घान्द्रुक–घोडेपानी पदमार्ग पर्यटकको पहिलो रोजार्इ, एक वर्षमा ४७ हजार पर्यटकले गरे पदयात्रा

रासस
२०७३ पुष २७ गते १५:४७ | Jan 11, 2017
म्याग्दी । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्यस्थल घोडेपानी–घान्द्रुक क्षेत्रमा एक वर्षको अवधिमा ४७ हजार बाह्य पर्यटकले पदयात्रा गरेका छन् ।
 
सन् २०१६ मा घार गाविस–१ मा पर्ने घोडेपानी र कास्कीको घान्द्रुक क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या ३१ प्रतिशतले बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) कार्यालयका प्रशासन सहायक आनन्द सुवेदीले जानकारी दिए । सन् २०१६ को जनवरीदेखि डिसेम्बर महिनासम्म घोडेपानी, घान्द्रुक, अन्नपूर्ण बेसक्याम्प र खोप्रा क्षेत्रमा ४७ हजार २४७ बाह्य पर्यटकले भ्रमण गरेका थिए । 
 
सन् २०१५ मा करिब ३६ हजार तथा सन् २०१४ मा करिब ४२ हजार  बाह्य पर्यटक यस क्षेत्रको भ्रमणमा आएका थिए । सन् २०१६ को सुरुका महिनामा नाकाबन्दीका कारण पर्यटक आगमनमा कमी आएपनि त्यसपछिको समयमा सो सङ्ख्यामा वृद्धि भएको एक्याप घान्द्रुकका प्रमुख बिदुर कुइँकेलले बताए । पर्यटकीय नगरी पोखरा नजिक पर्ने भएकाले घोडेपानी घान्द्रुक पदमार्ग छोटो समयको पदयात्राका लागि पर्यटकको रोजाइमा पर्ने गरेको छ । 
 
अन्नपूर्ण आधार शिविर र घोडेपानी अधिकांश पर्यटकको रोजाइमा पर्छ । मगर, गुरुङ बस्ती, उनीहरुको कला, संस्कृति जीवनशैली, हिमशृङ्खला, सूर्योदय, लालीगुराँसको जङ्गल, एकान्त वातावरण सो पदमार्गका मुख्य विशेषता हुन् । म्याग्दी, मुस्ताङ, कास्की, लमजुङ र मनाङलाई समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गर्न सार्क राष्ट्रका नागरिकले प्रतिव्यक्ति रु २०० तथा अन्य मुलुककाले प्रतिव्यक्ति रु दुई हजारका दरले प्रवेश शुल्क तिर्नुपर्छ । 
 

Tata
GBIME
Nepal Life