अब बढी यात्रु बोके लाइसेन्स निलम्बन र रुट परमिट खारेज हुने, लामो दूरीका लागि २ ड्राइभर अनिवार्य

बिजमाण्डू
२०७३ भदौ १२ गते ००:०० | Aug 28, 2016
अब बढी यात्रु बोके लाइसेन्स निलम्बन र रुट परमिट खारेज हुने, लामो दूरीका लागि २ ड्राइभर अनिवार्य


मनोज सत्याल/बिजमाण्डू
काठमाडौँ । सार्वजनिक सवारी साधनले क्षमताभन्दा बढी यात्रु बोके ६ महिना सवारी चालकको लाइसेन्स निलम्बन गर्ने तथा रुट परमिट खारेज गर्ने प्रस्तावसहित सरकारले नियमावली संशोधन प्रक्रिया अगाडि बढाएको छ।
 
संसदमा एमाले सांसद रविन्द्र अधिकारीले पेश गरेको सडक सुरक्षा सम्बन्धि सार्वजनिक महत्वको प्रस्तावमाथि जवाफ दिने क्रममा भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखकले नियमावली परिमार्जनको मस्यौदा तयार भइसकेको बताए।

'सवारी तथा यातायात नियमावली परिमार्जन गरि सहमतिका लागि कानुन मन्त्रालयमा पठाएका छौँ', उनले भने।

Tata
GBIME
Nepal Life

लेखकले विद्यमान सवारी तथा यायायात व्यवस्था ऐन र सडक सुरक्षा परिषद् सदनमा पेश गर्न समय लाग्ने भएकाले नियमावली संशोधनको मन्त्रालयबाट निर्णय भइसकेको बताए।  

उनले संशोधन प्रस्ताव गरिएको नियमावलीका रुट परमिट खारेजी, लाइसेन्स निलम्बन र खारेजी तथा सवारी इजाजत दर्ता रद्दको व्यवस्था गर्न लागिएको उल्लेख गरे।  

नियमावलीमा मालवाहक गाडीले सवारी साधनले यात्रु बोके ६ महिना लाइसेन्स निलम्बन र रुट परमिट रद्द तथा सवारी दर्ता रद्द, जानाजानी असावधानी अपनाए सँधैका लागि लाइसेन्स खारेजी, पर्यटक बोक्नेले अन्य यात्रु बोके ६ महिना लाइसेन्स निलम्बन गर्न, सार्वजनिक सवारीले रुट इजाजत नभएकोमा चलाए ६ महिना लाइसेन्स निलम्बन गरिने प्रावधान रहेको उनले जानकारी दिए। 

लामो रुटमा दुई चालक नराख्ने तथा ६ /६ घण्टा आलोपालो नगरे बाटो इजाजत खारेजी र ६ महिना लाइसेन्स निलम्बन गर्ने प्रस्ताव गरिएको मन्त्री लेखकले बताए।
 
लेखकले आफूले केही दिन अघि मात्र प्रमुख जिल्ला अधिकारीलाई अस्थायी रुट परमिट दिने अधिकार प्रत्यायोजन गरेको सदनलाइ जानकारी दिए। 

'अस्थायी रुट परमिट जिल्लामा प्रमुख जिल्ला अधिकारीले उपलब्ध गराउने निर्णय भएको छ। सरोकारवाला र जिल्लामा छलफल गरेर दिनेछन्। व्यवसायीले काठमाडौँ र अञ्चल यातायात धाउन पर्दैन', उनले भने।

उनले प्रमुख जिल्ला अधिकारीलाई अधिकार प्रत्यायोजन गर्दा सिण्डिकेटको विषय समेत जिल्लामै सम्बोधन हुने उल्लेख गरे।

मन्त्री लेखकले अब चालक अनुमति लिने तथा नवीकरणका लागि थप चार स्थान तोक्ने तयारी भइरहेको बताए। 'एउटै ठाउँबाट यो सेवा दिँदा गर्दा राति ३ बजेदेखि लाइन बस्नुपर्ने अवस्था रहेछ। एउटा ठाउँबाट सेवा दिनेमा कम्तिमा चार वटा ठाउँबाट सेवाग्राहीले व्यवस्था मिलाउन आवश्यक निर्णय गरिसकेको छ', उनले भने।

भेइकल टेस्टिङ सेन्टर प्रत्येक प्रदेशमा एउटा राख्ने तयारी भइरहेको समेत उनले उल्लेख गरे।