गगन जसले कफिको प्यासनलाई बिजनेश बनाए

बिजमाण्डू
२०७३ साउन ३१ गते ००:०० | Aug 15, 2016
गगन जसले कफिको प्यासनलाई बिजनेश बनाए


  • प्रभात भट्टराई/बिजमाण्डू

काठमाडौं । होटल व्यवस्थापन अध्ययन गर्न अष्ट्रेलिया पुगेका गगन प्रधानको निद्रा काम र पढाइको चेपुवामा पर्यो। निद्राबाट जोगिन मात्रै होइन खाने समय जोगाउन उनले कफी र चक्लेट खान थाले। यही दवावका बीच सुरु गरेको कफी पिउने बानी गगनका लागि प्यासन बन्यो। अहिले यही प्यासनलाई बिजनेशमा परिवर्तन गरे। गगनले सुरु गरेको कफि बिजनेश अर्थात हिमालयन जाभा अहिले काठमाडौंबाट पोखरा पुगेको छ। नेपालबाट भुटानदेखि अमेरिकासम्म विस्तार भएको छ।

Tata
GBIME
Nepal Life

 
छ बर्षको अष्ट्रेलिया बसाइ सकेर नेपाल फर्किने क्रममा गगनको अठोट थियो; सकेसम्म नेपाल पुगेको भोलिपल्टै देखि जागिर खोजेर खाने। त्यसको कारण झन् रोचक थियो। उनीभन्दा अगाडि पढाइ सकेका केही साथीहरु नेपाल आए। केही महिना खाली हात नेपाल बसे र अन्त्यमा यता कुनै अवसर छैन भन्दै अष्ट्रेलिया नै फर्किए।

'साथीहरुलाई देखेर पनि मेरो दिमागमा एउटै कुरा खेलेको थियो' उनी तात्कालिन अनुभूती सुनाउँछन् 'काम जस्तो सुकै होस् मतलव छैन तर नेपाल पुगेपछि खाली हात बस्दिन।' अष्ट्रेलियामा हस्पिटालीटी पढेका उनले त्यही फिल्डमा कतै न कतै अल्झिएपछि नेपालमा यो भएन त्यो भएन भन्ने जस्ता फाल्तु बिचार आउन नपाउने ठानेका थिए।

मनैदेखि चाहेको इच्छा पुग्छ भनेझै उनले नेपाल फिरेको तीन दिनमै पाँच तारे होटलमा काम पाए। अष्ट्रेलियाको तुलनामा कमाइ त धेरै न्यून थियो तर परिवारसँगै रहन र स्वदेशमै पाएको कारण गगन फुरुक्क थिए। तर,  काम थालेको एक सातामा अघाए उनी। मुलुककै अग्रणी मध्येको होटलमा काम पाएका उनले त्यहाँको काम गर्ने शैलीबाट तुरुन्त आजित हुन पुगे। यति ठूलो र टप भनिएको संस्था त यति भद्रगोल चलेको छ भने अरुको हालत झन् कति बिजोग होला भन्ने  उनलाई लाग्यो।

त्यसैले त्यहाँको विकल्प खोजेर अन्यत्र जान पनि मन लागेन। त्यहाँ काम पनि छाडिदिए। नेपालमै केही गर्ने अठोटका साथ स्वदेश फर्किएका उनलाई फेरि अष्ट्रेलियाको टिकट बुक गर्न त झनै मन मानेन। अब उनी नयाँ बाटो पहिल्याउन लागे।
 
वास्तवमा गगन प्रधानको कथा २२ बर्ष अघि सुरु हुन्छ। जब उनी बिद्यार्थी बनेर अष्ट्रेलिया पुग्छन्, त्यहाँ उनी डबल डिग्री गर्दै थिए। घन्टौँ अनवरत मेहनत गर्न पर्ने। सुत्ने र खाने समयको कुनै टुङ्गो थिएन। यो क्रममा उनले त्यहाँ दुई साथी पाए; चकलेट र कफी। चकलेटले तत्काल उर्जा प्रदान गर्थ्यो भने कफीले आलस्य दूर गर्थ्यो।

