भैरहवाको विशेष आर्थिक क्षेत्रमा २१ उद्योग स्थापना हुँदै, अर्को वर्षदेखि उत्पादन थाल्ने

बिजमाण्डू
२०७३ मंसिर २५ गते १३:५१ | Dec 10, 2016
काठमाडौं। भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज)मा अनुमति पाएका २१ उद्योग अर्को वर्षदेखि संचालनमा आउने भएका छन्। विशेष आर्थिक क्षेत्र विकास समितिका अनुसार उद्योग विभागबाट अन्तिम स्विकृती पाएपछि ती उद्योगले पूर्वाधार निर्माणको काम थाल्नेछन्। 
 
समितिका कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टले भैरहवाको सेजमा सबै पूर्वाधार तयार भइसकेको बताउँदै छानिएका उद्योगले एक वर्षभित्र उत्पादन थाल्ने प्रतिवद्धता गरेको जानकारी दिए।

Tata
GBIME
Nepal Life


 

‘हामीले सेजमा उद्योग स्थापनाका लागि टेण्डर आब्हान गरेका थियौ। त्यसमा आवेदन दिनेमध्ये २१ वटा उद्योगले अनुमति पाएका छन्, उनले बिजमाण्डूलाई भने- छानिएका सबै उद्योगले एक वर्षभित्र उत्पादन थाल्ने प्रतिवद्धता जनाएका छन्।’ यो सेजमा ५२ विघा जग्गामा ६९ वटा प्लट निर्माण गरिएका छन्।
 
भैरहवा सेजमा चाउचाउ, खाद्य तथा कृषिजन्य, अदुवा प्रशोधन, हर्बल, सिन्थेटिक फाइबर, छालाका बस्तु, तयारी पोशाक, जुत्ता, पश्मिना, धातु लगायतका उद्योग स्थापनाका लागि अनुमति पाएका छन्। अनुसार सेजमा ११ केभीको बिद्युत लाइन रहेको र आगामी ६ महिनाभित्र त्यसलाई विस्तार गरेर ३३ केभीमा पुर्यााउने भट्टले जानकारी दिए। सेजमा २४सै घण्टा विजुली दिने र त्यसका लागि पाँचदेखि १० मेगावाटसम्मको सोलार प्रणाली जडानको तयारी भएको उनले बताए।
 
१३ वर्षको चार महिना अघि रस्साकस्सी पछि सेज ऐन पारित भएपछि भैरहवामा विषेश आर्थिक क्षेत्र संचालनको बाटो खुलेको थियो। कानुन पारित हुन समय लागेपछि कार्यविधिमार्फत भएपनि भैरहवामा सेज संचालन गर्न खोजिएको थियो। ऐननै बनेपछि भैरहवा सेजमा उद्योगीहरुको आर्कषण समेत बढेको हो।
 
सिमरा सेजको काम तीब्र
सिमरामा स्थापना हुन लागेको गार्मेन्ट प्रोसेसिङ जोनको काम समेत तीब्र रुपमा अघि बढाइएको छ। 
 
चालु आर्थिक वर्षमा विनियोजन गरेको १० करोड रुपैयाँमध्ये ४० प्रतिशत खर्च भइसकेको भट्टले बताए। उनका अनुसार चालु आर्थिक वर्ष भित्रै सिमरा सेजमा पूर्वाधार निर्माणको काम ३० प्रतिशत सकिनेछ। 
 
सेज कानुनले दिएका सुविधा निम्न छन्- 
विशेष आर्थिक क्षेत्रमा गरिने व्यापारिक कारोबार, सो क्षेत्रबाट उत्पादन भएको वस्तु वा सेवामा लाग्ने महसुल, शुल्क वा कर प्रयोजनको लागि त्यस्तो क्षेत्रलाई करको क्षेत्राधिकार भन्दा बाहिर रहेको इलाका मानी विशेष व्यवहार गरिनेछ ।
 
विशेष आर्थिक क्षेत्रभित्र स्थापना भई सञ्चालनमा रहेका कुनै पनि उद्योगलाई राष्ट्रियकरण गरिने छैन।
 
उद्योगले प्रयोग गरेको जग्गा वा भवनको बहाल वा लिज वापत बुझाउनुपर्ने रकममा उद्योग स्थापना भएको पहिलो, दोस्रो र तेस्रो वर्षको लागि क्रमशः पचास, चालीस र पच्चीस प्रतिशतका दरले छूट पाउनेछ ।
 
