सिप्रदीमा राजनबाबुको टेक्निकल म्यानेजरदेखि सिईओको यात्रा, कसरी फेरिंदैछ देशकै ठूलो अटो कम्पनी

बिजमाण्डू
२०७३ भदौ १३ गते ००:०० | Aug 29, 2016
सिप्रदीमा राजनबाबुको टेक्निकल म्यानेजरदेखि सिईओको यात्रा, कसरी फेरिंदैछ देशकै ठूलो अटो कम्पनी


काठमाडौं। वार्षिक ३५ अर्ब रुपैयाँभन्दा बढीको कारोवार गर्ने सिप्रदी समूह आयकर तिर्ने कम्पनीको हिसाबमा देशका १५ ठूला कम्पनीमध्ये एक हो। टाटा कम्पनीका कमर्सियलदेखि प्यासेन्जर गाडीसम्म बिक्री गर्ने सिप्रदी समूहमा अटोपार्टसदेखि सेकेन्ड ह्याण्ड गाडी खरीद बिक्री गर्ने कम्पनी आवद्ध छन्।
 
सिईओ राजनबाबु श्रेष्ठ

Tata
GBIME
Nepal Life

त्यसैगरी सिप्रदी समूहले गाडीका लागि फाइनान्सिङदेखि हेभी इक्विपमेन्टसम्म बिक्री गर्छ भने व्याट्रीदेखि सोलार सिस्टमसम्म सिप्रदीमा पाइन्छ। यो सबै कारोवार गर्नका लागि सिप्रदीले १२ सयभन्दा बढी कर्मचारीको टिम खडा गरेको छ।
 
 र यो टिमलाई नेतृत्व दिन आइपुगेका छन्, राजनबाबु श्रेष्ठ। सन् १९९८ मा टेक्निकल म्यानेजरका रुपमा सिप्रदीमा छिरेका श्रेष्ठ यसै महिनादेखि सिईओ शम्भु दाहालको स्थान लिन आइपुगेका हुन्। यो १७ वर्षमा उनले सिप्रदीमा डिजिएम, जिएम, भाइस प्रेसिडेन्ट  हुँदै सिओओबाट सिइओको जिम्मेवारी सम्हाल्दै छन्।
 
श्रेष्ठ सिईओ बनेपछि भाइस प्रेसिडेन्ट पदमा रहेका राजेश गिरी सिओओ बनेका छन्। उनी २००२ मा सिप्रदीमा प्रवेश गरेका थिए। त्यसैगरी सिप्रदीको भाइस प्रेसिडेन्टमा सौरभराज थपलिया पुगेका छन्।

 
भाइस प्रेसिडेन्ट पदबाट सिओओ बनेका राजेश गिरी

श्रेष्ठ सिईओ बनेपछि उनीसँग सिप्रदीको १७ वर्षे अनुभव र भविष्यका चुनौतीका विषयमा बिजमाण्डूका विज्ञान अधिकारीले प्रश्न गरे।
 
फोकस ह्युमन रिसोर्समा
सिप्रदी पहिलेदेखि नै सिस्टममा चल्ने कम्पनी हो। जसरी सिप्रदी सिस्टममा चल्छ, त्यसरी चल्ने नेपालका एक/दुई वटा कम्पनी मात्रै होलान्। तर पनि हामीले अझ धेरै गर्नुपर्ने छ। हाम्रो फोकस अब फेरी पनि सिस्टमलाई सुधार गर्नेमै रहन्छ। 
 
कम्पनीको आ-आफ्नो रणनीति हुन्छ। हामीले सुरुदेखि नै दुई वटा कुरामा फोकस गर्यौं। प्रडक्टमा हामीले कहिले पनि कम्प्रोमाइज गरेनौं। हामीले नेपालमा बेस्ट प्रडक्टहरु मात्रै ल्यायौं। र दोस्रो फोकस गरेको विषय हो, ह्युमन रिसोर्स।
 
हामीले ह्युमन रिसोर्सलाई कसरी डेभलप गर्ने? त्यसमा ध्यान दियौं। अन्तिममा जति राम्रो प्रडक्ट भए पनि टीम राम्रो नभएसम्म हामीले परिणाम दिन सक्दैनौं।
 
सायद नेपालमा केही कम्पनी होला जसले कम्पिटेन्सीमार्फत स्टाफ हायर गर्छ। र टेक्नीकल म्यानपावर स्किल म्यापिङबाट लिन्छ। हामीले लिएको मान्छेमा के-के ग्याप छ। उसले गर्नुपर्ने जुन काम हो? त्यसका लागि के के क्षमता चाहिन्छ?
 