बाध्यतामा अपनाएको कफी विस्तारै उनको प्यासन बन्न पुग्यो। काम होस् या नहोस् कफीका लागि कुनै बहाना चाहिन छाड्यो। 'सुरुसुरुमा लामो समय काम गर्दाको थकाइ हटाउन खान थालेको कफी विस्तारै गगनको जीवनकै अंग बन्यो।

काठमाडौँ फर्किएर जागिर छोडिसक्दा सम्म पनि उनलाई आफ्नो प्यासन कफी विजनेशमा परिणत होला भन्ने हेक्का थिएन। काठमाडौँमा नयाँ के होला त भनेर धेरै सर्भे गर्ने क्रममा उनको दिमागमा गहिरो घन्टी बज्यो।

काठमाडौँमा फुड एन्ड बेभरेज सम्बन्धी होटल, रेष्टुराँ हुँदै क्याफे र बारसम्म ठूलै भीड बढि सकेको थियो तर भनेजस्तो कफीसप थिएन। त्यो नहुनुका पछि उपभोक्ताको अरुची हो या कसैले कफीसप खोल्नेबारे ध्यानै नपुर्‍याएका हुन् भन्ने जानकारी जुटाउन उनका लागि पहिलो आवश्यकता थियो।  

काठमाडौँमा कफीको संभावनाबारे सातवटा प्रश्न समेटेर उनले ठमेल, पुतलीसडक र कमलादीमा बजार सर्भे गरे।

मान्छेहरुका ढोका ढोका पुगेर करिब साढे दुई सय फर्म भराए। अन्त्यमा नतिजा पल्टाउँदा एकछिन त आफैं आश्चर्यमै परे। 'साँच्चिकै अमेजिङ नतिजा आयो' उनी सुनाउँछन् 'पछि मलाई थाहा भयो धेरैले सर्वेलाई गम्भिर रुपले होइन त्यसै भनि दिनका लागि जवाफ दिएका रहेछन् तर भ्रम नै सहि त्यो क्षणको उत्साहले म भित्र कफिप्रतिको लगाव झन् प्रगाढ बनाइदियो।' त्यहि नतिजाको आधारमा अब कफीसप नै खोल्छु भन्ने निश्कर्षमा उनी पुगे।

अष्ट्रेलियामा होटल म्यानेज्मेन्ट पढे पनि कफी सम्बन्धी उनले खास गहिरो अध्ययन गरेका थिएनन्। त्यसबारे तालीम लिन उनी अमेरिका पुगे। कफीका लागि चाहिने उपकरण र मेसिनहरु बोकेर काठमाडौँ ओर्लिए।

कमलादीस्थित हेरिटेज प्लाजामा सानो सटर लिए र करिब ४० सिट क्षमताको कफीसप हिमालयन जाभा खोले ।
सन् १९९९ मा हिमालयन जाभा ब्रान्डमा पहिलो कफीसप खोलेयता बाग्मतीमा धेरै पानी बगि सकेको छ। हिमालयन जाभाले पनि लाखौँ करोडौं कप कफी बिक्री गरि सकेको छ।


हिमालयन जाभा सुरु गरेपछि गगनले के मात्र गरेनन्। कफीसपमा उनी वेटर,क्यासियरदेखि कफिमेकरसम्म त बने नै हुँदाहुँदा ड्राइभरको जिम्मेवारी समेत निभाउनु पर्‍यो। तर काम जे गर्नु परेको होस् उनले कहिल्यै झर्को मानेनन्। 'आइ परेका हरेक कामसँग म रमाएँ' आफ्ना भोगाइमा नोष्टाल्जिक बनेका गगनले भने 'हरेक चरणमा इन्जोय गर्दै अघि बढ्दा यहाँ आइ पुगियो।'

