सिप्रदीका ‘योङ्गेष्ट जिएम’ प्रविण, १३ बर्षमा १२ बढुवा, जसलाई डेपुटी जोडिने पदमा बस्न परेन

प्रभात भट्टराई/बिजमाण्डू
२०७३ भदौ ३० गते १०:२७ | Sep 15, 2016
सिप्रदीका ‘योङ्गेष्ट जिएम’ प्रविण, १३ बर्षमा १२ बढुवा, जसलाई डेपुटी जोडिने पदमा बस्न परेन
काठमाडौं। १२ बर्ष अघि, जति बेला काठमाडौँबाट दक्षिणकाली, सिस्नेरी हुँदै हेटौँडा जाने बाटो खुलेको त थियो तर निजी गाडी मात्र गुड्थे। बीचमा कुलेखानी जलविद्युत आयोजना पर्ने हुँदा त्यो बाटो भएर गुड्नेले नेपाल विद्युत प्राधिकरणबाट अनुमति लिनु पर्थ्यो।
 
प्रविण खतिवडाले विरगञ्जस्थित सिप्रदी कार्यालयमा भर्खरै जागिर पाएका थिए। स्थानिय ठाकुरराम बहुमुखी क्याम्पसबाट व्यवस्थापनमा स्नातकोत्तर सकेपछि जुनियर असिष्टेन्टका रुपमा उनी सिप्रदी छिरेका थिए। 

Tata
GBIME
Nepal Life


उनको जिम्मेवारी थियो प्यासेन्जरमा भेहिकल सेग्मेन्टका कार एवं जिप बिक्री गर्नु। जुन नेपालमा मात्र होइन भारतमा समेत त्यतिवेला टाटाको सबैभन्दा मुस्किलको व्यापार थियो।
 
टाटाले बस र ट्रकको बजारमा एकछत्र राज गरेपनि प्यासेन्जर कारमा धेरै छनौट थिएनन्। प्यासेन्जर भेहिकल सेग्मेन्टमा इन्डिका र सुमो स्पेसियो गोल्ड गरि दुई मोडल थिए। तर बिक्री खास उत्साहजनक थिएन। 
 
त्यसैले प्रविणले सिप्रदी जोइन गर्दा प्यासेन्जर भेहिकलमा जम्मा सात जनाको टीम थियो। इन्डिका र सुमो गरि बार्षिक १५० वटा गाडी बिक्री गर्न मुस्किल थियो। सिप्रदी भित्रै पनि प्यासेन्जर कारलाई घाटा खाने सेग्मेन्टको रुपमा बुझिन्थ्यो। 
 
सुरु सुरुमा त उनलाई पनि 'बस ट्रकपट्टि लागेको भए राम्रै हुने रहेछ भन्ने लाग्यो।  फेरी उनलाई लाग्यो, 'सजिलो काम त जसले पनि गरिहाल्छ, परीक्षा त कठिन विषय र काममा नै दिनुपर्छ।
 
प्रविणको दिमागमा एउटा आइडिया फुर्यो, हेटौँडाबाट यात्रुलाई सेवा दिने गरि भिमफेदी, सिस्नेरी, दक्षिणकाली हुँदै सुमो चलाउने। हेटौँडाका व्यवसायीलाई कन्भिन्स गरेर त्यो रुटमा सुमो हाल्न लगाउन उनी कस्सिए ।
 
वीरगञ्जबाट बिहान सात बजे हेटौँडा हिँडेर बेलुकी अवेरसम्म त्यहाँका यातायात व्यवसायीलाई हेटौँडा-काठमाडौं सुमो चलाउन कन्भिन्स गर्न थाले। कुलेखानीमा आफैं गए 'हामी यो बाटोमा सुमो चलाउन चाहन्छौँ' भन्दै। कुलेखानीका कर्मचारी पनि स्थानीय राहत पाउँछन भन्दै त्यसको स्वागत गरे।
 
