पूर्वाञ्चलमा छैन व्यवसायिक प्रदर्शनीस्थल, जग्गा देखाएको दश वर्ष भयो काम अघि बढेन

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७३ मंसिर २४ गते १६:०७ | Dec 9, 2016
विराटनगर।पूर्वाञ्चलमा स्थायी प्रदर्शनी स्थलको लागि आवश्यक जग्गा देखाएको १० वर्ष भइसक्दा पनि अहिलेसम्म निर्माणको प्रक्रिया अघि बढेको छैन।

Tata
GBIME
Nepal Life

दस वर्षदेखि उठाएको माग संवोधन नभएपछि पूर्वाञ्चलका उद्यमी व्यवसायी रुष्ट भएका छन्। उद्योग सङ्गठन मोरङले आगामी फागुन महिनामा विराटनगरमा गर्न लागेको विराट एक्स्पो गर्न प्रदर्शनी स्थल खोज्नै हम्मे भएको छ।
 

‘सरकारले स्थायी रूपमा प्रदर्शनी स्थल बनाउन भनेर नै बुटवल, पोखरा र नेपालगन्जजस्ता मुख्य शहरमा जमिन उपलब्ध गराइसकेको छ’, सङ्गठनका अध्यक्ष मुकेश भट्टराई उपाध्यायले भने, ‘तर औद्योगिक इतिहासको आरम्भ गर्ने विराटनगरलाई भने उपेक्षा गरिएको छ । हामीले ठाउँसमेत देखाएर प्रदर्शनी स्थलका लागि यसलाई छुट्याइयोस् भनेर सरकारलाई अनुरोध गरेको दश वर्ष भइसक्यो, तर सरकारी उदासिनता उस्तै छ ।’
 
अध्यक्ष उपाध्यायका अनुसार विराटनगर उपमहानगरपालिकाको वडा नम्बर १८ मा पर्ने नेसनल ट्रेडिङ लिमिटेडको घर, जग्गा र जमिनलाई स्थायी प्रदर्शनी स्थल बनाउन विराटनगरका व्यवसायीले माग गरेका हुन् ।
 
नेसनल ट्रेडिङको अवस्था खस्कँदो भएको र विराटनगरमा रहेको तीन बिघा जमिन पनि उपयोगहीन भइरहेको स्थितिमा त्यस ठाउँमा स्थायी रूपको प्रदर्शनी स्थल बनाइनु उचित हुने उनको तर्क थियो ।
 
‘स्थायी ठाउँ भएमा वर्षभरि नै प्रदर्शनी भइरहन्छन्’, सङ्गठनका पूर्व अध्यक्ष शिवशङ्कर अग्रवालले भने, ‘ नेसनल ट्रेडिङको विराटनगरमा घर, जग्गा, गोदाम सबै खाली छ । सरकारले यसको सदुपयोग गर्न सक्नुपर्छ ।’
 
विराटनगरमा खेलकुद विकास समितिको अधीनमा रहेको सहिद रङ्गशालामा व्यावसायिक प्रयोजनको प्रदर्शनी गर्ने परम्परा छ । तर यस वर्ष सातौँ राष्ट्रिय खेलकुद गर्ने उद्देश्यले रङ्गशालाभित्रको संरचना परिमार्जन गरिएको हुँदा औद्योगिक प्रदर्शनी गर्न सम्भव नभएको सङ्गठनका वरिष्ठ उपाध्यक्ष भीम घिमिरेले बताए । 
 
घिमिरेका अनुसार सङ्गठनले प्रदर्शनीका लागि जग्गा नभेटिएपछि निजी जमिन भाडामा लिएर एक्स्पोको आयोजना गर्न लागिएको छ ।अढाई बिघा क्षेत्रफल भएको उक्त जमिनमा गर्न लागिएको एक्स्पोमा कृषि, पर्यटन, उद्योग र व्यापारिक प्रयोजनका समेत दुई सय ५० स्टल रहने छन् ।एक्स्पोमा नेपालका विभिन्न भागबाट तथा भारत, चिन, बङ्गलादेश र श्रीलङ्काका व्यवसायीले समेत आआफ्नो स्टल राख्ने बताइएको छ ।