राराका होटल अहिले भरिभराउ, दिनहुँ ३ पर्यटक पुग्न थाले, ६ फोटोमा हेर्नुस् राराको सौन्दर्य

बिजमाण्डू
२०७३ कात्तिक ४ गते ११:४८ | Oct 20, 2016
मुगु। रारा राष्ट्रिय निकुञ्जको प्रमुख आकर्षण हो रारा ताल। राराको यही विशिष्ट सौन्दर्यमा रमाउन कै लागि हजारौं डलर खर्च गरेर विदेशीहरु घुम्न आउने गर्छन्। रारा तालको  जैविक विविधता अवलोकन गर्न सन् २०१४ मा १ सय ४१ पर्यटक रारा पुगेका थिए। सन् २०१५ मा थप पर्यटक तानेको छ। पर्यटकको सङ्ख्या बढेर १ सय ८१ पुगेको छ। 
विदेशी मात्र होइन आन्तरिक पर्यटक पनि त्यतिकै लालायित छन् रारालाई आफ्नो आँखामा सजाउन।  रारा ताल हेर्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि यहाँका होटल भरिभराउ छन्।
 
रारा घुम्न हवाई तथा स्थलमार्गबाट सहज भएपछि आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो। दिनहुँ हवाई तथा सडकमार्ग भएर ३ सयभन्दा बढी आन्तरिक पर्यटक रारा घुम्न आउने गरेका छन्। नेपालगन्जबाट सोझै जहाजमा रारा पुग्न सकिन्छ भने दैलेख, कालीकोट र जुम्ला भएर सडकमार्ग प्रयोग गरी दुई दिनमा रारा पुग्न सकिन्छ।
जाडो मौसम सुरु भइसकेकाले रारा घुम्न आउने पर्यटकले न्यानो कपडा तथा आवश्यक औषधि साथमा ल्याउनु पर्ने ‘भिजिट कर्णाली टुर एन्ड ट्राभल्स’का सञ्चालक राजु कार्की बताउँछन्। बस, जिप र मोटरसाइकलमा आन्तरिक पर्यटक घुम्न आउने गरेका होटल व्यवसायी पूर्णादेवी बमले बताइन्।
 
रारा ताल छेउमै रहेको रारा राष्ट्रिय निकुञ्जको चमेना गृह, डाँफे होटल र रारा भिलेज रिसोटमा बास बस्न ठाउँ अपुग भएपछि पर्यटक एक घन्टा टाढाको रारा विमानस्थल, सदरमुकाम गमगढी तथा माझघट्टका होटलमा बास बस्ने गरेका रारा राष्ट्रिय निकुञ्जका प्रमुख मोहनचन्द्र विश्वकर्माको भनाइ छ। 'दिनहुँ २ सयभन्दा बढी आन्तरिक पर्यटक आउने गरेका छन्,' उनले भने।

Tata
GBIME
Nepal Life