फिल्म खेल्ने कलाकार, लगानी गर्ने निर्माता, नाफा जति हल सञ्चालकको गोजीमा!

स्वेच्छा राउत/बिजमाण्डू
२०७३ मंसिर २५ गते १७:५५ | Dec 10, 2016
फिल्म खेल्ने कलाकार, लगानी गर्ने निर्माता, नाफा जति हल सञ्चालकको गोजीमा!
काठमाडौं । फिल्मले ५१औं दिन मनाएपछि 'छक्कापञ्जा' टोलीले ब्याण्डबाजासहित नगर परिक्रमा गर्यो। नेपाली फिल्म ‘इन्डस्ट्री’मा यो फिल्म ‘ब्लकबस्टर’ नै रह्यो। 
 
५१ दिनको उत्सव त अरु फिल्मले पनि मनाएका थिए। तर, यसको रेकर्डमा फरक बिषय थियो- कमाइ। नेपाली फिल्म इन्डस्ट्रीमा अहिलेसम्मै बढी कमाइको (१६ करोड रुपैयाँ ‘ग्रस’) रेकर्ड राख्यो छक्कापञ्जाले। 
 

यो हिसाब सुन्दा दर्शकमा पनि ठूलै उत्साह छायो। तर, यसको भित्रि कथा भने सबैलाई ‘चक्मा’ दिने खालको छ। १६ करोड कमाइमा ‘छक्कापञ्जा’ नै भएको महसूस निर्माता दीपकराज गिरीले गरेका छन्।

कूल १६ करोड कमाएको फिल्मका निर्माताले हात पारेको रकम हो- मात्र चार करोड ३० लाख रुपैयाँ। फिल्मले दर्शकलाई हँसाउनु हसाँउछ। तर, दर्शकको ‘भरोसा’ प्रतिबिम्बित हुने रोयल्टी रकमबाट भने निर्माता गिरी सन्तुष्ट भएर हाँस्न सकेका छैनन्। भन्छन्,'खुसी हुनु र सन्तुष्ट हुनुमा धेरै फरक छ।' 
 
केही आक्रोश मिश्रित स्वरमा उनले थपे- 'धेरै कमायो भन्दैमा अति प्रचार गर्नुको कुनै तुक छ त? फिल्म प्रतिक्रियात्मक हिसाबले सफल हुनुको छुट्टै महत्व छ।'
 
नेपालमा मल्टिप्लेक्समा फिल्मले पहिलो हप्ता उठाएको रकम निर्माता र हलबीच ५०-५० प्रतिशत वितरण गर्ने नियम छ। जब दोस्रो साता लाग्छ, निर्माताको हात लाग्ने हिस्सा कम हुँदै जान्छ। दोस्रो सातामा निर्माताले ४२ पाउँछन् भने तेस्रो साता देखि त उठेको रकमको ३७ मात्र फिल्म युनिटको भागमा पर्छ।
 
गिरीका अनुसार यो नियम व्यवसायिक हिसाबले बेठीक छ। जुनसुकै हप्ता होस् फिल्मले चलुन्जेल कमाएको रकमको कम्तिमा ५० प्रतिशत निर्माताको भाग लाग्नुपर्ने उनी बताउँछन्। 
 
'दर्शक हाम्रो फिल्म हेर्न आउने हुन् कि हल? पक्कै हाम्रो फिल्मको लागि आउने हुन्, उनी भन्छन्- त्यसो हो भने किन हरेक हप्ता हाम्रो हिस्साको पैसा १० प्रतिशतले घटाउँदै लैजाने?'
 
'छक्कापञ्जा'ले काठमाडौंभित्र र बाहिर गरी १६ करोडको व्यापार गरेको गोपाल कायस्थले पुष्टि गरे। अहिलेसम्म चलेको नियम अनुसारकै रकम निर्माताको हात लाग्ने उनको भनाई छ। 'सफल/असफल सबै फिल्मका लागि वितरणको नियम एउटै हो, उनले भने- कुनै फिल्मले कमाउँदैन वा लगानी उठाउन सक्दैन भने त्यो छुट्टै कुरा हो।'
  
पैसा कम पाएको मात्र होइन, आफ्नो हिस्साको रकम तिर्न समेत हलले आनाकानी गर्ने गरेको गुनासो निर्माताहरुको छ।
 
२०७२ दशैं छेको पारेर प्रदर्शनमा आएको फिल्म 'परदेशी'ले पनि अत्याधिक कमाएको खबर आयो। समिक्षात्मक रुपमा गाली खाए पनि व्यवसायिक सफलताको चर्चासँग पुर्व इन्डियन आइडल प्रशान्त तामाङ अभिनित फिल्मले एक ‘लेभलको मिडिया हाइप’ पायो। 
 
७० लाखमा बनेको फिल्मले ३ करोड कमाएको खबर छाएको थियो। तर निर्माता राजेश वंसल व्यङ्ग्यात्मक तरिकाले हाँसे र भने,'पूरै पैसा अझै उठेको छैन। नेट हिसाब कसरी दिउँ?'
 

