चार सरकारी निकायले खुलाए ८८ जनाको लागि रोजगारी, वायुसेवा निगमले ५३ जनालाई जागिर दिने

बिजमाण्डू
२०७३ असोज ३० गते १२:४६ | Oct 16, 2016
चार सरकारी निकायले खुलाए ८८ जनाको लागि रोजगारी, वायुसेवा निगमले ५३ जनालाई जागिर दिने


काठमाडौँ । चार सरकारी निकायले ८८ जनालाई रोजगारी दिने भएका छन्। नेपाल वायु सेवा निगम, निक्षेप तथा कर्जा सुरक्षा निगम, घरेलु तथा साना उद्योग विकास समिति र व्यापार तथा निकासी प्रवर्धन केन्द्रले सहायक देखि प्रबन्धक सम्मका लागि जागिर खुला गरेका हुन्।

Tata
GBIME
Nepal Life

चार निकाय मध्ये निगमले सर्वाधिक ५३ जनालाई रोजगारी दिने भएको छ। सबैभन्दा धेरै प्रशासन सहायक १७ जनाले निगममा जागिर पाउनेछन्। यसका लागि एसएलसी पासको योग्यताले पुग्नेछ। निगमले त्यतिनै योग्यताले पुग्ने एक जना लेखा सहायक पनि माग गरेको छ। यस्तै प्रशासन तर्फको अधिकृत १५ जनाको लागि दरखास्त आह्वान गरेको छ। 


लेखा अधिकृत छ जना मागिएको छ। यी दुबै पदमा स्नातक उत्तिर्णले आवेदन दिन पाउनेछन्। तर लेखा अधिकृतको लागि लेखा विषय सहित वाणिज्यशास्त्र, व्यापार प्रशासन वा व्यवस्थापन पढेको हुनुपर्नेछ। यस्तै प्रशासन र लेखामा वरिष्ठ सहायक समेत क्रमशः १२ र २ जना मागिएको छ। दुबैमा प्लस टु उत्तिर्णले आवेदन दिन पाउने भए पनि लेखाका लागि वाणिज्य या व्यवस्थापन विषय पढेको हुनुपर्नेछ। तीन साता भित्र आवेदन दिइ सक्नु पर्ने निगमले जनाएको छ। कोषमा भने सहायक देखि प्रबन्धक सम्मको लागि दरखास्त आह्वान गरिएको छ। नौ तहको प्रबन्धकका लागि सिए, एसिसिए वा सिपिए उत्तिर्ण गरेको हुनु पर्नेछ।
 
कोषले त्यतिनै योग्यता भएको आठ तहको नायव प्रबन्धक समेत माग गरेको छ। यो पदमा आवेदन दिन योग्यता भने तीन बर्षको भए पुग्नेछ। यस्तै त्यतिनै योग्यता र दुई बर्षको अनुभव हुनेले सात तहको अधिकृतमा आवेदन दिन सक्ने कोषले जनाएको छ। यी तीनै पदमा खुला एक एक जनाको जागिर खुलेको हो। कोषले एक जना कम्युटर इन्जिनियर पनि लिने भएको छ। सात तहको यो पदमा आवेदन दिन कम्युटर इन्जिनियरिङमा स्नातकोत्तर गरेको हुनुपर्नेछ। कोषले छ तहको सहायक अधिकृत तीन जना लिने भएको छ।
 
अर्थशास्त्र, वाणिज्य शास्त्र, वाणिज्य कानुन, सार्वजनिक प्रशासन या व्यवस्थापनमा स्नातकोत्तर हुनेले यी पदमा आवेदन दिन पाउनेछन्। यस्तै पाँच तहको प्रधान सहायक पनि चार जना माग गरेको छ। त्यसका लागि कम्युटरको न्युनतम ज्ञान सहित स्नातक उत्तिर्ण हुनुपर्नेछ। कोषले पाँच तहको वरिष्ठ कम्युटर सहायक र कम्युटर सहायक पनि एक/एक जना माग गरेको छ। यिनीहरुको लागि क्रमशः कम्युटरमा डिप्लोमा र प्लस टु गरि कम्युटरको न्युनतम ज्ञान भएको हुनु पर्नेछ। एक महिना भित्र आवेदन दिन सक्नु पर्ने कोषले जनाएको छ।
 
विकास समितिले नौ तहको निर्देशकमा एक जनाको लागि आवेदन माग गरेको छ। स्नातकोत्तरण उत्तिर्ण गरि अधिकृत स्तरमा छ बर्षको अनुभव हुनेले यो पदमा दरखास्त दिन पाउनेछन्। एक जनाको लागि खुला गरिएको आठ तहको उपनिर्देशकमा भने त्यतिनै शैक्षिक योग्यता सहित तीन बर्षको अनुभव हुनुपर्नेछ। समितिले एक जना प्राविधिक उपनिर्देशक समेत माग गरेको छ। त्यसका लागि कम्युटर एडेड डिजाइन वा ग्राफिक डिजाइनमा स्नातकोत्तर गरि तीन बर्षको अनुभव हुनुपर्नेछ।
 
सात तहको वरिष्ठ अधिकृतमा आवेदन गर्न स्नातकोत्तर उपाधी सहित दुई बर्षको अनुभव हासिल गरेको हुनु पर्नेछ। समितिले यो तहमा एक जनाको दरबन्दी खुला गरेको हो। सात तहमा एक जना टेक्सटायल इन्जिनियर समेत समितिले माग गरेको छ। छ तहको शाखा अधिकृत र लेखा अधिकृत पनि क्रमशः चार जना र दुई माग गरिएको छ। यी पदमा आवेदन गर्न स्नातक गरेको हुनुपर्नेछ। लेखाका लागि भने वाणिज्य प्रशासनमा स्नातक चाहिने समितिले जनाएको छ।
 
बाणिज्य प्रशासनमा प्लस टु गर्नेले पाँच तहको लेखापालमा आवेदन दिन पाउनेछन्। यो तहमा एक जनाको मात्र दरबन्दी खुला गरेको हो। समितिले खुलाएका पदमा एक महिना भित्र आवेदन दिनु पर्नेछ। केन्द्रले भने चार तहको सहायक देखि छ तहको अधिकृत सम्मका लागि दरखास्त आह्वान गरेको हो। दुई जना अधिकृत आन्तरिक प्रतियोगिता र पाँच जना खुलाबाट लिने जनाइएको छ।
 
आन्तरिक प्रतियोगिता भिड्न प्रमाणपत्र तह योग्यताले पुग्नेछ। तर, केन्द्रमा त्यो भन्दा तल्लो तहमा काम गरेको चार बर्ष भएको हुनुपर्नेछ। खुला प्रतियोगिताबाट अधिकृतमा भिड्न भने स्नातक गरेको हुनु पर्नेछ। चार तहको सहायकमा भने तीन जनाको दरबन्दी खुला गरिएको छ। एसएलसी पासले त्यसमा भिड्न पाउनेछन्। केन्द्रमा आवेदनका लागि ३० दिनको म्याद खुला गरिएको छ।