सेना,प्रहरी र साझाले उपत्यकामा खोल्ने पम्प विदेशको जस्तै सुविधा,यस्तो हुनेछ पम्पमा सुविधा

बिजमाण्डू
२०७३ कात्तिक ५ गते १८:२२ | Oct 21, 2016

काठमाडौं।सरकारले उपत्यकामा अत्याधुनिक सुविधासहितको पेट्रोल पम्प खोल्न दिने तयारी गरेको छ।आपूर्ति मन्त्रालयका अनुसार ठूलो क्षेत्रफलमा डिपार्टमेन्टल स्टोर, रेष्टुरेन्ट लगायतका सुविधासहितका पम्प स्थापना गर्न दिने तयारी भएको हो।

उपत्यकामा अहिले संचालनमा रहेका पम्प साँघुरो र सुविधाविहिन छन्। सानो क्षेत्रफलमा पम्प संचालन हुँदा सडकमै तेल भर्न सवारीसाधनको लाइनहुँदा ट्राफिक व्यवस्थापन गर्न समस्या परेको छ। आयल निगमका निमित निर्देशक दीपक बरालका अनुसार उपत्यकामा अत्याधुनिक सेवासहितको पम्प खोल्न दिने तयारी भएको छ।

Tata
GBIME
Nepal Life

उनका अनुसार कम्तीमा पम्पको पूर्वाधार २० वटा गाडी तेल भर्न र पचास वटा गाडी पार्किङ गर्न मिल्ने क्षेत्रफल हुनुपर्नेछ। अहिले उपत्यकामा नयाँ पम्प खोल्न रोक लगाइएको छ। बरालका अनुसार निजी र सार्वजनिक दुबै क्षेत्रले उपत्यकामा पम्प खोल्न पाउनेगरी नयाँ मापदण्ड बनाउन लागिएको छ। पम्प खोल्न दश रोपनी जग्गा हुनुपर्ने प्रावधान राखिएको छ।

सुरक्षा निकाय,साझा र सार्वजनिक संस्थानले तोकिएको सुविधासहित पम्प खोल्न पाउनेछन्। सरकारले उपत्यकाका १५ स्थानमा सेना,प्रहरी,साझा र साल्ट ट्रेडिङलार्इ पम्प खोल्न दिने निर्णय गरेको थियो । यो निर्णयपछि पम्प खोल्न नयाँ मापदण्ड बनाउन लागिएको हो। यो पूर्वाधारसहित पम्प खोल्न निजी क्षेत्रलार्इ भने कठिन हुनेछ। जग्गाकै कारण निजी क्षेत्रले नयाँ पम्प खोल्न कठिन हुने देखिन्छ।

आपूर्ति मन्त्रालयका प्रवक्ता सूर्यप्रसाद श्रेष्ठले विकसित देशमा तेल बिक्री गर्ने पम्मकै अवधारणामा उपत्यकामा नयाँ खोल्न दिने तयारी भएको बताए। 'थुप्रै विकसित मुलुकहरुमा सुविधा सम्पन्न पेट्रोल पम्प सञ्चालनमा छन्' ,उनले भने, 'पम्पमा गाडीमा तेल मात्र भर्ने नभई गाडी पार्किङ, रेस्टुरेन्ट, लज लगायतका सुविधाको पनि व्यवस्था हुन्छ ।'

राजधानी बाहिरिने तथा भित्रने प्रमुख नाकाहरुमा नयाँ पेट्रोल पम्प खोल्न प्राथमिकता दिइने श्रेष्ठले बताए। उनले भने, 'हामीले भक्तपुर, थानकोट, फर्पिङ लगायतका प्रमुख नाकामा पम्प खोल्न आग्रह गरेका छौ ।'   गत महिना मन्त्रालयले सुरक्षा निकाय तथा सहकारीलाई उपत्यकामा १५ वटा पेट्रोल पम्प सञ्चालन गर्न दिने निर्णय गरेको थियो । यो योजना अनुसार सेनाले पाँच वटा, सशस्त्र दुई, जनपथ प्रहरीले दुई, साझालाई चार वटा र साल्ट ट्रेडिङले दुईवटा पेट्रोलपम्प खोल्न पाउने व्यवस्था गरिएको छ।

मन्त्रालयले सबै निकायलाई स्थान, क्षमता (क्षेत्रफल) र लागत अनुमान सहित प्रस्ताव माग गरेको श्रेष्ठले बताए । पम्प खोल्न दिने निर्णय गरेका संस्थालार्इ पनि जग्गाकै समस्या परेको छ। उनले भने, 'जग्गा चयनमा सुरक्षा निकायलाई भन्दा पनि साल्ट ट्रेडिङ र साझालार्इ समस्या परेको छ ।'श्रेष्ठका अनुसार हालसम्म तीन वटा सुरक्षा निकायले ६ स्थानमा मात्र प्रस्ताव पेश गरेका छन् ।

प्रहरीले हाडीगाँउ, सशस्त्रले बल्खु, चक्रपथ र स्वयम्भु, सेनाले सल्लाघारी र लगनखेलमा पेट्रोल पम्प निर्माण तथा विस्तारका लागि प्रस्ताव गरेको उनले जानकारी दिए । साल्ट ट्रेडिङ र साझाले भने मापदण्ड अनुसारका कुनै पनि जग्गा प्रस्ताव गर्न नसकेको श्रेष्ठले बताए । सरकारले पेट्रोल पम्प खोल्न अनुमति दिएपनि मापदण्ड अनुसार जग्गा नभएकाले प्रस्ताव गर्न गाह्रो परेको साल्ट ट्रेडिङका प्रवक्ता कुमारराज भण्डारीले बताए ।