Tata
GBIME
Nepal Life
फिल्म परदेशी वितरण जिम्मा लिएका सुनील मानन्धरले हिसाब साँच्चै ‘क्लियर’ नभएको स्वीकारे। 'हलहरुबाटै उठ्न समय लाग्ने गरेको छ, वितरकको रुपमा भोग्नु परेको तीतो अनुभव सुनाउँदै उनी भन्छन्- कति निर्माता त एड्भान्स लिएर भाग्छन्। फिल्मले हल्ला गरेजति कमाउँदैन र हामी वितरक मारमा पर्छौं।'
 
प्रचारका लागि बाहेक फाइदा हुने गरि सन्तुष्टि दिन सक्ने अवस्थाकमा नेपाली फिल्म पुगि नसकेको निर्माता वंसलको भनाइ छ। फिल्म गोर्खापल्टन पछि सात वर्षको ग्याप राखेर उनले परदेशी निर्माण गरेका थिए। अहिले बजार धेरै बढे पनि कमाइको भागबण्डा उस्तै रहेको उनको अनुभव छ। 
 
उनले फिल्म क्षेत्रलाई व्यक्तिगत प्रचारको सस्तो माध्यम बनाएको महसुस गरेका छन्। ‘प्रचारकै लागि फिल्मले नकमाएको रकम कमायौँ भनेर दाबी गर्ने धेरै भए, उनले भने- जस कारण फिल्ममा लगानी गरेर मालामाल हुने लोभमा निर्माता आउने, डुब्ने, हराउने ट्रेन्ड बढेको छ।’  अरु व्यवसायमा जति कमाए पनि व्यापार छैन भन्ने तर फिल्ममा १० रुपैयाँको आयलाई १०० भन्ने चलन रहेको उनको अनुभव छ।
 

व्यवसायिक रुपमा धेरै कमाएको रेकर्ड राख्ने अर्को फल्म थियो- कोहिनुर। फिल्मले पहिलो पटक ६ करोडको विजनेस गरेको भनेर हंगामा मच्चायो। सुनील मानन्धरले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकाका हलबाट निर्माताको हात परेको रकम हो- मात्र एक करोड १८ लाख रुपैयाँ। छ करोड रुपैयाँ ग्रस कमाएकोमा निर्माताले काठमाडौं बाहिरबाट भने एक करोड ८३ लाख उठाएको थियो।
 
कमाइकै कारण चर्चामा रहेको अर्को फिल्म ड्रिम्सले सात करोड रुपैयाँको ब्यापार गरेको वितरक गोविन्द शाहीले जानकारी दिए। अनमोल केसी क्रेजका कारण फिल्मलाई युवापुस्ताले धेरै रुचाए।
 
मल्टिप्लेक्स र सिंगल थियटर दुवै गरी ७० हलमा प्रदर्शन भएको फिल्म तेस्रो हप्तासम्म चल्दा पनि ६४ पर्दामा चल्यो। र, सात करोडको ब्यापार मध्ये निर्माताको हात हालेको थियो- दुई करोड रुपैयाँ। फिल्म युनिटलाई काठमाडौं भित्रबाट एक करोड पाँच लाख र मोफसलकाबाट ८८ लाख भाग लागेको थियो।
 

राम्रो व्यापार गरेका फिल्म छक्कापञ्जा, कोहिनुर, ड्रिम्स, परदेशीले चल्तिको दररेट अनुसारको पैसा पाएकै हुन्। तर, उक्त दररेटनै बैज्ञानिक नभएको छक्कापञ्जा निर्माता गिरीको गुनासो हो। 
 
समिक्षात्मक एवं व्यवसायीक दुबै पक्षमा सफल मानिएको फिल्म 'लुट'ले पनि त्यसबेला राम्रो व्यापार गरेको थियो। तर, नेट हिसाब आएपछि छक्क परेको निर्देशक निश्चल बस्नेतको भनाइ छ। 
 
