घुम्ति कर शिविरबाटै उठ्यो २२ लाख रुपैयाँ राजस्व, आठ सय ८५ जना साना व्यवसायीले तिरे कर

बिजमाण्डू
२०७३ भदौ १३ गते ००:०० | Aug 29, 2016

म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा सञ्चालन भएको दुई दिने घुम्ती शिविरबाट २२ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ।
 
म्याग्दी उद्योग वाणिज्य सङ्घ र आन्तरिक राजस्व कार्यालय पोखराको संयुक्त आयोजनामा सदरमुकाम बेनीमा शनिबार र आइतबार सञ्चालन भएको घुम्ती शिविरमा २२ लाख छ हजार राजस्व सङ्कलन भएको हो।
 
शिविरमा वार्षिक २० लाखभन्दा कम व्यवसाय गर्ने म्याग्दीका साना व्यवसायीले कर तिरेको म्याग्दी उद्योग वाणिज्य सङ्घले जनाएको छ। शिविरबाट म्याग्दीका बेनीबजार, गलेश्वर, तातोपानी र दरबाङ क्षेत्र र पर्वतको पारीबेनी माझफाँटलगायतका व्यवसायी लाभाविन्त भएका छन्।
 
दुई हजार १०० साना व्यवसायी आबद्ध रहेको सङ्घमा ८८५ व्यवसायीले शिविरका क्रममा कर तिरेको म्याग्दी उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए।
 
थोरै राजस्व तिर्न पोखरा जानु पर्दा दोब्बर खर्च हुने भएपछि राजस्व कार्यालय र म्याग्दी उद्योग वाणिज्य सङ्घबीचको सहकार्यमा हरेक वर्ष कर शिविर सञ्चालन हुँदै आएको छ। रासस

Tata
GBIME
Nepal Life