हुन पनि सुरुवाती दिनमा उनलाई हस्पिटाली बुझेका स्टाफ कहाँबाट लिने भन्नेसम्म पनि थाहा थिएन। एकजना मित्रले होटल म्यानेजमेन्ट पढाइ हुने न्याथम इन्ष्टिच्युट मार्फत कर्मचारी भर्ना गर्न सुझाएपछि त्यहीँबाट पहिलो चरणमा उनले सात जनालाई लिए। सातमध्ये राती कफीसप क्लोजिङ गर्ने तीन स्टाफ राजधानीका फरक फरक गन्तब्यमा बस्ने। त्यसबेला उनको दैनिक बिक्री मुस्किलले १५ सय रुपैयाँ पुग्थ्यो।

राती ११ बजे स्टाफहरुलाई ट्याक्सीमा पठाउँदा दिनभरको कमाइ सकिने। अनि उनी आफैं ड्राइभर बनेर स्टाफहरुलाई घरघर छोड्दै अन्त्यमा निवास पुग्थे। ‘तात्कालिन समयमा सिकाइकालागि त्यो पनि एक स्वर्णीम अवसर थियो' उनी सुनाउँछन् 'दिनभर सबैजना काममा ब्यस्त भइन्थ्यो, कामबारे समीक्षा गर्ने समय पनि हुन्थेन,राती स्टाफसँग घर जाँदा कमजोरी र राम्रा पक्षबारे छलफल गरेर थप सुधार बारे सोचिन्थ्यो।' झन्डै डेढ बर्षसम्म यहि क्रम चल्यो उनको। यो समय उनलाई हिमालयन जाभाको निरन्तरताका लागि सबै भन्दाकठिन क्षण थियो।

सुरुवाती दिनमा २५ प्रतिशत ग्राहक कम्युटर इन्ष्टिच्युट भन्ठानेर छिर्थे। नामको पछाडी जाभा जोडिएको हुँदा त्यस्तो भएको हो। त्यतिनै संख्याका ग्राहक भने कफीसपलाई फर्निचर सो रुम ठानेर आउने गरेको उनी सुनाउँछन्। सुरुवाती दिन देखिनै हिमालयन जाभाको सजावट र डेकोरेसन लिभिङ रुम जसरी मिलाइएको हुनाले ग्राहक झुक्किने गरेको उनको अनुभव छ। बाँकी पचास प्रतिशत ग्राहक कफी खानै भनेर छिर्थे तर अधिकांशले एक सुर्पी लगाएपछी दोस्रो लिँदै नलिने।

मेनुमा क्यापेचिनो,अमेरिकानो,लोट्टे जस्ता  बिल्कुल नौला नामहरु देखेर अर्डर गर्ने तर स्वादको तितोपना प्राय कसैको जिब्रोले नरुचाइदिने। त्यसबेला सम्म नेपाली जिब्रोले चिनेको ‘इन्सट्यान्ट’ कफी मात्र थियो। जसको त स्वादै गुलियो हुने। हिमालयन जाभामा छिर्ने ग्राहक त्योभन्दा पनि ‘मिठो’ स्वादको अपेक्षा गरेर आउँथे र निराश हुँदै फर्किन्थे।

यस्तो चुनौतीको घडीमा कफिसपको निरन्तरता उनको प्यासनप्रतिको अठोट नै हो। करिब दुई बर्ष नियमित सञ्चालन खर्च धान्न समेत धौ धौ पर्यो। पछि विस्तारै ग्राहकले रुचाउने क्रम बढ्न थाल्यो। दैनिक १५ सयको बिक्री तीन गुणा जतिले बृद्धि भयो। ग्राहक संख्याबृद्धि गराउन विदेश बसेर फर्किएका कफी पारखीहरुले ठूलो मद्दत गरे।

उनीहरु आउँदा एक्लै छिर्दैनथिए। कोही साथी या परिवारका सदस्य लिएर आउँथे र कफीको स्वाद एवं वास्तविकता बारे बुझाएर पिउन समेत सिकाउँथे। यसरी मुखैले सुनाएर एक दुईजना हुँदै हिमालयन जाभाको नाम शहर भरी फैलिन पुग्यो।