म्यानपावर हायर गरे पछि हामी उसलाई डेभलप गर्न थाल्छौं। उसलाई तालिम दिएर हुन्छ, उसलाई शिक्षा दिएर हुन्छ वा एक्सपोजर दिएर हुन्छ। अन द जब ट्रेनिङमा पठाएर हुन्छ  भने पनि त्यो काम हामी गर्छौं।
 
सिस्टममा चल्ने सिप्रदी
कम्पनी सिस्टम चल्नासाथ धेरै कुरा आफै चल्दै जान्छ। अहिले हाम्रो धेरै ठूलो नेटवर्क तयार भैसकेको छ। सिस्टमका कारण नेटवर्क कन्ट्रोल गर्न मात्रै होइन, त्यसलाई सञ्चालन गर्न पनि सजिलो छ। सिस्टमको सबैभन्दा स्ट्रेन्थ भनेको कन्ट्रोल र मोनिटर हो। यसले डिसिजन मेकिङ पनि छिट्टोभन्दा छिट्टो हुन्छ। किनभने अहिलेको समयमा हामी आजको भोली गरौंला भनेर कम्प्रोमाइज गर्न सक्ने अवस्थामा नै छैनौं। 
 
र यो सबै केका लागि भन्दा उपभोक्ताका लागि। त्यसमा पनि विशेष गरेर दुईवटा चिज छन्। एउटा त प्रडक्ट सेलिङ भयो दोस्रो हो कस्टमर केयर। टाटा गाडीको हाम्रो अहिले नेपालभरि जति पनि नेटवर्क छ, त्यसमा कहिं जाँदा तपाईंले कुनै सामान पाउनु भएन् भने त्यो सिस्टमले हामीलाई भन्छ, त्यो सामान कुन ठाउँमा छ र त्यसलाई कसरी मुभ गराउन सकिन्छ। सिस्टमले हेल्प गरिरहेको हुन्छ। 
 
इन्डष्ट्रिमा हामी वान अफ दि वेष्ट छौं, किनभने हामीसँग सिस्टम छ, हुयुमन रिसोर्स छ र स्किल छ।
 

ह्युमन रिसोर्स हाम्रो कल्चर
सिप्रदीले पहिलेदेखि नै ह्युमन रिसोर्समा ध्यान दिन्थ्यो। यो सिप्रदीको पहिलेदेखिको कल्चर हो। जब मैले १९९९ मा टेक्निकल म्यानेजरमा ज्वाइन गरें। त्यति बेला पनि कम्पनीले म्यानपावरलाई कसरी डेभलप गरेर जाने भन्नेमा फोकस गरेको थियो। कम्पनीले जब जब मलाई मेरा कमजोरी सुधार गर्नका लागि इन्पुटहरु दियो, त्यसपछि मेरो परफर्मेन्स पनि राम्रो हुँदै गयो। 
 
सुरु देखि नै टप म्यानेजमेन्टको भिजन के हुन्थ्यो, भने हामी दक्ष जनशक्ति विकास गरेर जानुपर्छ, ताकि समयसँगै सबै चल्न सकोस। जस्तो सुकै समस्यालाई पनि समाधान गर्ने जनशक्ति हामीसँग हुनुपर्छ भन्ने थियो। त्यो कल्चरले गर्दा हाम्रो ग्रोथ त भयो नै कम्पनीको ग्रोथ पनि राम्रो भयो।
 
सुरुमा मैले कस्टमर केयर मात्रै हेर्थें। पछि सर्भिस र स्पेयर्स पार्टस पनि हेरें। डिजिएम बनें जिएम बनें भाइस प्रेसिडेन्ट बनें। जति जिम्मेवारी थपिंदै गयो मलाई इनपुट पनि त्यही अनुसार थपिंदै गयो।  हाम्रो इन्टरनल काउन्सिलिङ मात्रै होइन, तालिमको जरुरी भयो भने बाहिर पनि पठाउँछौं। म आफै अहमदावादमा गएँ र कोर्ष गरे‌, त्यसले गर्दा म्यानेजमेन्टमा निखार आयो। सफलताका लागि एउटा प्ल्याटफर्म तयार भयो। त्यसपछि सिओओ बनें। अहिले १७ वर्ष पूरा भयो। सिईओको जिम्मेवारीमा छु। 
 
