यी हुन् काठमाडौँका सस्ता जग्गा, न्युनतम मूल्यांकन आनाको १० हजार रुपैयाँसम्म

बिजमाण्डू
२०७३ मंसिर २४ गते १४:२३ | Dec 9, 2016
यी हुन् काठमाडौँका सस्ता जग्गा, न्युनतम मूल्यांकन आनाको १० हजार रुपैयाँसम्म
काठमाडौं। राजधानी भन्ने बत्तिकै अग्ला र बाक्ला घर भएको महँगो ठाउँ बुझिन्छ। तर, उपत्यकामा महँगो मात्र हैन बाहिरका धेरै जिल्ला सदरमुकाम भन्दा सस्तो जग्गा पनि छन्। 
 
तराईका मुख्य राजमार्ग चितवनमा प्रति कठ्ठा एक करोड ३० लाख, कैलालीमा ७१ लाख, दाङ्मा ७८ लाख र विराटनगरमा ८० लाख रुपैयाँ सम्म सरकारी मुल्याङ्कन छ भने काठमाडौँमा आनाको १० हजारसम्म मूल्याङ्कन भएका जग्गा छन्। 
 
उपत्यकाका मालपोत कार्यालयहरुको तथ्याुङ्क अनुसार सर्वाधिक कारोबार हुने १० ठाउँ निम्न छन्। 

Tata
GBIME
Nepal Life


 

१) थानकोट
थानकोट काठमाडौंको प्रवेशद्वार हो। गत आर्थिक वर्षको तथ्याङ्कमा कलंकी मालपोत कार्यालयले १८ हजार घरजग्गाको कारोबार गर्दा सर्वाधिक किनबेच हुने ठाउँ थानकोट थियो। थानकोटका पनि त्रिभुवन पार्क, चुनीखेल, खरिबोट, ईमाखेल, गुर्जुधारा, मातातिर्थ, चेकपोस्ट लगायतका ठाउँ जहाँ सरकारी मुल्याङ्कन प्रति आना गोरेटो बाटोमा एक लाख देखि पक्किबाटोमा ३ लाख २५ हजार रुपैयाँ सम्म मात्र छ। यीनै ठाउँमा धेरै घरजग्गा किनबेच भएका छन्। चल्तिको कारोबार भने आनाको ५ लाख रुपैयाँ देखि माथी छ। थानकोट, रत्नपार्क देखि १४ किलोमिटरको दुरीमा पर्छ। थानकोट क्षेत्रको न्युनतम मुल्याङ्कन भने प्रति आना ५० हजार देखि ८ लाख ५० हजार रुपैयाँसम्म छ। 
 
२) किर्तिपुर
कलंकी मालपोत बाटै कारोबार हुने किर्तिपुरमा पनि घरजग्गाको कारोबार तिब्ररुपमा बढेको छ। बाहिरी चक्रपथले छुने भएपछि मच्छेगाउँ, भत्केपाटी र चोभारमा जग्गा किनबेच बृद्धि भएको हो। सरकारी मुल्याङ्कन प्रति आना गोरेटो बाटोमा एक लाख ५० हजार देखि पक्कि बाटोमा तीन लाख २५ हजार रुपैयाँ सम्म कायम गरिएको छ। किर्तिपुर, रत्नपार्क देखि १० किलोमिटरको दुरीमा पर्छ। किर्तिपुर क्षेत्रको न्युनतम मुल्याङ्कन भने प्रति आना ५० हजार देखि १२ लाख रुपैयाँसम्म छ। 
 
३) बुढानिलकण्ठ
गत वर्ष चावहिल मालपोत कार्यलयले १४ हजार घरजग्गा कारोबार गर्दा धेरै किनबेच हुने ठाउँ थियो बुढानिलकण्ठ। बुढानिलकण्ठ नगरपालिका भित्र कपन, चुनिखेल, विष्णु, लगायतका ठाउँमा धेरै जग्गा किनबेच भएका थिए। सरकारी मुल्याङ्कनमा प्रति आना गोरेटो बाटोमा एक लाख ५० हजार देखि पिच सडकमा पाँच लाख रुपैयाँसम्म मुल्याङ्कन गरिएका जग्गा बढी किनबेच भएका थिए। उक्त ठाउँमा चल्तिको कारोबार भने प्रति आना ५ लाख देखि माथी छ। बुढानिलकण्ठ, रत्नपार्क देखि १० किलोमिटरको दुरिमा पर्छ। बुढानिलकण्ठमा न्युनतम मुल्याङ्कन भने प्रति आना एक लाख देखि ९ लाख रुपैयाँ सम्म छ।


 

४) गोदावरी, ललितपुर
ललितपुरमा गत वर्ष २२ हजार घर जग्गा किनबेच हुँदा सबै भन्दा बढी कारोबार भएको ठाउँ हो गोदावरी नगरपालिका। गोदावरी नगरपालिका भित्र परेका गोदावरी, ठैव र बडिखेलमा प्रति आना गोरेटो बाटोमा ५० हजार देखि  पिच सडकमा चार लाख रुपैयाँ सम्म सरकारी मुल्याङ्कन भएका जग्गा धेरै किनबेच भएका थिए। गोदावरी, रत्नपार्क देखि १४ किलोमिटरको दुरीमा पर्छ। गोदावरी क्षेत्रको न्युनतम मुल्याङ्कन भने प्रति आना १० हजार देखि ५ लाख रुपैयाँ सम्म छ।
 