स्थापना भएको करिब छ महिनामै हिमालयन जाभा कमलादीबाट ठमेलस्थित अहिले रहेको स्थानमा सरि सकेको थियो। अष्ट्रेलिया पढ्दाका साथी आनन्द गुरुङको घरमा उनीसँग पार्टनरसिप समेत सुरु गरि जाभालाई ठमेल पुर्याए गगनले। त्यहाँ ठाउँ त मनग्ने थियो तर ग्राहक अझै पनि अपेक्षा अनुरुप बढ्न सकेका थिएनन्।

ठमेलमा सरेपछि विदेशी पर्यटक आउने क्रम त केहि मात्रामा बढ्यो तर स्वदेशी ग्राहकको संख्या खासै उकालो लागेको थिएन। यस्तोमा सन् २००२ मा जापान र कोरियाले संयुक्त रुपमा आयोजना गरेको विश्वकप फुटबलले कफीसपमा नयाँ त्राण नै दियो।  

कफी सपमा मानिसहरु आराम गर्ने हेतुले आउन्, दुनियाँका खवरहरु देखुन् साथै कफी संस्कृतीबारे डकुमेन्ट्री भिडियोहरु पनि देखाउन पाइयोस् भनेर विश्वकपको सात महिना अघि उनले एउटा टिभी किनेका थिए। समाचार एवं भिडियोहरुका लागि ३० इन्चको टिभी किन्न पुगेका उनलाई पसलेले कफीसपमा राख्न लागेको बुझेपछी बरु किस्ताबन्दीमै भए पनि ५० इन्चको टिभी लिन सुझाए।


त्यस बेलासम्म काठमाडौँमा राम्रा मूभीहल खुलि सकेका थिएनन्। अरु समय समाचार र डकुमेन्टी एवं मंगलबार साँझ भने हिमालयन जाभामा मूभी नाइट चलाउँथे गगन। त्यसमा पनि दर्शक त धेरै हुन्थेनन्। 'त्यहि १५/२० जना दर्शक माझ रमाइलो गरिन्थ्यो' उनी सुनाउँछन्।

विश्वकपताका काठमाडौँका धेरै ठाउँमा त्यति ठूलो स्क्रिनको टिभी थिएन। फुटबल हेर्ने बहानामा कफीसपमा ग्राहक ओइरिन थाले। एकै समय मुस्किलले २०/२५ ग्राहक आउने कफीसपमा फुटबल सुरु भएको पाँच दिनमै गेम चलेको बेला डेढ सय पुग्न थाले। कुनै कुनै गेम हुँदा त तीन सयसम्म मान्छे हुन्थे। अब फुटबल हेर्न आउनेहरु कफीबारे पनि सिक्न थाले। गगनले कफीको स्वाद र वास्तविकताबारे उनीहरुलाई बुझाउँथे।

फुटबल हेर्न आउने धेरै जना त विश्वकप सकिने बेलासम्ममा कफी पारखी नै भइ सकेका थिए। ‘हुन पनि कफीसप भनेको अफिस अवे अफिस या लिभिङ रुमको एक्सटेन्सन हो' उनी भन्छन् 'जुन कुरा ग्राहकलाई बुझाउन समय लाग्यो तर विस्तारै सबैले बुझ्न थाले हिमालयन जाभा कफी खुवाउनका लागि मात्र खुलेको हैन रहेछ,यो त अनुभव आदान प्रदानको थलो पो रहेछ।’

उनले कफी खान आउनेलाई ३० मिनेटको निशुल्क वाइफाइ पनि दिन थाले। यो सुबिधा त काठमाडौँमा त्यसबेला झनै नौलो थियो। फुटबलको बहानामा हिमालयन जाभा जान बानी परेकाहरुलाई विश्वकप सकिएछि तानि रहने अर्को माध्यम यो पनि बन्यो।