आयकर छूटः (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि पूर्वाधार संरचनामा लगानी गर्ने लगानीकर्ताले पूर्वाधार संरचना संचालन गरेको वा इजाजतपत्रवालाले उत्पादनको व्यापारिक कारोबार शुरु गरेको मितिबाट प्रचलित कानून बमोजिम लाग्ने आयकरमा पहिलो पाँच वर्षसम्म शतप्रतिशत र साठी प्रतिशतसम्म स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने उद्योग भए त्यसपछिका दश वर्षसम्म पचास प्रतिशत र अन्य उद्योग भए पाँच वर्षसम्म पचास प्रतिशत छूट पाउनेछ ।
 
(२) उपदफा (१) मा जुनुसुकै कुरा लेखिएको भए तापनि हिमाली जिल्ला वा नेपाल सरकारले तोकेको पहाडी जिल्लामा रहेको विशेष आर्थिक क्षेत्रको उद्योगले आफ्नो उत्पादनको व्यापारिक कारोबार शुरु गरेको मितिबाट प्रचलित कानून बमोजिम लाग्ने आयकरमा पहिलो दश वर्षसम्म शतप्रतिशत र त्यसपछिका दश वर्षसम्म पचास प्रतिशत छूट पाउनेछ ।
 
प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएतापनि देहायको आयमा लाग्ने आयकरमा उद्योगले देहाय बमोजिम छूट पाउने छः–
उद्योगले उत्पादनको व्यापारिक कारोबार शुरु गरेको मितिबाट पहिलो पाँच वर्षसम्म उद्योगले वितरण गर्ने लाभांश रकममा लाग्ने आयकर शतप्रतिशत,
 
(ख) खण्ड (क) बमोजिमको आयमा लाग्ने आयकरमा सो अवधि भुक्तानी पछि त्यसपछिको तीन वर्षसम्म पचास प्रतिशत,
 
(ग) विदेशी लगानीकर्ताले विदेशी प्रविधि, बौद्धिक सम्पत्ति वा व्यवस्थापन सेवा शुल्क तथा रोयल्टीबाट आर्जन हुने आयमा लाग्ने आयकर पचास प्रतिशत ।
 
यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दफा ७ को उपदफा (१०) बमोजिम विशेष आर्थिक क्षेत्रमा स्थानान्तरण भएको उद्योगले यस दफा बमोजिमको आयकर छुट पाउने छैन ।
 
मूल्य अभिवृद्धि कर नलाग्नेः (१) इजाजतपत्रवालाले उद्योगको लागि आवश्यक पर्ने मेसिनरी उपकरण, मेसिनका पाटपूर्जा, कच्चा पदार्थ वा मालसामान ओसार पसार गर्ने प्रयोजनार्थ एक उद्योगको लागि त्यस्तो उद्योगको स्तर हेरी बढिमा तीन वटासम्म सवारी साधन पैठारी गर्दा लाग्ने मूल्य अभिवृद्धि करमा शतप्रतिशत छूट पाउनेछ ।
 
विशेष आर्थिक क्षेत्रभित्रका उद्योग व्यवसायी बीच हुने वस्तु वा सेवाको व्यापारमा मूल्य अभिवृद्धि कर लाग्ने छैन ।
 
इजाजतपत्रवालाले उद्योगको लागि आवश्यक पर्ने वस्तु वा सेवा आन्तरिक बजारबाट खरिद गर्दा त्यस्तो वस्तु वा सेवामा मूल्य अभिवृद्धि कर लाग्ने छैन।
 
अन्तः शुल्क नलाग्नेः उद्योगले उत्पादन गर्ने वस्तुमा अन्तःशुल्क लाग्ने छैन।
 
भन्सार महसुल छूटः (१) इजाजतपत्रवालाले उद्योगको लागि पैठारी गर्ने देहायको मालबस्तुमा भन्सार महसुल छुट पाउनेछः–
मालबस्तु उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थ, सहायक कच्चा पदार्थ, प्याकेजिङ्ग सामग्री एवं उत्पादनमा प्रयोग हुने अन्य पदार्थको लागि बैङ्क जमानतको आधारमा,
 
उद्योगको लागि आवश्यक पर्ने प्लान्ट, मेशिनरी, यन्त्र, उपकरण, औजार तथा पाटपूर्जा र उद्योगको आकार र प्रकृतिको आधारमा तीनवटा सम्म सवारी साधनमा ।
 
इजाजतपत्रवालाले दफा ११ को उपदफा (२) बमोजिम नेपालको आन्तरिक बजारमा बिक्री गर्न पाउने बस्तु वा सेवामा लाग्ने भन्सार महसुल तथा अन्य कर बुझाएपछि त्यस्तो बस्तु वा सेवा बिशेष आर्थिक क्षेत्रबाहिर लैजान पाउनेछ ।
 
