको बताए।
 
केरुङ काठमाडौं रेलमार्ग, दोधारा चादनी सुख्खा बन्दरगाह, हिल्सा नाका उद्घाटन गर्न जाँदा होस् या किमाथान्का  जाँदा होस्, यी ठाउँमा तीब्र आर्थिक विकास गर्न आवाज उठेको उनले बताए। तीब्र आर्थिक विकास सम्भव भएको भन्दै प्रचण्डले भने, राजनीतिक स्थायित्व, भिजन र इच्छा शक्तिको मात्रै खाँचो रहेको छ।
 
'कहिलेकाही राजनीतिक संवाद गरेर ठूलठूला राजनीतिक समस्या पनि मिलाएका छौँ। कहिले काँहि भने सानो सानो कुरामा खुट्टा तान्ने काम पनि भएको छ', उनले भने। व्यक्ति, समूह र दलका हित भन्दा राष्ट्रिय हित तल पर्नाले देशको विकास नभएको प्रचण्डले बताए।
 

Tata
GBIME
Nepal Life