सुरु देखिनै नेपाली कफी बिक्री गर्ने अठोट लिए र पुरा पनि गरेका छन् गगनले। हिमालयन जाभाको सुरुवाती दिनताका त नेपाली उत्पादन भन्दा झनै नाक खुम्च्याउने परिपाटी थियो। विदेशी उत्पादन मात्र गतिला हुन्छन् भन्ने छाप अहिले बरु अलिक हटेको गगनको अनुभव छ।

‘नेपाल कृषिप्रधान देश,यहाँका किसानको उन्नती बिना मुलुकको समृद्धि संभव छैन' कुराकानीको क्रममा बेलाबेला गगन एक व्यवसायी भन्दा भिजनरी नेता जस्तो सुनिन्थे 'हामीले नेपाली कफीमा जोड दिनुका पछाडि तिनै किसानलाई सानै भए पनि प्रोत्साहन होस् भन्ने मूल ध्येय रहेको छ।'

झट्ट सुन्दा कम्प्युटर इन्ष्टिच्युट जस्तो लाग्ने जाभा नाम किन राखे उनले? 'हामीकहाँ मात्र हो जाभा भन्नाले कम्प्युटर इन्ष्टिच्युट बुझिने' उनी प्रष्ट्याउँछन् 'बाहिर जाभा भन्नाले कफी नै बुझिन्छ।' इन्डोनेसियाको जाभा टापु कफी उत्पादनका लागि विश्व प्रसिद्ध छ। त्यसैले दुनियाका कफी पारखी जो कोहीले जाभा भन्ने बित्तिकै उत्कृष्ट कफीको नाम बुझ्छन्।

गगनलाई लाग्यो यदी नेपाली कफी चाहिए जति उत्पादन हुन सकेन भने जाभाबाटै कफी आयात गरि बिक्री गर्ने अवस्था पनि आउन सक्छ। अनि नाम जुराए उनले नेपाललाई विश्वभर चिनाउने शब्द हिमालयन र कफीको राजधानी जाभा मिलाएर। भाग्यवश उनले हिमालयन जाभा सुरु गरेदेखि एक गेडा कफी पनि आयात गर्नु परेको छैन। सबै नेपाली उत्पादनले धानेको छ।

पाँच तारे होटलको जागिर छोडेर कफीसप खोल्छु भन्दा गगनका बुवालाई पनि सुरुमा निको लागेन। 'यत्रो अष्ट्रेलिया पढेर आएर तँ चिया पसल खोल्ने भन्दै हकार्नु भयो' उनी सुनाउँछन् 'बुवाको त्यो भनाइ तात्कालिन नेपाली समाजको सोचाइको प्रतिबिम्ब नै थियो किनभने कफिसपलाई यहाँ चिया पसल भन्दा फरक सोचिन्थेन।'

गगनका अनुसार चिया र कफीमा ठूलो भिन्नता छ। चियामा खास विविधता छैन तर कफी विविधताले भरिएको उनी बताउँछन्। चिया सर्भ गर्ने कुनै खास ढाँचा र बान्की छैन तर कफी सर्भ गर्ने धेरै ‍औपचारिकताहरु छन्। यस्ता नयाँ नविन अनुभव हिमालयन जाभाका सुरुवाती दिनबाट नै उनले दिन थाले। कफी खान आउनेहरु त्यहाँको व्यवहार र वातावरणबाट लोभिइ रहुन् भन्नेमा उनी दृढ थिए।

जापान कोरिया विश्वकपले ल्याएको छलाङ पछि सन् २००४ मा पहिलो ब्रान्च आउटलेट काठमाडौँ गेष्ट हाउसमा खोले उनले। काठमाडौँमा मलहरु बन्ने क्रम बढेपछि फुडकोर्टहरुमा हिमालयन जाभाको माग हुन थाल्यो। यसरी बिस्तार हुने क्रममा अहिले उपत्यका भित्र १६ र बाहिर पोखरा र चितवनमा हिमालयन जाभाका आउटलेट सञ्चालनमा छन्। गगनको जाभा भुटानदेखि अमेरिकासम्म पुगेको छ।