त्यति गर्दा पनि उनले व्यवसायीक दृष्टिले सुमो चलाउँछु भन्ने फेला पार्न सकेका थिएनन्। यत्तिकैमा एक दिन हेटौडाका फास्ट फर्वाड व्यापारी किरण कट्वाललाई प्रस्ताव गरे। ट्रक व्यवसायी कटवाल हिम्मतिला व्यवसायी थिए, नयाँ काम गर्न रमाइलो मान्थे। सिप्रदीमा एकै पटकमा १५/२० वटासम्म ट्रक बुक गर्थे उनी। 


प्रविणको प्रस्ताव पछि उनले आफैले सुमो स्पेसियो गोल्ड चलाएर हेर्ने निर्णय गरे। तीन हजार सिसीको यो गाडीको पिकअप साँच्चै राम्रो थियो। प्रवीण र कटवाल हेटौडाबाट कुलेखानीको बाटो भएर टेष्ट ड्राइभमा काठमाडौं आए। कटवाललाई प्रवीणको प्रस्ताव मन पर्यो। उनले भने तर, तत्काल पैसा छैन मलाई गाडी त उधारो चाहिन्छ। 
 
गाडी नविकेर आजित प्रविणले तीन महिनाका लागि उधारो दिने प्रस्ताव गरे। किरणले पहिलो महिनानै एउटा गाडीबाट एक लाख तीस हजार र अर्कोबाट एक लाख १० हजार कमाए। पहिलेको तुलनामा छिटो काठमाडौँ पुग्ने, बस्न सजिलो र थोरै जनाले भरिने भएपछि सुमो चढ्नेको ताँती नै लाग्यो। त्यसपछि कमाईको हल्ला। दोस्रो महिना प्रवीणले २२ वटा सुमो बुकिङ लिए। 
 
वास्तवमा यी दुई सुमोको बिक्री टाटाको प्यासेन्ज भेहिकल र प्रविणको करियर दुबैमा साँच्चिकै टर्निङ पोइन्ट बन्न पुग्यो। त्यसयता प्रविणले आफ्नो जिन्दगीमा व्याक गियर लगाउनु परेको छैन्, सुमोले सिप्रदीको प्यासेन्जर भेहिकल युनिटलाई मुनाफाको बाटो देखाएको छ। 
 
सुमो अहिले आफ्नो सेग्मेन्टमा सबैभन्दा धेरै बिक्री भएको प्यासेन्जर गाडी बन्न पुगेको छ। टाटा मोटर्सले आधिकारीक सर्भे पश्चात यो घोषणा गरेको हो। देशभर अहिले सात हजार सुमो बिक्री भइसकेको प्रविण सुनाउँछन्।
 
कम्पनी र आफु दुबैको फड्को
जसरी सुमोले फड्को मार्यो त्यसरि नै प्रविण पनि ३७ बर्षको युवा उमेरमा सिप्रदीको महाप्रबन्धक बन्न पुगेका छन्। १३ बर्ष अघि सन् २००३ मा जुनियर असिष्टेन्टबाट छिरेका उनी अहिले बार्षिक ३५ अर्बको कारोबार गर्ने सिप्रदीको एक हिस्सा बनेका छन्। उनको तत्कालको जिम्मेवारी प्यासेन्जर भेहिकलको बजार हिस्सा थप सबल बनाउँदै लैजानु हो।
 
हेटौँडा बल्खु रुटमा चल्न थाले पछि सुमो बुकिङ मासिक २५/३० वटा सामान्य हुन थाल्यो। अहिले त्यो संख्या महिनाको एक सय ५० भन्दा बढी पुगेको छ। देशमा कुनै सडक छैन जहाँ टाटा सुमो नगुडेको होस्। बिपी राजमार्गमा मात्र आठ सय वटा सुमो गुड्छन्। 
 
