दुई कारण जसले पूर्वको भविस्य उज्वल बनाउँदैछ, ब्याज वढेपछि लगानी गर्न व्यवसायी हच्किन थाले

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७३ पुष २७ गते ११:२० | Jan 11, 2017
दुई कारण जसले पूर्वको भविस्य उज्वल बनाउँदैछ, ब्याज वढेपछि लगानी गर्न व्यवसायी हच्किन थाले

विराटनगर। पूर्वका मेची र कोशी यस्ता अञ्चल हुन्, जहाँ बैंकहरुले निक्षेप संकलन गरेभन्दा ऋण लगानी वढि गरेका छन्।

Tata
GBIME
Nepal Life

नेपाल राष्ट्र बैङ्कले दिएको तथ्याङ्कअनुसार २०७३ असार मसान्त सम्ममा पूर्वका दुई अञ्चलमा गरी ७९.०४ अर्ब निक्षेप सङ्कलन र १०३.०४ अर्ब कर्जा प्रवाह गरिएको छ।

यसअघिको प्रवृत्ति पनि यस्तै थियो । २०७२ असार मसान्त सम्ममा पूर्वका उल्लिखित दुई अञ्चलमा ६३.७६ अर्ब निक्षेप र ८३.०१ अर्ब कर्जा प्रवाह गरिएको थियो।

उद्योग सङ्गठन मोरङका कार्यकारी निर्देशक सोमनाथ अधिकारीका अनुसार मोरङ, सुनसरी र झापामा होटल, कलेज, सपिङ मल, सिनेमा हल, अस्पताल तथा नर्सिङ होम र मेडिकल कलेज लागयतका सेवामूलक व्यवसायमा बढ्दो आकर्षण छ।

यसबाहेक सिमेन्टका उद्योग पनि धमाधम खुल्दैछन्। जुत्ताचप्पल र प्लास्टिकका भाँडाकुँडाका उद्योगमा पनि लगानी थपिएको छ।

तर लगानीको वातावरण अझै सुमधुर नभएको गुनासो व्यवसायीको छ।

होटल व्यवसायमा प्रवेश गरेका पूर्व सांसद् एवम् उद्यमी मोती दुगड भन्छन्, ‘बैङ्कको ब्याजमा एकरूपता नभएसम्म लगानीको वातावरण सृजना हुन सक्तैन । हामीले ६/७ प्रतिशत ब्याज हुँदा लिएको कर्जाको ब्याज अहिले १३/१४ प्रतिशत किन पुर्याइयो? यस्तो अवस्थामा कसरी लगानी सुरक्षित रहन्छ?’

विराटनगरमा ४० करोडको लगानीमा होटल ह्यारिसन प्यालेस सञ्चालनमा ल्याएका दुगडले विराटनगरमै एक सय २५ करोडको लगानीमा पाँच तारे होटल र सपिङ मलका लागि पनि भौतिक संरचना तयार गरिरहेका छन्।

‘हाम्रो कन्सल्ट्यान्टले सम्भाव्यता अध्ययन गरेर हामीलाई रिपोर्ट दिँदा बैङ्कको ब्याज ६ देखि ८ प्रतिशत थियो’, उनले भने, ‘अहिले त्यसको दोब्बर भएको छ । यस्तो अवस्थामा कसरी थप लगानी गर्न सकिन्छ?’

बैङ्कको ब्याजमा एकरूपता र विद्युत आपूर्तिमा सहजता नै वर्तमानमा लगानीका मुख्य आधार रहेको उनको धारणा थियो ।

‘तर पनि पूर्वको भविष्य उज्ज्वल छ र लगानी खेर जाँदैन भन्ने हाम्रो विश्वास छ’, दुगडको कथन थियो, ‘अरुण तेस्रो आउने र विराटनगरलाई प्रादेशिक राजधानी बनाइने हो भने यहाँ थामिनसक्नु लगानी हुनेछ ।’