Snickers

अनौठो तथ्यको मुद्दामा सर्वोच्चको ऐतिहासिक फैसला, महिला-महिलाबीच पनि बलात्कार हुन सक्छ






२०६७ फागुन २२ गते।

 
अजय जिमी प्रेमिका भेट्न मोरङको उर्लाबारीबाट संखुवासभाको सेदुवा पुगे। फोनबाट चिनजान भई प्रेममा परेका अजय र यमुना (नाम परिवर्तन) पहिलो पटक भेट्दै थिए। प्रेमिका भेट्ने कौतुलहतामा रहेका अजय आफूमात्र सेदुवा पुगेनन् साथमा मामाका छोरा सागरलाई पनि साथै लगेका थिए।
 
फोनबाटै सुरु भएको प्रेममा कोपिला लागिसकेको थियो। प्रत्यक्ष भेट र चिनजान नभए पनि फोन र एसएमएसबाट माया झागिँदै थियो। प्रेममा परेका अजय र यमुना दुवै भागेर विवाह गर्न चाहन्थे। यसैले प्रेमिका भेट्न अजय सेदुवा पुगेको थियो।
 
पूर्वनिर्धारित योजना अनुसार सेदुवा स्कुल पुगेपछि अजयले प्रेमिकालाई फोन गरे। यमुना उनलाई लिन आइन्। अन्दाजी दिनको ४ बजे अजय र सागरसहित तीनै जना यमुनाको मामाघर गए। सबैले मामाघरमै रातिको खाना खाए। प्रेमिल माहोल बन्यो। खानापछि अजय र सागर सुत्न गए।
 
रातको अन्दाजी १० बजे....
रातको खानापछि यमुनाले उनका भाइ सागरलाई एकै कोठामा फरक–फरक खाटमा सुत्ने व्यवस्था मिलाइएकी थिइन्। घरधन्दा सकेर उनी सुत्ने तरखरमा थिइन्। मोबाइलमा म्यासेज आयो ।
 
म्यासेज अरु कसैको थिएन उनकै प्रेमी अजयको थियो। ‘एक छिन मसँग आऊ न, गफ गरौं,' म्यासेजमा लेखिएको थियो।
 
अजयको म्यासेज अनुसार यमुना उनको कोठामा गइन्। दुवैबीच गफ भयो। पेसाले ड्राइभर अजय आत्मनिर्भर नै थिए। गफकै क्रममा अजयले यमुनालाई भने, ‘म तिमीलाई लिन आएको। अब विवाह गर्नुपर्छ।’
 
परीक्षा आइसकेकाले यमुना तत्काल भागेर विवाह गर्ने सोचमा थिइनन्। उनले अजयलाई जवाफ दिइन्, ‘मेरो परीक्षा आइसकेको छ। परीक्षा नदिई म भाग्दिन। विवाह त्यसपछि गरौंला।’
 
प्रेमिकाको जवाफसँगै निराश भएका अजयले भने, ‘ठिकै छ, म पछि लिन आउँछु। भोलि चाँडै जानुछ। अहिले सुतौं।’
 
०००
सुत्ने निर्णयसँगै अजय र यमुनाको प्रेम कहानीमा नयाँ ‘ट्वीस्ट’ सुरु भयो। प्रेममा परिसकेकी यमुनाले प्रेमीको प्रस्ताव तत्काल अस्वीकार गरे पनि पूरै इन्कार गर्न सकिनन्। कुरकुराउँदो प्रेममा परेकी उनी प्रेमीसँगै सुत्न तयार भइन्।
 
एकै अँगालोमा बाँधिएर गफिएका दुई प्रेमी भावनात्मक रुपमा मात्र नभई शारीरिक रुपमा नजिक भए। दुवैको सहमतिमा दुई पटक यौन सम्पर्क भयो। माइजूले थाहा पाउने भयले यमुना रातको ३ बजे आफ्नै कोठामा गएर सुतिन्।
 
२०६७ फागुन २३ गते
प्रेमीसँग सहवास गरेकी यमुना उठिसकेकी थिइन्। अजय र उनका भाइ सागर पनि उठिसकेका थिए। गाउँका बुद्धिमान राई, दिलबहादुर राई समेत आई अजयलाई घरपरिवार र पेसाबारे सोधपुछ गर्दै थिए। अजयले सामान्य रुपमा सरसर्ती जवाफ दिइरहेका थिए।
 