५) सुर्यविनायक, भक्तपुर
भक्तपुर मालपोतले गत वर्ष २७ हजार घरजग्गा कारोबार गर्दा धेरै कारोबार हुने ठाउँ सिपाडोल थियो। सिपाडोल अहिले सुर्यविनायक नगरपालिकामा पर्छ। सुर्यविनायक नगरपालिका भित्र पर्ने कटुन्जे, सिपाडोल लगायतका ठाउँमा प्रति आना गोरेटो बाटोमा ५० हजार देखि पिच सडकमा चार लाख रुपैयाँसम्म सरकारी मुल्याङ्कन रहेका जग्गाको कारोबार धेरै भएको थियो। सुर्यविनायक रत्नपार्क बाट १७ किलोमिटर टाढा पर्छ। सुर्यविनायक क्षेत्रमा न्युनतम मुल्याङ्कन भने प्रति आना १० हजार देखि १३ लाख २० हजार रुपैयाँ सम्म छ।
 
६) मनमैजु
मनमैजु क्षेत्रमा साँग्ला र काभ्रेस्थलीमा सबै भन्दा बढी जग्गाको कारोबार भएको छ। गत वर्ष मनमैजु मालपोत मार्फत आठ हजार जग्गा किनबेच हुँदा साँग्ला, मनमैजु र काभ्रेस्थलीमा प्रति आना गोरेटो बाटोमा ३५ हजार देखि पिच सडकमा पाँच लाख रुपैयाँसम्म मुल्याङ्कन भएका जग्गानै बढी कारोबार भएका थिए। मनमैजुमा धेरै कारोबार हुने यी क्षेत्र, रत्नपार्क देखि १२ किलोमिटर सम्मको दुरीमा पर्छन्। मनमैजुमा गत वर्षको कारोबार धेरै भएका ठाउँमा यो वर्ष सरकारी मुल्याङ्कन बृद्धी गरि १० हजार देखि १३ लाख रुपैयाँ प्रति आनासम्म कायम गरिएको छ। 
 
७) साँखु
साँखु मालपोत कार्यलयमा गत वर्ष ८ हजार जग्गा किनबेच भए। गत वर्ष ती ठाउँको सरकारी मुल्याङ्कन गोरेटो बाटोमा ३० हजार देखि पिच बाटोमा चार लाख रुपैयाँसम्म थियो। सबैभन्दा बढी किनबेच भएका ठाउँ सुनटोल, नयाँपाटी, साँखु लगाएतमा यो वर्ष मुल्याङ्कन बढाई प्रति आना ५० हजार देखि पाँच लाख रुपैयाँसम्म पुर्याईएको छ। साँखु, रत्नपार्क देखि २१ किलोमिटरको दुरीमा पर्छ। साँखु क्षेत्रको न्युनतम मुल्याङ्कन भने १० हजार देखि नौ लाख रुपैयाँ प्रति आनासम्म कायम गरिएको छ। 
 
८) लामाटार, ललितपुर
महालक्ष्मी नगरपालिका भित्र पर्ने लामाटार, टिकाथली र ईमाडोलमा पनि घरजग्गाको कारोबार धेरै भएको थियो। लगनखेल मालपोतबाट कारोबार हुने लामाटार क्षेत्र रत्नपार्क देखि १४ किलोमिटर दुरीमा पर्छ। यो ठाउँमा प्रति आना गोरेटो बाटोमा ५० हजार देखि पिच सडकमा चार लाख रुपैयाँसम्म मुल्याङ्कन गरिएका जग्गा धेरै किनबेच भएका थिए। महालक्ष्मी नगरपालिकामा न्युनतम मुल्याङ्कन भने प्रति आना १० हजार देखि नौ लाख ५० हजारसम्म कायम गरिएको छ।
 
९) गोठाटार
गोठाटारमा गोरेटो बाटो मात्र पुगेको ठाउँमा प्रति आना दुई लाख देखि पिच सडकमा सात लाख रुपैयाँसम्म सरकारी मुल्याङ्कन भएका जग्गाको कारोबार धेरै भएको थियो। चावहिल मालपोत कार्यलयले कारोबार गर्दै आएको गोठाटार क्षेत्रमा यो वर्ष मुल्याङ्कन भने बढाईएको छैन। त्रिभुवन विमानस्थलको पछाडी रहेको गोठाटार रत्नपार्क देखि १० किलोमिटरको दुरीमा पर्छ। गोठ्ठाटारमा न्युनतम मुल्याङ्कन प्रति आना दुई लाख देखि ११ लाख रुपैयाँसम्म छ।
 
१०) सितापाईला
सितापाईला क्षेत्रमा गत वर्ष गोरेटो बाटोमा प्रति आना १ लाख ५० हजार देखि पिच सडकमा ५ लाख ५० हजार रुपैयाँसम्म सरकारी मुल्याङ्कन भएका जग्गा धेरै किनबेच भए। नागार्जुन नगरपालिका भित्र पर्ने स्युचाटार र सितापाईला क्षेत्रमा जग्गा खरिदकर्ताको आकर्षण बढेको देखिन्छ। स्युचाटार रत्नपार्क बाट सात किलोमिटर दुरीमा पर्छ। यो क्षेत्रको न्युनतम मुल्याङ्कन भने प्रति आना ७० हजार देखि आठ लाख रुपैयाँसम्म छ।