तरलता अभाव भन्दै ब्याज बढाउँदै बैंक, राष्ट्र बैंकले ४.८७ प्रतिशतमा पैसा दिँदा दुईले मात्र लगे

बिजमाण्डू
२०७३ पुष २२ गते १४:०१ | Jan 6, 2017
तरलता अभाव भन्दै ब्याज बढाउँदै बैंक, राष्ट्र बैंकले ४.८७ प्रतिशतमा पैसा दिँदा दुईले मात्र लगे


काठमाडौं। बैंकर्स संघले तरलताको चरम अभाव भयो भन्दै नेपाल राष्ट्र बैंकलाई गुहार्यो। नयाँ कार्यसमितिको चयन भएपछि संघका पदाधिकारीले गभर्नर र डेपुटी गभर्नरलाई भेट्न पाएका थिएनन्।

Tata
GBIME
Nepal Life

नयाँ नेतृत्वले तरलता अभावले अप्ठेरो परेको सुनाएपछि गभर्नर डा. चिरञ्जिबी नेपाल पनि थामिन सकेनन्। उनले विराटनगर उड्नुअघि २० अर्ब रुपैयाँ बैंकहरुलाई दिने निर्णय गरे।

बैंकहरुले तरलता अभाव भयो भन्दै आवधिक निक्षेपको ब्याज दर ८, ९, १० हुँदै ११ प्रतिशत नघाइसकेका थिए। ओहो, बजारमा ठूलै पो संकट आएछ कि जस्तो गरेर राष्ट्र बैंकले हतारहतार २० अर्बको रिपो जारी गर्यो।

बैंकहरुले भनेजस्तो अवस्था भने ब्यवहारमा देखिएन। अर्थात २० अर्बको तरलता राष्ट्र बैंकले छाडिदिँदा जम्मा एउटा बाणिज्य बैंक र एउटा विकास बैंकले मात्र त्यो प्रयोग गरे। दुई संस्था मिलेर एक अर्ब ९० करोड रुपैयाँ खपत गरे।

बजारमा तरलता अभावको रटान चलिरहँदा उता स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले ७.२५ प्रतिशतमा आवासीय कर्जाको स्किम निकालेको थियो। राष्ट्र बैंकको आफ्नै प्रक्षेपणमा पनि ८७ करोड रुपैयाँ मात्र अभाव देखिएको थियो। बैंकरले भने भनेर राष्ट्र बैंकले एकैचोटी २० अर्बको रिपो जारी गरिदियो।

दुई बैंकले दुई साताका लागि ४.८७०१ प्रतिशतमा रिपो लगे। रिपो लैजानेमा मेगा बैंक र साङ्ग्रिला डेभलपमेन्ट बैंक छन्। 

'बैंकहरुले अन्तर बैंक कारोबारमा गरेको लगानी प्रबृत्ति हेर्दा धेरै अभाव जस्तो देखिँदैन' राष्ट्र बैंक स्रोतले भन्यो, 'अलिअलि अभाव जस्तो देखिएर रिपो जारी गरिएको थियो तर प्रयोग भएन।' तैपनि राष्ट्र बैंकले आइतबार फेरि १० अर्ब रुपैयाँको रिपो जारी गर्दैछ।

राष्ट्र बैंकबाट सस्तोमा पैसा लगेको मेगा बैंकले भने महँगोमा बजारमा लगाइरहेको छ। मेगाले साढे सात प्रतिशतमा गुडविल फाइनान्सलाई, ६ प्रतिशतमा आइसिएफसीलाई र ८ प्रतिशतमा देव विकास बैंकलाई पैसा सापटी दिएको छ।

ठूला बैंकहरुले भने सस्तैमा लगानी गरिरहेका छन्। राष्ट्रिय वाणिज्य बैंकले सिभिल बैकलाई २.९५ प्रतिशतमै सापटी दिएको छ। सिद्धार्थ बैंकले अल्पाइनलाई पाँच प्रतिशतमा सापटी दिएको छ।