कुनै पैठारीकर्ताले कुनै मालबस्तु बिशेष आर्थिक क्षेत्र भित्रको उद्योगलाई बिक्री गरेमा त्यस्तो मालबस्तुमा लागेको भन्सार महसुल भन्सार कार्यालयले सम्बन्धित पैठारीकर्तालाई फिर्ता गर्नु पर्नेछ ।
 
इजाजतपत्रवालाले भन्सार छुटमा पैठारी गरेको मालबस्तुको स्वामित्व हस्तान्तरण गर्दा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको प्रकृया अवलम्बन गर्नु पर्नेछ ।
 
स्थानीय कर छूटः उद्योगले उत्पादन गर्ने बस्तु वा सेवा, पैठारी गर्ने मेसिनरी उपकरण, मेसिनका पाटपूर्जा, कच्चा पदार्थ तथा उद्योग स्थापनाको लागि आवश्यक पर्ने अन्य सामग्री र मालसामान ओसार पसार गर्ने प्रयोजनार्थ एक उद्योगको लागि त्यस्तो उद्योगको स्तर हेरी बढिमा तीन वटासम्म सवारी साधनमा प्रचलित कानून बमोजिम लाग्ने कुनै किसिमको स्थानीय कर लाग्ने छैन ।
 
निकासी सरहको सुविधा पाउनेः प्रचलित कानून बमोजिम स्थापना भएको कुनै फर्म, कम्पनी वा उद्योगले विशेष आर्थिक क्षेत्रमा स्थापना भएको उद्योगलाई आफ्नो कच्चा पदार्थ वा कुनै उत्पादन बिक्री गरेमा त्यस्तो बिक्रीलाई निकासी सरहको मानी निकासी गरेवापत प्रचलित कानून बमोजिम कुनै सुविधा पाउने भए त्यस्तो फर्म, कम्पनी वा उद्योगले पनि सो सुविधा पाउनेछ ।
 
विदेशी लगानी फिर्ता लैजान पाउनेः (१) विदेशी मुद्रामा लगानी गर्ने विदेशी लगानीकर्ताले देहाय बमोजिमको रकम विदेशी मुद्रामा नेपाल बाहिर फिर्ता लैजान पाउनेछ –
 
विदेशी लगानीको केही वा सबै भागको शेयर बिक्रीबाट प्राप्त रकम,
 
(ख) विदेशी लगानी बापत प्राप्त हुने लाभांशको रकम,
 
(ग) विदेशी ऋणको साँबा र ब्याजको भुक्तानीको रुपमा प्राप्त रकम ।
 
उपदफा (१) बमोजिम लगानी गर्ने इजाजतपत्रवालाले दफा ८ बमोजिम सम्झौता गर्दा कुनै खास मुद्रामा लगानी फिर्ता लैजाने कुरा उल्लेख गरेकोमा सोही मुद्रामा त्यस्तो लगानी नेपाल बाहिर फिर्ता लैजान पाउनेछ ।
 
विदेशी मुद्रामा खाता खोल्न र कारोबार गर्न पाउनेः (१) इजाजतपत्रवालाले प्राधिकरणको सिफारिसमा विदेशी मुद्रामा खाता खोल्न पाउनेछ ।
 
इजाजतपत्रवालाले विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगको सम्बन्धमा विदेशी मुद्रामा कारोबार गर्न पाउनेछ ।
 
भिसा सम्बन्धी व्यवस्थाः (१) उद्योगमा लगानी गर्ने उद्देश्यले अध्ययन वा अनुसन्धान गर्न नेपाल आउने विदेशी नागरिकलाई छ महिनासम्मको गैर पर्यटक भिसा दिइनेछ ।
 
विदेशी लागनीकर्ता वा त्यस्तो लगानीकर्ताको आश्रित परिवार वा अधिकृत प्रतिनिधि वा त्यस्तो अधिकृत प्रतिनिधिको आश्रित परिवारलाई उद्योगमा विदेशी लगानी कायम रहेसम्म नेपालभित्र बसोबास गर्न व्यावसायिक भिसा दिइनेछ ।
 
तर एकैपटक कम्तीमा एक करोड अमेरिकी डलर वा सो बराबरको परिवत्र्य विदेशी मुद्रामा लगानी गर्ने विदेशी लगानीकर्ता र निजको आश्रित परिवारलाई त्यस्तो लगानी कायम रहेसम्म आवासीय भिसा दिइनेछ ।