ठूलो करदातासम्म
धेरै कम्पनीहरु म्यानपावरमा खर्च गर्न डराउँछन्। के हुन्छ भने मैले कर्मचारीलाई इनपुट दिएँ र भोली उसले छाडेर गयो भने के? तर हाम्रो बुझाई फरक छ, उसको स्किल नबढाएसम्म प्रडक्टिभिटी बढ्दैन्। प्रडक्टिभिटी बढ्नासाथ ग्रो हुने भनेको कम्पनी हो। सिप्रदी आज देशको सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीहरुमध्ये एक हो। कारण हाम्रो प्रडक्टिभिटी अरुभन्दा धेरै राम्रो छ।
 
हामीले ह्युमन रिसोर्स त तयार गरौंला तर अरु कम्पनीले मान्छे ताने भने के गर्ने भन्ने सोंच अरु कम्पनीमा छ। तर सबैभन्दा ठूलो कुरा हामीले हाम्रा कर्मचारीलाई काम गर्ने कस्तो वातावरण दिइरहेका छौं भन्ने हो। यदि कर्मचारीले काम गर्ने राम्रो वातावरण पाए भने त्यसै पनि रिटेन्सन हुन्छ। सिप्रदीमा कर्मचारी बाहिर जाने सम्भावना कम हुन्छ। जानै परे बाहिर फ्युचर स्टडिजका लागि अवसर पाएपछि जानेहरु छन्। नभए नेपाल भित्रै हामीकहाँबाट कम्पिटिसनमा जाने एकदमै कम छ। 
 

प्रविधिमा आएको परिवर्तन

वितेको १७ वर्षमा आएको सबैभन्दा ठूलो परिवर्तन हो सूचना प्रविधिमा आएको परिवर्तन। जब मैले सिप्रदीमा ज्वाइन गरें, धेरै काम म्यानुअल हुन्थ्यो। सिस्टम पनि म्यानुअल मै चलाउनु पर्दथ्यो।
 
त्यसपछि सिप्रदीले प्रविधिमा पनि लगानी गर्न थाल्यो। त्यो बेलामा आइटिसीको सूर्य नेपाल लगायत एक वा दुई कम्पनी मात्रै थियो होला जसले आइटी सिस्टममा काम गर्थे। फ्युचर यही हो भन्ने भएपछि सिप्रदीले पनि प्रविधिमा लगानी गर्न थाल्यो। त्यसपछि हामीले फक्स प्रोको आइटी सोलुसन चलाउन थाल्यौं।
 
त्यतिवेला डाटा ट्रान्सफर मेकानिज्म धेरै कठिन थियो र धेरै महँगो पनि थियो। त्यसलाई व्याकअप गर्न हामी फ्लपी, डिस्क चलाउँथ्यौं। सानो कम्पनी थियो, म्यानेज भएको थियो। पछि त्यो सिस्टममा डाटा म्यानेज गर्न नसक्ने भएपछि हामीले ओराकल सिस्टम लागू गर्यौं। त्यसमा पनि हामीले धेरै इम्प्रुभ गर्यौं।
 
डाटा म्यानेज भएपछि सिस्टम कन्ट्रोल र मनिटरिङ सजिलो हुन्छ। अहिले हामी माइक्रोसफ्ट डाइनामिक प्याकेज को न्याभिज्म सिस्टम प्रयोग गरिरहेका छौं। अहिले त सबै चिज अनलाईन भैसकेको छ। अहिले त डाटा सेयरदेखि लिएर धेरै काम सजिलै गर्न सकिन्छ। त्यसले डिसिजन मेकिङसम्म सजिलो हुन् थालेको छ।
 
अल्टिमेट्ली टिम हो
जुनै पनि कम्पनीमा फ्रन्टलाइनर वा ब्याकलाइनर हुन्छन्। व्याकलाइनरले आफूलाई अलि तल जस्तो सम्झिने। फ्रन्टलाइनरले आफूलाई अलि माथि सम्झने। तर कम्पनीका लागि त दुवैको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ। सिप्रदीमा हामीले त्यो सोंचाईमा परिवर्तन गराउँदै ल्यायौं। अल्टिमेट्ली टिम हो। टिम नमिलेसम्म काम अघि बढ्न सक्दैन्। 
 
अझ धेरै चुनौती छन्
अहिले प्रतिस्पर्धा धेरै नै छ। हाम्रो मूख्य ध्यान भनेको ग्राहकको कसरी विश्वास जित्ने र उनीहरुलाई लामो समयसँग आफूसँगै असोसिएट राखि राख्ने भन्ने हो। हाम्रो मेजर फोकस ग्राहकलाई हामीले सेवामा के-के भ्यालु एड गरेर दिन्छौं भन्ने हो।
 
