सपथपछि उद्योग मन्त्री जोशीले भने- कृषिमा आधारित उद्योग ब्यवसाय प्रमुख प्राथमिकता

बिजमाण्डू
२०७३ भदौ १० गते ००:०० | Aug 26, 2016
काठमाडौ । नवनियुक्त उद्योगमन्त्री नवीन्द्रराज जोशीले समुदायमा आधारित उद्योगलाई प्राथमिकता दिएर कार्यक्रम तथा नीति तयार गर्ने  बताएका छन् ।

Tata
GBIME
Nepal Life

शपथ लिइसकेपछि मन्त्रालयमा आयोजित पदस्थापन  कार्यक्रममा उनले कर्मचारीलाई निर्देशन दिँदै सार्वजनिक सेवालाई जनमुखी बनाउन जोड दिए ।  भने- जनताले अनुभूति गर्नेगरी सेवा प्रदान गर्नुपर्छ, उनीहरुले पाउने सुविधामा कमी आउनु भएन ।

मन्त्री जोशीले कर्मचारीले अगाडि बढाएका विषयलाई आफूले सहज तुल्याउने उल्लेख गर्दै जिम्मेवार भएर काम गर्न निर्देशन दिए ।

कृषिमा आधारित उद्योग तथा रोजगारी प्रवद्र्धन गर्ने क्षेत्रले विशेष प्राथमिकता पाउनुपर्नेमा जोड दिँदै उनले मन्त्रालयको स्रोत र साधनको अधिकतम प्रयोग गरेर नतिजा निस्कने गरी काम गर्नुपर्नेमा जोड दिए ।

आफूले काठमाडौँ महानगरपालिकाको उपमेयर भएर गरेका सुधारका अनुभव सुनाउँदै मन्त्री जोशीले नयाँ ढाँचाका साथ काम गरेर एक महिनाभित्र मन्त्रालयमा काम भएको छ भन्ने स्पष्ट सन्देश दिन चाहेको बताए ।
 
उद्योग सचिव शङ्करप्रसाद कोइरालाले मुलुकलाई औद्योगिकीकरण नगरेसम्म आर्थिक समृद्धि नहुने धारणा राख्दै त्यसतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए ।

औद्योगिक क्षेत्रमा नियमित विद्युत् अबरुद्ध, पूर्वाधारको अभाव, बजार व्यवस्थापनमा समस्या, कच्चा पदार्थको अभाव एवम् मैत्रीपूर्ण व्यवहार नभएकाले यस क्षेत्रले आकर्षक बन्न नसकेको नवनियुक्त मन्त्री जोशीलाई उनले जानकारी गराए । रासस