साढे तीन अर्ब लगानी थपेर दैनिक २६ सय ६७ टन सिमेन्ट उत्पादन गर्दै घोराही,दुर्इ वर्षमा चार हजार टन

बिजमाण्डू
२०७३ कात्तिक ५ गते १०:४० | Oct 21, 2016
साढे तीन अर्ब लगानी थपेर दैनिक २६ सय ६७ टन सिमेन्ट उत्पादन गर्दै घोराही,दुर्इ वर्षमा चार हजार टन
काठमाडौं। नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग घोराही सिमेन्टले झन्डै साढे तीन अर्ब लगानी थपेर क्षमता बढाउने भएको छ। उद्योगले ३ अर्ब ३५ करोड ५४ लाख रुपैयाँ लगानी थपेर दैनिक २६ सय ६७ टन सिमेन्ट उत्पादन गर्ने भएको हो। 

अहिले घोराहीले दैनिक १८ सय १२ टन सिमेन्ट उत्पादन गर्दै आएको छ। क्षमता वृद्धिका लागि घोराहीले उद्योग विभागमा आफ्नो व्यवसायिक प्रस्ताव पेश गरिसकेको छ।नेपालका ठूला औद्योगिक घराना त्रिवेणी र विशाल समूहको संयुक्त लगानीमा सन् २००९मा दाङमा यो सिमेन्ट उद्योग स्थापना भएको थियो।सिमेन्ट उद्योगमा विदेशी लगानीका ठूला उद्योग भित्रिन थालेपछि यो समूहले क्षमता बढाउन लागेको हो। 
समूह निकट स्रोतका अनुसार दुर्इ वर्षभित्रमा उद्योगको क्षमता दैनिक चार हजार टन भन्दा माथि पुर्याउने लक्ष्य राखिएको छ। स्रोतका अनुसार क्रमिक रुपमा लगानी थपेर सन् २०१९सम्ममा दैनिक चार हजार टन पुर्याउने योजना छ। चिनियाँ संयुक्त लगानीमा होङसी शिवम सिमेन्ट उद्योग स्थापना भएपछि मुलुकभित्र रहेका सिमेन्ट उद्योगले आक्रामक रुपमा क्षमता बढाउन थालेका हुन्।
 
 ३६ अर्ब लगानीमा दैनिक १२ हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित यो उद्योग स्थापना हुँदैछ। यो उद्योगबाट सन् २०१८बाट व्यवसायिक रुपमा सिमेन्ट उत्पादन हुनेछ। घोराही सिमेन्टले विदेशी लगानीको यही उद्योगसँग प्रतिस्पर्धा गर्न क्षमता बढाउन लागेको हो।यो पुँजीपछि उद्योगको कुल पुँजी ११ अर्ब ३३ करोड ६५ लाख रुपैयाँ पुग्नेछ। दाङमा रहेको यो उद्योगको आफ्नै खानी छ।
 
उद्योगले सगरमाथा ओपिसी र सगरमाथा गोल्ड पीपीसी ब्राण्डमा सिमेन्ट बिक्री गर्दै आएको छ। यो समूहले पहिल्यैदेखि सिमेन्ट उद्योग संचालन गर्दै आएको थियो। उद्योगमा ५ सय ५३ जनाले रोजगारी पाइरहेका छन्। लगानी विस्तारपछि थप ७४ जनाले रोजगारी पाउनेछन्। अहिले ५ सय ५३ जनाले रोजगारी पाइरहेका छन्। 
 

Tata
GBIME
Nepal Life