हामीले ग्राहकलाई तीन तरिकाबाट सन्तुष्ट पार्न खोज्छौं। पहिलो हो, उनीहरुलाई सेवा वा वस्तु बिक्री गर्नुभन्दा अघि कसरी गजबको अनुभव दिने भन्ने। अर्को हो सेल्सका बेला र तेस्रो हो सेवा वा वस्तु बिक्री गरेपछि कसरी राम्रो अनुभव दिने।
 
तीन पटक ग्राहकलाई हाम्रो सेवा सम्झनायोग्य होस भनेर हामीले काम गरिरहेका हुन्छौं। त्यहीअनुसार हामीले हाम्रो टिम विकास गरिरहेका छौं। सिस्टम र प्रोसेस त्यहीअनुसार बनाइरहेका छौं र कस्टमर केयरका लागि काम गरिरहेका छौं।
 
सिप्रदीको नेटवर्क विस्तार
हामीले अर्को सबैभन्दा बढी फोकस गरेको विषय हो, नेटवर्क एक्सपान्सन। पहिलेदेखि नै हामीले यसमा धेरै ठूलो लगानी गरिरहेका छौं। सञ्जाल विस्तारले निरन्तरता पाउँछ। यो वर्ष पनि हामीले नयाँ धेरै वर्कशपहरु लिएर आउँदै छौं। 
 
भएको वर्कशपको क्यापासिटी स्केलअप पनि गर्दैछौं। त्यसपछि जुन एरियामा हामी पुग्न सकेका छैनौ‌। त्यहाँ हाम्रो रिच बढाउँछौं। हामीले अहिले विर्तामोडमा वर्कशप बनाउँदै छौं। हेटौडा, दाङ, सुर्खेत, धनगढीको वर्कशपको क्षमता बढाउँदै छौं। ताकि उपभोक्ताले हामीसँग भएको प्रडक्टलाई ढुक्कसँग विश्वास गरेर प्रयोग गर्न सकुन। उनीहरुलाई कुनै पनि समस्या नहोस्। 
 
इन्डष्ट्रिभन्दा हाम्रो ग्रो बढी हुनुपर्छ
देशको विकाससँगै अटोको पनि डिमान्ड बढ्दै जान्छ। हाम्रो देश योभन्दा पछि जाने सम्भावना नै छैन्। अब त अघि नै जाने हो। देश अघि जानुको अर्थ हो, अटो पनि अघि बढ्नै पर्छ। पूर्वाधार विकाससँगै हेभी मात्रै होइन्, कमर्सियल र प्यासेन्जर कारको पनि बजार बढ्छ। बजार बढ्दै जान्छ।
हामी जस्ता कम्पनीको बजार इन्ड्रष्ट्री ग्रोको हाराहारीमा बढेर मात्रै पुग्दैन्। र हामी त्यसमा मात्रै सन्तुष्ट हुनु पनि हुँदैन्। त्यसका लागि हामी गियरअप हुनुपर्ने छ। हामी कसरी अघि जाने भनेर धेरै प्लान पनि बनिरहेको छ। ताकि इन्डष्ट्रि ग्रोथभन्दा हामीले बढी ग्रो गर्न सकौं।
 

फोकसमा प्यासेन्जर भेहिकल

जबदेखि टाटाले होरिजन नेक्स्ट लञ्च गर्यौं, त्यसपछि हाम्रो बजार विस्तार हुँदै गएको छ। होरिजन नेक्स्ट अन्तर्गत जेष्ट हामीले नेपालमा लञ्च गर्यौं। त्यसले हाम्रो एक्सेप्टेन्स राम्रो भएको छ। त्यसपछि हामीले बोल्ट ल्यायौं। त्यसबाट पनि सबै ग्राहक खुशी छन्।
 
सर्भिसबाट हामीले सपोर्ट गरिरहेका छौं। कस्टमरको लोयल्टी बढ्दै गैरहेको छ। हाम्रो प्यासेन्जर कार अन्तर्गत टियागो ल्याएका छौं। भारतमा यसले राम्रो फिडव्याक आएको छ। नेपालमा पनि हामीले राम्रै फिडव्याक पाउँछौं भन्ने आत्मविश्वास छ।
 