सुरु देखिनै आफु मात्र चलाउने सोच नराखी कफीबारे सिक्न खोज्नेलाई ज्ञान समेत बाँड्दै आएको छ हिमालयन जाभाले। कफी सिक्नेका लागि जाभाले स्कुल नै चलाएको छ। उनी कहाँ सिक्न आउने मध्ये अधिकांश विद्यार्थी भिसामा युरोप या अष्ट्रेलियामा जाने तरखरमा रहेकाहरु हुन्छन्। त्यहाँ काम पाउन सजिलो हुने भएको हुँदा उनीहरुले कफी तालिम लिने गरेका हुन्। त्यस बाहेक जाभाबाट सिकेर कतिपयले नेपालमै कफीसप खोलि सकेका छन्।


हिमालयन जाभाले विकास गरेको कफी संस्कृतीको सुखद नतिजा स्वरुप अहिले राजधानीमा दिनको औषत एउटाको दरले कफीसप खुल्न थालेका छन्। तर त्यतिकै संख्या बन्द समेत हुने गरेको तथ्याङ्कले भने गगनलाई दु:खी तुल्याउँछ। 'कफीसप आजको भोली नाफा कमाएर धनी हुने व्यवसाय हैन यसमा त लामो प्यासन चाहिन्छ' उनी यो क्षेत्रमा हात हाल्न चाहने युवालाई सुझाउँछन् 'छिटो मुनाफा चाहिएको अवस्थामा बैकल्पिक पेसा नै रोज्नु उत्तम हो वित्थामा कफीसप खोलेर पैसा किन डुबाउने!' गगनको आफ्नै भोगाइले उनको यो भनाइलाई पुष्टि गर्छ।

दिनमा १५/२० जना ग्राहकबाट सुरु गरेको हिमालयन जाभामा अहिले दुई हजार भन्दा बढी कफी खान आइपुग्छन् । ४० सिटिङ क्यापारिटीको जाभा सबै आउटलेटमा अहिले छ सय जनाभन्दा बढीले एकै पटक कफी खान सक्छन्।

सात जना स्टाफबाट सुरु भएको कफीपमा साढे दुई माथिले काम पुगेका छन् । १५ सय रुपैयाँको दैनिक रेभेन्यु पनि दशौँ गुणाले बढेको छ। 'यो दिन आउला भनेर मैले जाभा सुरु गरेको होइन, सक्रियता र निरन्तरताले यहाँ ल्याइ पुर्याएको हो' उनी सुनाउँछन्।

१६ बर्ष अघिको हिमालयन जाभा र अहिलेमा धेरै बदलाव आइसकेको उनको अनुभव छ। उसबेलाको जाभा अलिक गरिब थियो। सजावटदेखि सोफासम्म सस्तो विकल्प खोजिन्थ्यो। तर अहिलेको जाभा योजनाबद्ध र सजावटका दृष्टिले पनि फरक भइसकेको उनी बताउँछन्। एउटा समानता भने सधैं छ; गुणस्तरीय र उत्कृष्ट कफीमा भने सम्झौता कहिल्यै नगर्ने।

गाउँ गाउँबाट कफी लिएर आउने किसानलाई निराश नबनाउने उनको अर्को संकल्प छ। गाउँ गाउँसम्म पुगेर कफीको फसल उठाउने र बनाउने तरिका किसानलाई सिकाएका छन् उनले। गुणस्तरहीन कफी बोकेर आउने किसानलाई पनि केही नभनि किनि दिएर उक्त कफी फालेको अनुभव समेत छ, उनीसँग। ठूलो परिमाणमा मात्र होइन कोही किसानले पाँच किलो कफी लिएर आए पनि उनले खरिद गरेका छन्।

'किसानले लिएर आएको कफी नकिन्ने हो भने उसले घर फिर्ने बित्तिकै पहिला कफीको रुख काट्छ त्यस पछी मात्र वैकल्पिक पेसा बारे सोच्न थाल्छ' उनी भन्छन् 'एकजना कफी पारखीका लागि कफीको बोट काटिनु सानो तिनो चोट होइन जुन म कहिल्यै चाहन्न।'