सुमो र आफ्नो दुबै सफलताको पछाडीको मुख्य कारण सिप्रदीको स्वतन्त्रता पूर्वक कर्मचारीलाई काम गर्न दिने वातावरणलाई देख्छन् उनी। नौ बर्ष अघि वीरगञ्जबाट काठमाडौँ बोलाएर सिप्रदीले प्यासेन्जर भेहिकल बिक्रीका लागि उनलाई टिम बनाउन स्वतन्त्र छाडिदियो। 


यसको जस उनी कम्पनीका तात्कालिन सिइओ शम्भु दाहाललाई दिन्छन्। उनले देशका बिभिन्नमा भेगमा राम्रो 'पर्फर्मेन्स' गरि रहेका स्टाफलाई आफ्नो टिममा राखे। दृढता पुर्वक अघि बढे। नभन्दै तीन बर्ष भित्र प्यासेन्जर कार सेग्मेन्ट नाफामा गयो।  
 
यो १३ बर्षमा प्रविणले १२ पटक बढुवा खाए। तीन पटक त डबल बढुवा भए। भर्खरै जनरल म्यानेजर हुँदा समेत उनको एकै पटक दुई तह माथि बढुवा भएको हो। यस अघि उनी सिनियर म्यानेजर थिए। एसिष्टेन्ट र डेपुटी जनरल म्यानेजर नभइ उनी सिधै फड्किएर जिएम बनेका हुन्। यसपटक मात्र होइन, संयोग नै कस्तो छ भने सिप्रदीमा उनको नाम अघि अहिलेसम्म डेपुटी जोडिएको छैन। 
 
वीरगञ्जमा सरकारी स्कुलबाट एसएलसी र सरकारी क्यापस नै पढेर आएका अहिले उनी सिप्रदीमा सबै भन्दा कान्छो उमेरको महाप्रबन्धक भएका छन्। कम्पनीले काम गरे अनुसारको प्रतिफल पनि दिने उनी सुनाउँछन्। 
 
अब युवा रोगजारीका लागि पहल
नेतृत्वकर्ता पदमा पुगेसँगै अब उनले टाटा सुमोलाई आम युवाको रोजगारीसँग जोड्ने उपाय पनि सुरु गरेका छन्। 'सुमो स्वरोजगार योजना' नाम दिएको उक्त कार्यक्रम देशका ग्रामिण भेगसम्म पुर्याएर युवालाई स्वदेशमा काम गर्न प्रेरित गर्ने उनको लक्ष्य छ।
 
कार्यक्रम अनुसार हाट लागेको दिन कुनै ग्रामिण बजारमा टाटाको ट्रक पुग्छ। ट्रकको बडीको रुपमा रहेको चार तिरको बार खोलिदिएपछि त्यहाँ स्टेज बन्छ। जहाँ हास्य कलाकार जितु नेपाल लगायतका कलाकारले प्रस्तुति दिन्छन्। कार्यक्रमको मूल ध्येय विदेश जाने युवालाई स्वदेशमै बस्न आग्रह गर्नु रहेको छ। त्यसका लागि सुमोले रोजगारी दिने आश्वस्त पारिन्छ।
 
कम्पनीले सुमो किन्दा फाइनान्सिङलाई सघाउँछ। किस्ता तिर्दा समेत मासिक ८० हजारदेखि एक लाख रुपैयाँसम्म आय हुने उपाय बताइदिन्छ। रुट पर्मिट दिलाउन देखि ड्राइभिङ लाइसेन्सका लागि आफ्नै स्कुलमा कम्पनीले नै पढाइदिने वचन दिन्छ। 
 
अहिलेसम्म ओखलढुङ्गाको पातले लगायत तीन ठाउँमा यस्तो कार्यक्रम भइ सकेको छ। त्यो कार्यक्रमको प्रभाव स्वरुप १० बटा सुमो बुक भएको प्रविण सुनाउँछन्। 
 
