किन्दै नकिनेको शेयर लगानीकर्ताको खातामा, बेच्यो भने २० प्रतिशत फाइन, मूल्य चुकाउँदै लगानीकर्ता

बिजमाण्डू
२०७३ पुष २२ गते १०:२६ | Jan 6, 2017
किन्दै नकिनेको शेयर लगानीकर्ताको खातामा, बेच्यो भने २० प्रतिशत फाइन, मूल्य चुकाउँदै लगानीकर्ता

काठमाडौं। खरिद आदेश पनि दिएको छैन। पैसा त झन् तिर्नै कुरै भएन।

Tata
GBIME
Nepal Life

कुमारीपाटीका गोपाल रेग्मी अस्वभाविक रुपमा आफ्नो खातामा शेयर आएपछि अचम्ममा त परेकै छन्, बेच्ने/नबेच्ने दोधारमा पनि छन्।

एक मनले भन्छ- फ्रिमा आएको शेयर बेच्दिन्छु। अर्को मनले रोक्छ- बेकारमा फसिने पो हो कि?

गएको महिना गुल्मीका सुशील भट्टराईलाई पनि यस्तै भयो। किनेको भन्दा बढि शेयर आफ्नो खातामा आयो।

पछिल्ला दिनहरुमा शेयर बजारमा किनेको भन्दा बढि शेयर लगानीकर्ताले पाउन थालेका छन्। यो एक पटक वा दुई पटक मात्र भएको छैन, प्रवित्ति पटक पटक दोहोरिन थालेको छ।

शेयरको दोस्रो बजारको नियमित कारोबारी हुन् गोपाल। गएको साता दोस्रो बजारमा उनले किन्दै नकिनेको बैंक अफ काठमाण्डू लुम्बिनीको १००० कित्ता शेयर पाए। अहिलेकै मूल्य लगाउने हो भने पनि उनले फ्रिमा राम्रै पैसा हात पार्छन्। 'बेच्ने कि राख्ने दुविधामा छु,' उनले भने।

सुशील भट्टराईले पनि आफूले किनेको १०० कित्ताको पैसा भुक्तानी गरिसकेका थिए। तर खातामा दुई सय कित्ता शेयर आयो।

उनलाई पनि बेचौं कि राखौ भयो। शेयर बेचौं कि बेचौं कि भइरहेका बेला उनको खाताबाट फ्रिमा आएको १०० कित्ता शेयर हरायो। । शेयर रजिष्ट्रार र ब्रोकर कार्यालयको गल्तीले उनले सित्तैमा शेयर पाएका थिए। उनीहरुले आफ्नो गल्ती थाहापाएर भट्टराईको खातामा भएको शेयर दुई दिनपछि बल्ल खिंचे।

बढि आएको शेयर बेचेमा लगानीकर्ताले उल्टो २० प्रतिशत जरिवाना तिर्नु पर्छ। जबकी ब्रोकर र शेयर रजिष्ट्रारले गल्ति गरेका हुन्छन्।

खर्च कटौती गरेर उच्च नाफा कमाउन ब्रोकर र शेयर रजिष्ट्रर कम्पनीहरुले 'इन्टर्न' का रुपमा भित्र्याएका कर्मचारीमार्फत शेयर ट्रान्सफर गर्ने काम गर्छन्। तालिम नदिइ काममा खटाउँदा ती इन्टर्नहरुले गल्ती गरिरहेका हुन्छन्। उच्च नाफा कमाउन कम्पनीहरुले इन्टर्न लगाएर गरेको गल्तीको मूल्य भने लगानीकर्ताले व्यहोरिरहनु परेको छ।

'धेरै जसो शेयर रजिस्ट्रार र ब्रोकरहरुले हिजो आज खर्च कटौती गर्न इन्टर्न कर्मचारी राख्न थालेका छन्,' एक पुराना ब्रोकरले भने, 'व्यक्तिगत नाफाका लागि तालिमबीना कर्मचारी लगाउँदा लगानीकर्ताहरुबाट धेरै गुनासो आएन थालेको छ।'

कलेजको 'प्र्याक्टिकल' कालागि आउने यस्ता इन्टर्नहरुलाई खाजा खर्च बाहेक केही पनि दिनु पर्दैन। उनीहरुलाई शेयर ट्रान्सफरको काम जिम्मा दिँदा तलबी कर्मचारी अरुतिर खटाउन पाइन्छ।

लगानीकर्ता संघका महासचिब नबराज सुबेदीले तालिमबीनाका आउट सोर्सिङ कर्मचारी खटाउँदा समस्या आएको बताउँछन्। 'आज त केही शेयर लगानीकर्ताको खातामा बढि देखिएको समस्या छ,' उनले भने, 'कुनै दिन गम्भिर किसिमको गल्ती पनि हुन सक्छ।'

तालिमबीना खटिएका इन्टर्न कर्मचारीसँग व्यवहारिक तथा सैद्धान्तिक ज्ञान अभाव हुने भएकाले सेवाग्राहीहरुलाई अप्ठेरो हुन थालेको गुनासाहरु पनि आउन थालेका छन्। 'सानो कामका लागि पनि लामो समय कुर्नु पर्ने अवस्था आउन थालेको छ,' सिभिल क्यापिटलमा भेटिएका काठमाडौँका अर्जुन सुबेदीले भने, 'उनीहरुलाई कुरा बुझाउँदा बुझाउँदै आफ्नो काम हुँदैन।'