तर, यमुनाकी छ्यामा (सानीमा) सुकमाया राईलाई अजयको जवाफ प्राकृतिक लागिरहेको थिएन। छ्यामाको यो शंकाले अजय, सागर र यमुनाको कहानीमा नयाँ ट्वीस्ट थप्यो।
 
उनको नयाँ ‘ट्वीस्ट’ पत्याउन मुस्किलको थियो। छ्यामाको आशंकालाई अरुले सहजै पत्याएनन्। तर, पूरै अस्वीकार पनि गरेनन्। उनीहरु अजयमाथि छानबिनको निष्कर्षमा पुग्यो।
 
सुकमायाको दाबी थियो– अजय केटा हैनन्। केटी हुन्।
 
अजय र सागरले इन्कार गरे  पनि घटना यतिमै सकिएन। अजयको शारीरिक परीक्षण हुने भयो।
 
२०६७ फागुन २७
जिल्ला प्रहरी कार्यालय संखुवासभामा अनौठो जाहेरी सूचना आयो।
 
जाहेरवाला थिइन्‍– यमुना राई।
 
जाहेरी दर्ता थियो– अजय भनिने लाक्पा शेर्पाविरुद्ध।
 
आरोप थियो–कृत्रिम लिंग प्रयोग गरी महिलाले महिलामाथि बलात्कार (करणी) गरेको।
 
घटना विवरण थियो– ...अजय राईलाई चेक गर्दा निज अजय भन्ने केटी जाती भएको र निजले पेन्टीमा नक्कली (कृत्रिम) लिङ्ग समेत लुकाई राखेको अवस्थामा फेला परेको हुँदा सोही लिङ्गबाट मलाई राति करणी भएको हुन सक्ने र नाम, थर, वतन समेत ढाँटी मलाई वेश्यावृतिमा लगाउने, शोषण गर्ने उद्देश्यले जालसाज गरी प्रपञ्च मिलाई झुक्याई केटा हुँ भनी कहीँ कतै लगी बेचविखन गर्ने उद्देश्य रहेको हुँदा उल्लेखित प्रतिवादी अजय शेर्पा र निजका सहयोगी सागर शेर्पालाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन अन्तर्गत हदैसम्मको सजाय गरी पाऊँ…।
 
०००
अनौठो जाहेरी आएपछि प्रहरीले अनुसन्धान अघि बढायो। अन्तत: सुकमायाको शंका प्रमाणित गर्‍यो।
 
घटनाक्रम प्रेमबाट एकाएक जबर्जस्ती करणीमा ठहरियो। प्रेमी अजय करणीकर्ता मात्र भएनन् अनुसन्धानले अजयको नाम लाक्पा ठहर्‍यायो।
 
प्रेमी-प्रेमिकाबाट सुरु भएको कहानी ‘महिलाले महिलालाई गरेको करणी’मा मोडियो। त्यो पनि कम उमेरकी नाबालिकासँग।
 
नेपालको कानुनले पुरुष-महिलाबीचको करणी परिभाषित गरे पनि महिलामाथि महिलाले करणी गरेको आरोप अनौठो थियो।
 
जाहेरी अनुसार प्रहरीले अनुसन्धान गरी प्रारम्भिक प्रतिवेदन सरकारी वकिललाई पठायो। सरकारी वकिलको राय अनुसार लाक्पालाई जबर्जस्ती करणीसँगै मानव बेचबिखनमा पनि मुद्दा बनाइयो। मुद्दामात्र चलेन यमुना १६ वर्षभन्दा कम उमेरकी भएका कारण हदैसम्मको सजाय मागियो।
 
लाक्पाले प्रहरी र अदालतमा साबिती गरे, ‘तीन-चार महिनादेखि आफैँलाई प्रयोग गरिरहेको कृत्रिम लिङ्ग प्रयोग गरेर मैले सम्बन्ध राखेकी हुँ। म महिला नै हुँ। सुरुदेखि नै केटा भनेर प्रेम सम्बन्ध कामय राखेकोले यस्तो गरेकी हुँ।’
 
संखुवासभा जिल्ला अदालतमा पुग्यो यो अनौठो घटनाक्रम। तर, अदालतले अभियोग दाबी बमोजिम मुलुकी ऐन जबर्जस्ती करणीको १ र ३ (३) महल अनुसार कसुर ठहर गर्‍यो। यो ठहर बलात्कारको परिभाषामा थियो। पीडकलाई ६ वर्ष कैद र घटनामा उपस्थित सागरलाई ५ वर्ष कैद हुने आदेश सुनायो।
 
