खाद्य संस्थानले मूल्यवृद्धि नियन्त्रण र विपतका लागि चामल किन्दै ,खाद्यान्नका लागि सवा २ अर्ब

बिजमाण्डू
२०७३ साउन १५ गते ००:०० | Jul 30, 2016
  • पवन तिमिल्सिना/बिजमाण्डू

काठमाडौं । सरकारी स्वामित्वको नेपाल खाद्य संस्थानले खाद्यान्नको अस्वभाविक मूल्यवृद्धि नियन्त्रण गर्न खाद्यान्नको स्टक बढाउने भएको छ । निजी क्षेत्रबाट हुने अस्वभाविक मूल्यवृद्धि रोक्न र विपत्तिका लागि आवश्यक खाद्यान्नको स्टकलार्इ यो बर्ष बढाउन लागेको हो ।

संस्थानले राजधानी लगायतका शहरी क्षेत्रमा खाद्यान्न बिक्री गर्दै आएको छ । संस्थानले बिक्री गर्ने खाद्यान्न निजी क्षेत्रले बिक्री गर्ने भन्दा मूल्य किलोमै पाँचदेखि १० रुपैयाँसम्म सस्तो पर्छ ।संस्थानले यो वर्ष एक लाख पचास हजार क्विन्टल चामल खरिद गर्दैछ ।  संस्थानले गत वर्ष  एक लाख २० हजार क्विन्टल मात्रै चामल किनेको थियो । चामल खरिदका लागि ४४ करोड ९६ लाख रुपैयाँ पर्ने संस्थानले जनाएको छ ।

संस्थानले ६ लाख ४१ हजार नौ सय ८० क्विन्टल बराबरको खाद्यान्न खरीद गर्दैछ ।   यो खाद्यान्न खरीदका लागि दुई अर्ब २१ करोड ५४ लाख रुपैयाँ संस्थानले खर्चिदैछ । सार्कको लागि राख्नुपर्ने वफर स्टकका लागि समेत आवश्यक चामल पुर्याउन बढी चामल खरीद गर्न लागेको संस्थानका सूचना अधिकारी पवन कुमार कार्कीले बताए। सार्क बफर स्टकको लागि  लागि ८० हजार क्विन्टल चामल छुट्याइएको उनले जानकारी दिए।  

Tata
GBIME
Nepal Life

दुर्गमका लागि साढे १५ हजार टन खाद्यान्न

चालु आर्थिक वर्षका लागि २४ क्षेत्रका दुर्गम जिल्लाहरुका लागि १५ हजार पाँच सय ८० मेट्रिक टन खाद्यान्न कोटा छुट्याएको छ। समितिले ४२ करोड ५० लाख रुपैयाँ कुल ढुवानी खर्च प्रस्ताव गरेको छ।

यो वर्ष सरकारले ४१ करोड ४० लाख रुपैयाँ बराबरको दाल खरीद गर्नेभएको छ। संस्थानका अनुसार रहर पाँच हजार क्विन्टल, मुसुरोको दाल पाँच हजार क्विन्टल खरीद गरिनेछ । संस्थानको गोदाम निर्माणका लागि तीन करोड रुपैयाँ छुट्टाइएको छ ।

कर्णालीको खाद्यान्न खरीदलार्इ निरन्तरता

कर्णालीका उत्पादन शहरमा ल्याएर बिक्री गर्ने योजनालार्इ संस्थानले निरन्तरता दिएको छ । यो वर्ष एक करोड रुपैयाँ बराबरो कर्णालीको खाद्यान्न किन्ने योजना संस्थानले बनाएको छ । तीन वर्षदेखि कर्णालीमा उत्पादन भएको खाद्यान्न किनेर स्थानीय खेतीलार्इ संस्थानले प्रोत्साहन गर्दै आएको छ । तीन वर्षदेखि संस्थानले यो योजना अघि सारेको हो ।

स्थानीय स्तरमा उत्पादित अर्गानिक खाद्यान्न सुगमका उपभोक्ताले उपयोग गर्न पाएका छन् । कर्णालीका तिते फापर, सिमी, उवा र मासको गेडा काठमाडौं ल्याएर बेच्ने गरेको छ।