नेपालको ब्यालेन्सिट घाटामा, रेमिटेन्स बृद्धि दर घट्यो, राष्ट्र बैंक भन्छ- अर्थतन्त्रमा सुधारको

बिजमाण्डू
२०७३ कात्तिक ५ गते १४:५९ | Oct 21, 2016
नेपालको ब्यालेन्सिट घाटामा, रेमिटेन्स बृद्धि दर घट्यो, राष्ट्र बैंक भन्छ- अर्थतन्त्रमा सुधारको


काठमाडौं । देशको ब्यालेन्सिट ऋणात्मक भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक बर्षको पछिल्लो अवस्था सार्वजनिक गर्दै शोधनान्तर घाटा तीन अर्ब ५० करोड रुपैयाँ भएको जनाएको छ ।

Tata
GBIME
Nepal Life

एक देशको अरु देशका बीचमा हुने वित्तीय लेनदेनको हिसावकितावलाई शोधनान्तर (ब्यालेन्स अफ पेमेन्ट, बिओपी) भनिन्छ । वास्तवमा, एउटा देश र बाँकी विश्वका बीचमा आयात-निर्यातका लागि हुने वित्तीय कारोबार यसमा समेटिन्छ ।

आयात निर्यातमा बस्तु तथा सेवा, वित्तीय पुँजी र वित्तीय अनुदान पनि उपलब्ध हुन्छ । यसमा रेमिटेन्स पनि गणना हुन्छ । यसलाई नेपाल राष्ट्र बैंकले मासिक रुपमा गणना गर्छ ।

शोधनान्तर ऋणात्मक हुँदा देशको वित्तीय रेटिङ घट्छ । यसका कारण प्रत्यक्ष वैदेशिक लगानी निरुत्साहित हुन्छ । आन्तरिक रुपमा बैंकिङ क्षेत्रको ब्याज दरमा दवाव पार्छ ।

ब्यापार घाटा बढेको, विदेशी लगानीको लाभांस भुक्तानी उल्लेख्य बृद्धि भएको तथा वैदेशिक अनुदानमा कमी आएका कारण देशको ब्यालेन्सिटलाई असर गरेको हो ।

देशभित्रिने रकमभन्दा वाहिरिने वढि हुँदा देशको व्यालेन्सिट घाटामा जान्छ । गत आर्थिक बर्षको दुई महिनामा साढे २७ प्रतिशतले बढेको रेमिटेनस अहिले जम्मा ६.६ प्रतिशतले मात्र वढेको छ । दुई महिनाको अवधिमा विदेशमा काम गर्न गएका नेपालीले एक खर्ब १४ अर्ब ७४ करोड रुपैयाँ नेपाल पठाएका छन् ।

दुई महिनाको अवधिमा नेपालबाट १३ अर्ब १८ करोड रुपैयाँको बस्तु तथा सेवा बिक्री भएको छ । तर नेपालले भने एक खर्ब ४९ अर्ब २ करोड रुपैयाँको किनेको छ । यसले गर्दा ब्यापार घाटा एक खर्ब ३५ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ ।

नेपालले भारतबाट मगाउने सामानको आयात ४९.८ प्रतिशत, चीनको २६.२ प्रतिशत र यी वाहेकका मुलुकबाट मगाउने सामानको आयात ३६.५ प्रतिशतले बढेको छ । नेपालले सबैभन्दा वढि यातायातका साधन तथा त्यसको पार्टपुर्जा, एमएस बिलेट, पेट्रोलियम पदार्थका साथै खानेतेलको आयात गरेको छ ।

यससँगै दूरसञ्चारका उपकरण, वद्युतीय सामान, रासायनिक मल, चाँदी, कोल्डरोल सिट इन क्वाइल, तयारी पोशाकलगायतको आयात पनि वढि भएको छ।
देशको ब्यालेन्सिट घाटामा गएपनि राष्ट्र बैंकले भने अर्थतन्त्रमा केही सुधारको संकेत देखिन थालेको जनाएको छ । पर्याप्त बर्षा हुनुका साथै कृषिजन्य सामग्रीको वितरणसमेत सहज भएकाले बर्षे वालीहरुको उत्पादन वढ्ने केन्द्रीय बैंकले जनाएको छ ।

उर्जा तथा अन्य कच्चा पदार्थको आपूर्तिमा सुधार आएकाले उद्योगहरुको उपयोग क्षमता विस्तार भएको तथा पर्यटकीय होटलहरुको वेड अकुपेन्सी दरमा सुधार आएकाले पर्यटन व्यवसायमा सकारात्मक सुधार आएकाले त्यसले अर्थतन्त्रलाई राम्रो प्रभाव पार्ने जनाएको छ ।