अदालतको आदेशानुसार ५० हजार क्षतिपूर्ति पाउने ठहर भयो।
०००
संखुवासभा जिल्ला अदालतको आदेशमा दुवै पक्षबाट पुनरावेदन दर्ता भयो। पुनरावेदन पत्रमा सुनुवाइ गर्दै तत्कालीन पुनरावेदन अदालत धनकुटाले लाक्पालाई ‘अप्राकृतिक मैथुन’ आकर्षित गरेर मुद्दा फैसला गर्‍यो।
 
अदालतको आदेश थियो, ‘प्रतिवादीले नाबालक पीडितलाई अप्राकृतिक मैथुन गरी मुलुकी ऐन, जबरजस्ती करणी महलको ९ (क) बमोजिमको कसूर गरेको देखिन आएकोले यी प्रतिवादीलाई जबरजस्ती करणीको महलको ३ (३) नम्बर बमोजिम कसूर गरेको ठहर्‍याई सजाय गर्ने गरी सुरु संखुवासभा जिल्ला अदालतबाट भएको मिति २०६९।३।२० को फैसला मिलेको नदेखिँदा केही उल्टी भई प्रतिवादी सागर शेर्पाले अभियोग दाबी बमोजिम सफाइ पाउने तथा प्रतिवादी अजय भनिने लाक्पा शेर्पालाई जबरजस्ती करणीको महलको ९ (क) नं. बमोजिम ७ वर्ष कैदको सजाय हुने ठहर्छ।'
 
पुनरावेदन तहले लाक्पालाई सुरु तहभन्दा एक वर्ष बढी कैद र सागरलाई सफाइ दियो।
 
०००
अनौठो प्रकृतिको मुद्दा पुनरावेदन तहमै सीमित भएन। मुद्दामा सर्वोच्च अदालतमा दुवै पक्ष आए। लाक्पाका कानुन व्यवसायीले कृत्रिम लिङ्गको प्रयोगलाई जबर्जस्ती करणीमा सजाय गर्न नमिल्ने तर्क गरे।
 
तर, सरकारी वकिलको पुनरावेदन जिकिर महिलाले बलात्कार गर्न सक्ने र लाक्पाले मानव बेचबिखनको कसूर गरेको भन्नेमा केन्द्रित भयो।
 
सर्वोच्चमा पेश भएको मुद्दा न्यायाधीशमात्र होइन, इजलास अधिकृत र फाँटवालाबीच पनि रोचक बन्यो। घटनाक्रम जस्तो थियो, त्योभन्दा रोचक थियो बेञ्चको बनोट।
 
संयोग मान्नुपर्छ, महिलाका विषयमा वकालत गर्दै सर्वोच्चमा न्यायाधीश बनेकी सपना प्रधान मल्ल संयुक्त इजलासमा एक सदस्य भइन्। इजलासको नेतृत्व गरे, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले।
 
श्रेष्ठ नेतृत्वको इजलासले चार प्रश्न उठायो। जसमा मुख्य प्रश्न बन्यो–

प्रतिवादी लाक्पा शेर्पा उपर जबरजस्ती करणीको कसूर स्थापित हुन्छ वा हुँदैन?

 
इजलासमा उठेका प्रश्नमध्ये मुख्य प्रश्नमा धेरैको चासो थियो। ठहर गर्नुपर्ने थियो, महिलाले महिलामाथि बलात्कार गर्ने अवस्था रहन्छ वा रहँदैन? विद्यमान नेपाल कानुनमा यस्तो ठाउँ छ वा छैन?
 
२०७३ भदौ १६ गते
अनौठो तथ्यमा जेलिएको मुद्दामा सर्वोच्चले एक ऐतिहासिक फैसला गर्‍यो। फौजदारी विधिशास्त्रमा नेपालका लागि सर्वोच्चको आदेश ऐतिहासिक थियो।
 
सर्वोच्चको ठहर थियो- ‘महिलाले महिलामाथि बलात्कार गर्न सक्छ।’
 
र, ठहर खण्डमा लेखियो-
‘अतः माथि विवेचित आधारमा महिलाले महिलालाई जबर्जस्ती करणी गर्न सक्ने तथा सोको परिकल्पना मुलुकी ऐनको जबरजस्ती करणीको महलको १ नं ले गरेको देखिन्छ। यो सैद्धान्तिक प्रश्नको निरुपण गरेपछि अब प्रस्तुत मुद्दाको तथ्यहरुको आधारमा प्रतिवादी अजय शेर्पाले पीडितलाई जबर्जस्ती करणी गरेको स्थापित हुन्छ वा हुँदैन सो सम्बन्धमा विचार गरिनुपर्छ।

