नेपाल वायु सेवा निगमले पुनः सुरु गर्यो दुबई उडान, एक वर्षमा एक अर्ब रुपैयाँ कमाउने लक्ष

बिजमाण्डू
२०७३ भदौ ३ गते ००:०० | Aug 19, 2016
नेपाल वायु सेवा निगमले पुनः सुरु गर्यो दुबई उडान, एक वर्षमा एक अर्ब रुपैयाँ कमाउने लक्ष
काठमाडौं । नेपाल वायुसेवा निगमले दुवईको नियमित उडान पुनः सुरु गरेको छ । चार वर्ष अघिदेखि बन्द भएको यो गन्तव्यको उडान निगमले बिहीबार देखि सुरु गरेको हो । चार वर्ष पछि विहीबार राती ११ः३० बजे काठमाडौंबाट दुवईका लागि विमान उडेको हो । 
 
विमानको कमीका कारण दुवई उडान २८ अगष्ट २०१२ देखि बन्द भएको थियो । हाल दुवईका लागि हप्ताको तीन उडान काठमाडौंबाट आइतवार, मंगलबार र बिहीबार हुनेछ र दुवईबाट सोमबार, बुधबार र शुक्रवार हुने निगमले जनाएको छ । 
काठमाडौंबाट राती ११ः३० बजे दुवईका लागि उडने छ र भोलिपल्ट बिहान १०ः३० बजे काठमाडौंमा अवतरण गर्नेछ । उडान अवधि काठमाडांंैबाट दुवई चार घण्टा ४० मिनेट र दुवई काठमाडौं ४ घण्टा १५ मिनेटको हुने निगमले जनाएको छ । 
 
काठमाडौं दुवई काठमाडौं सिधा उडानबाट वैदेशिक रोजगारीमा जाने नेपाली र तेस्रो मुलुकबाट आउने पर्यटकहरुले सहज सुविधा पाउनेछन् । यसले देशको पर्यटन उद्योगमा टेवा पुग्ने विश्वास लिइएको कम्पनीले जनाएको छ । 
निगमले दुवईमा पुन उडान सुरु गरेपछि अन्तर्राष्ट्रिय गन्तव्य ८ वटा पुगेको छ । हाल हङकङ, क्वालालम्पुर, बैंकक, नयाँदिल्ली, बैंगलोर, मुम्वई र दोहामा उडान गरिदै आएको छ । काठमाडौं–दुवई–काठमाडौं सिधा उडानबाट एक वर्षमा ४० हजार पाँच सय २८ यात्रुलाई सेवा दिई करिव एक अर्ब आम्दानी गर्ने लक्ष्य राखिएको छ । 
 
काठमाडौंबाट बिहीबार दुवईका लागि भएको पहिलो उडानमा एक सय ५८ जना यात्रु थिए भने शुक्रबार विहान भएको दुवईबाट काठमाडौं आएको उडानमा एक सय ३७ यात्रु थिए ।
 

Tata
GBIME
Nepal Life