'क्युएफएक्समा उठेको थियो दुई करोड ६० लाख रुपैयाँ, उनले भने- तर, निर्माण पक्षले पायो जम्मा ५५ लाख। अरु पैसा खोई?' 
अब फिल्मको कमाइबारे समाचार बनाउँदा ग्रस होइन निर्माताले पाएको नेट रकमको हिसाब हेरिनु पर्ने उनी बताउँछन्। 
 
मल्टिप्लेक्स सञ्चालकहरु भने हल व्यवसायीको लगानी बढी हुने हुँदा कमाइको ‘रेसियो’ फरक परेको दावी गर्छन्। काठमाडौँमा सबैभन्दा धेरै र काठमाडौँ बाहिर पनि चेन खोलेको क्युएफएक्स हलका सञ्चालक भाष्कर ढुङ्गाना भन्छन्- 'फिल्म बनाउने र देखाउने हकमा लगानी हेर्ने हो भने हल व्यवसायीले बढी गरेका हुन्छन्। र, घाटा पनि उनीहरुले नै धेरै व्यहोर्नु पर्छ।'
 
मल्टिप्लेक्स र निर्माता बीच आम्दानी बाँडफाँडमा लागू गरिएको नियम ठीक रहेको उनी दाबी गर्छन्। हलिउड र बलिउडका फिल्ममा पनि यहि नियम लागू हुने बताउँदै उनले भने,'एक दुईवटा फिल्मले अत्याधिक कमाउँदैमा नियम परिवर्तन गर्ने भन्ने हुँदैन। यो सबैतिरको नियम हो, ठीक छ।'
 
९० प्रतिशत फिल्मले लगानी पनि नउठाउने उनको दावी छ। यस्तो बेला हलले ठूलो घाटा ब्यहोर्नु पर्ने उनी बताउँछन्। 'समय र पैसाको लगानी हलले बढी गरेको हुन्छ, उनले भने- फिल्मले वर्षमा ८० लाख लगानी गर्ला तर हलले तीनदेखि पाँच करोडसम्म गर्छ। फिल्म नचल्दा त हललाई बढी जोखिम छ।'
 
उनी आफैँले बनाएको फिल्म 'सुन्तली'मा करिब एक करोड लगानी गर्दा ६/७ लाख रुपैयाँ मात्र उठाउन सफल भएको सुनाउँछन्। भन्छन्,'फिल्मले नै कम कमाएको हो। रेसियोको आधारमा जति मेरो भागमा पर्यो/, त्यति मैले स्वीकार्नु पर्छ।' 
 
गोपीकृष्ण हलमा सम्बद्ध व्यवसायी प्रदीप दाहाल ढुङ्गानाको तर्कसँग सहमत छन्। भन्छन्,'अहिले जुन रेसियोमा हामी र निर्माता बीच ग्रस कलेक्सन विभाजन हुन्छ त्यो सबैको सहमतिमा बनेको नियम हो। पालना नगरेर सुख छैन।'
 
सिंगल थियटरमा भने फिल्म सुरु भएदेखि हलबाट उत्रँदासम्म उठेको रकममा निर्माताले आधा पाउँछन्। 
 
फिल्मले पैसा कति कमाउँछ बजारले निर्धारण गर्ने र उठेको भनिएको रकम सहि हो/होइन जाँच्न बक्स अफिस आवश्यक रहेको चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई बताउँछन्। 
 
तर, एउटा प्रष्ट संकेत के देखिएको छ भने अब निर्माताहरु पुरानै रेसियोमा सन्तुष्ठ भएर बस्न तयार छैनन्। 
 
'फिल्म प्रदर्शकले पनि निर्माताले जस्तै रिस्क लिन सक्नुपर्यो या त बार्गेनिङमा दुबै पक्षलाई घाटा नहुनेगरी रेसियो तय गरिनु पर्यो' उनको भनाइ छ।
 
यस्तोमा ग्रस कलेक्सन विभाजनको आधार के हुन सक्छ? जसले निर्माता र प्रदर्शकहरु दुबैलाई सन्तुष्ट पार्न सकोस्। 
 
हल व्यवसायी दाहाल सुझाउँछन्- 'केही अनियमितता छन्, त्यसका लागि निर्माता र व्यवसायी आरोप प्रत्यारोप भन्दा पनि सल्लाहमा अगाडि बढेको राम्रो हुन्छ।'