कार्यक्रमको असर गाउँमात्र होइन विदेशसम्म पुगेको छ। विदेशमा काम गरिरहेका युवाले त्यतैबाट फोन गरेर समेत यो कार्यक्रमको बारेमा चासो राखेको उनले बताए। नेपालमा भएका परिवारले सुमो स्वरोजगारको योजना सुनाएपछि उनीहरुले उत्साहित भएर फोन गरेका हुन्। त्यहि भएर अब धेरै नेपाली रहेका दोहा, अवुधावी लगायत स्थानमा समेत यो कार्यक्रम लिएर जाने र सकेसम्म देशभित्र युवालाई आत्म निर्भर बनाउन लागि गर्ने उनी सुनाउँछन्।
 
नयाँ क्लिकको खोजी
१२ बर्ष अघि हेटौँडा बल्खु सडकमा दुई वटा सुमो हालेर आफ्नो र कम्पनी दुबैको लाइफमा क्लिक गरे जस्तै अहिले उनी नयाँ मौकाको खोजिमा छन्। त्यो हो टाटाले पछिल्लो समय उत्पादन गरेका सेडान र ह्याचब्याक सेग्मेन्टका कारको बजार विस्तार। 
 
त्यसैको एउटा प्रयास स्वरुप अहिले जेम्स स्कुलमा टाटाको टेष्ट ड्राइभ चलि रहेको छ। जहाँ कोही आएर टेष्ट ड्राइभ गरेमा सिप्रदीले प्रति व्यक्ति पाँच सय रुपैयाँ कुनै ग्रामिण स्कुलको सहयोगका लागि प्रदान गर्छ। 
 
यो कार्यक्रम गर्नुका पछाडी मुलत दुईवटा उद्येश्य छन्। एक ग्रामिण क्षेत्रका बालबालीकाको शिक्षामा सघाउनु। अर्को चाहिँ टाटाको प्यासेन्जर कार प्रतिको भ्रम हटाउनु। बस र ट्रक लोकप्रिय भए पनि प्यासेन्जर कारमा टाटालाई जम्न अझै मुस्किल परि रहेको छ। टाटाको कार पनि राम्रो छ भनेर आफ्नो भ्रम तोडुन् भनेर कार्यक्रम सुरु गरेको उनी बताउँछन्। 
 
'टेष्ट ड्राइभ गरेर कार किनीहालुन् भन्ने चाहना हाम्रो होइन, उनी भन्छन्- एक गाउँका बालबालीकालाई पढ्न सजिलो होस् र अर्को टाटाको प्यासेन्जर सेग्मेन्टका गाडीका विषयमा जुन सोंच छ त्यो हटाउने प्रयास हो, उनले भने।' टेष्ट ड्राइभ तीन महिना चल्ने जानकारी उनले दिए। 
 
टाटाले पछिल्लो समय ल्याएको जेष्ट, बोल्ट र टियागोलाई अहिले प्रवर्धन गर्दै आएको छ। यी कारले बिस्तारै बजार पनि लिन थालेको उनी सुनाउँछन्। अहिले मासिक एक सय वटा कार बिक्री हुन थालेको उनी बताउँछन्। 
 
'त्यसमा ६० प्रतिशत सेल्स राजधानी बाहिर रहेको छ, उनी भन्छन् -हालै मात्र नारायणगढमा १९ र धरानमा २२ वटा बुक भएका छन्।' शहरमा भन्दा हाइवेमा डिजेल कार बढी मन पराउने उनको अनुभव छ। राजधानी बाहिरको मागलाई सम्मान गर्दै देशभर १८ वटा सर्भिस सेन्टर बनाएको उनी बताउँछन्। 
देशको जुन भेगमा पुग्दा पनि मर्मत गर्न पाउने सुविधाका कारण पनि टाटाका प्यासेन्जर कारको बजार क्लिक हुने चरणमा नै रहेको उनको विश्वास छ। नयाँ आउन लागेको मोडल नेक्सनले यसलाई नयाँ उचाइ दिनेमा उनी ढुक्क छन्।