टियागो टाटाको होरिजन नेक्स्टपछि आएको इम्प्याक्ट नेक्स्टको प्रडक्ट हो। हामी चाँडै नै प्यासेन्जर कारमा स्ट्रङ्ग बजार बनाएर जान्छौं। टाटाले आफ्नो क्लासमा जुन किसिमको फिचर दिन्छ, त्यसबाट जुन परफर्मेन्स आउँछ। त्यसलाई हामीले सर्भिसबाट व्याकअप गरेपछि परिणाम पक्कै राम्रो देखिन्छ। त्यसैले भोलीको दिन हामीले उज्यालो देखिरहेका छौं।
 
अटोसँगै इनर्जी पनि 
सिप्रदी इनर्जी खोल्दा यो पूरै पावरको व्याकअप प्लान दिने उद्देश्यले मात्रै खोलिएको थियो। एउटा त हामीले अटोमोटिभमा प्रयोग गर्ने र अर्को विद्युतका लागि व्याकअपका रुपमा प्रयोग गर्ने। त्यसपछि हामीले यो दुई वटा लाइनलाई छुट्याएर काम थाल्यौं। हामीले व्याकअप ट्युवलर व्याट्री ल्यायौं। लोडसेडिङ बढ्दै गएपछि त्यसको विकल्प के भन्ने भयो। त्यसपछि हामीले सोलार सिस्टममा हात हाल्यौं। सोलार सिस्टमलाई सरकारले पनि प्रवर्द्धन गर्न थाल्यो। यसले बजार पनि बढायो। 
 
सोलार सिस्टममा तीन वटा चिज छन्। एउटा रुरल मार्केट जुन सब्सिडी बेस्ड छ। हामीले त्यहाँ च्यानलहरु तयार गरेका छौं, त्यो च्यानलमार्फत बिक्री वितरण गरेका छौं। सहरमा पनि माग बढेर गएको छ। सानो सिस्टम हामीले च्यानल पाटर्नरबाटै आपूर्ति गर्छौं।
 
त्यसमा सबैभन्दा ठूलो च्यालेन्ज म्यानपावर हो। जति म्यानपावर छ। त्यो डिमान्ड मिट गर्दैन। सानो सिस्टम हामीले च्यानल मार्फत बिक्री गरिरहेका छौं। सानोका लागि पनि हामीले तालिम दिइरहेका छौं। 
 
पाँच किलोवाट भन्दा ठूलो सिस्टममा हामी आफैले काम गरिरहेका छौं। त्यसैगरी संस्थागत रुपमा राखिने सोलार सिस्टम पनि हामीले नै आपूर्ति गरिरहेका छौं। सोलार प्लान्टमा सरकारको दुई वर्षमा दुई सय मेगावाट विद्युत उत्पादन गर्ने महत्वाकांक्षी प्लान छ। सोलारबाट उत्पादन भएको विद्युत ग्रीडमा लैजान अलि बढी होमवर्क गर्नुपर्ने छ। यो जति छिट्टै ग्रिडमा गयो देशलाई त्यति राम्रो हुन्छ। त्यसैगरी शहरी क्षेत्रमा घरको छतबाट उत्पादन गरेको सोलार विद्युत पनि ग्रीडमा पुर्याउनुपर्छ। सरकारले त्यसका लागि नेट मिटरिङमा काम गरिरहेको छ। यहाँ पनि हामीले सम्भावना हेरिरहेका छौं।
 
टेक्निकल टिममा लगानी
हामीले अहिले सबैभन्दा बढी फोकस प्राविधिक म्यानपावरमा छ। र हामीले त्यो प्राविधिक म्यानपावर पनि तयार गरिरहेका छौं। अटो र सोलार दुई वटै क्षेत्रमा म्यानपावरको ठूलो समस्या छ। हामीले यो वर्ष तीन सय जना इलेक्ट्रिसियन तयार गर्ने लक्ष्यमा काम गरिरहेका छौं। त्यसका लागि हामीले सिटिईभिटीसँग पनि मिलेर काम गरिरहेका छौं।
 
अटोका लागि नैकापमा नेपालमै सबैभन्दा राम्रो तालिम केन्द्र छ। त्यहाँ हामी ट्रान्सपोर्ट, प्रहरी र नेपाली सेनालार्इ ड्राइभिङ स्किलदेखि गाडीको टेक्निकलसम्मको तालिम दिइरहेका छौं। प्रत्येक वर्ष १५ देखि १६ सय जनालाई हामीले यो क्षेत्रमा तालिम दिन्छौं। हाम्रो यसको उद्देश्य टाटाको गाडी जहाँ पनि बन्छ भन्ने देखाउने हो।