सो सम्बन्धमा विचार गर्दा जाहेरवाली पीडितले यी प्रतिवादी अजय शेर्पाले दुईपटक करणी गरेको भनी जाहेरी दरखास्तमा उल्लेख गरेकी छन्। वारदात भएको भनिएको दिनको भोलिपल्ट यी प्रतिवादी पक्राउ परी शरीरको खानतलासी हुँदा यिनको शरीरबाट पेन्टीमा बाँधेको अवस्थामा ७ इन्च लम्बाइ र ५.५ इन्च गोलाइ नाप भएको कृत्रिम लिङ्ग बरामद समेत भएको छ। यी प्रतिवादीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयानमा समेत आफूले पेन्टीभित्र लुकाएर राखेको कृत्रिम लिङ्गको प्रयोग गरी पीडितको योनीभित्र दुई-तीन पटक तलमाथि गरीदिएको भनी स्वीकार गरेका छन् भने अर्का अभियुक्त सागर शेर्पाले पनि अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयानमा दिदी अजय शेर्पा र पीडित एउटै खाटमा सुतेको र खासखुस कुरा गरेको सुनेको भनी बयान गरेका छन्।
 
प्रतिवादीले अदालतमा गरेको बयानमा पीडितलाई जबर्जस्ती करणी गरेको कुरालाई इन्कार गरेको भए तापनि रातको करिब ११ बजेतिर जाहेरवाली आफ्नो खाटमा आईसँगै ढल्केको कुरालाई सम्म स्वीकार गरेका छन्। यसरी प्रतिवादी अजय शेर्पाले पीडितलाई कृत्रिम लिङ्गको प्रयोग गरी करणी गरेको तथ्यमा अदालतमा इन्कार गरेको भए तापनि अधिकारप्राप्त अधिकारी समक्ष उक्त तथ्यमा समेत सावित भइबयान गरेको‚ निजको सँगसाथबाट कृत्रिम लिङ्ग बरामद भएको र पीडित स्वयमंले दिएको जाहेरी‚ मौकामा गरेको बयान तथा अदालत समेतमा बकपत्र गर्दा प्रतिवादी अजय शेर्पाले आफूलाई करणी गरेको हो भनी किटान गरेको समेतबाट पुष्टि भैरहेकोले प्रतिवादी अजय शेर्पाले पीडितलाई कृत्रिम लिङ्गको प्रयोग गरी करणी गरेको तथ्य निर्विवाद रुपबाट स्थापित हुन आएको देखियो। जिल्ला स्वास्थ्य कार्यालय, खाँदबारी अस्पताल, संखुवासभाले दिएको पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनमा निजको योनी वरिपरि कुनै घाउ चोटपटक नभएको र निजको कन्या जाली पहिल्यै च्यातिएको अवस्थामा रहेको भनी उल्लेख भएको देखिन्छ। पीडितको योनी वरिपरि घाउचोट नभएको तथा वीर्य स्खलन भएको नदेखिएको भन्ने आधारमा मात्र जबर्जस्ती करणी भएको थिएन भनी भन्न मिल्दैन।’
 
र, अदालतले नजीर बनायो

    ‘लैङ्गिक समानता कायम गर्न केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०६३ बाट संशोधन हुनुपूर्व जबर्जस्ती करणी लोग्ने मानिसले स्वास्नी मानिसको विरुद्धमा गर्ने‚ गराउने र गर्न सक्ने अपराधको रुपमा राखेको थियो। यसरी लोग्ने मानिसले स्वास्नी मानिसको विरुद्धमा गर्ने अपराध भनी प्रस्ट उल्लेख गरी कानूनी व्यवस्था भएकोमा उक्त संशोधनले यसको दायरालाई फराकिलो बनाउदै कसैले भन्ने शब्दको प्रयोग गरेको अवस्थामा जबर्जस्ती करणीको पीडक केवल पुरुष मात्र हुन्छ भन्ने उक्त व्यवस्थाको मनसाय हुने देखिँदैन। केवल पुरुष मात्र पीडक हुने भन्ने विधायिकाको मनसाय हुन्थ्यो त उक्त संशोधनको आवश्यकतानै पर्ने थिएन।’

Share this Story

   

अनौठो तथ्यको मुद्दामा सर्वोच्चको ऐतिहासिक फैसला, महिला-महिलाबीच पनि बलात्कार हुन सक्छ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.