३५ देशमा आर्थिक विकासमा काम गरेको विज्ञ भन्छन्, नाकाबन्दीको सामना विकासको आत्मविश्वास

बिजमाण्डू
२०७३ साउन १३ गते ००:०० | Jul 28, 2016
३५ देशमा आर्थिक विकासमा काम गरेको  विज्ञ भन्छन्, नाकाबन्दीको सामना विकासको आत्मविश्वास

पाँच दशकको अवधिमा संसारभर एक हजार उदयमान व्यवसाय तयार पारेको फोष्ट एण्ड सुलिवनले नेपालको विकासको बारेमा एक दिनको छलफल गर्दैछ ।  विश्वका विभिन्न ३५ देशका ४५ भन्दा धेरै सहरहरुमा आर्थिक विकास, निजी क्षेत्रको विकासमा सहयोग पुर्याउँदै आएको छ । सिंगापुर, मलेसिया, भारत लगायत देशमा सरकारी र निजी क्षेत्रसँग काम गरिसकेको यो संस्थाले नेपालमा पनि विकासको साझेदार बन्न चाहेको छ । यही संस्थाका  एसिया प्यासिफिक बरिष्ठ साझेदार तथा व्यवस्था निर्देशक मनोज मेननसँग बिजमाण्डूका उमेश पौंडेलले सोधे- विकासका लागि नेपाली निजी क्षेत्रलार्इ तपार्इको सफलताको मन्त्र के हो  ?
 
भारतीय नाकाबन्दी र भूकम्पका कारण गत आर्थिक बर्षमा नेपालको आर्थिक वृद्धिदर ०.७७ प्रतिशतमा सिमित भयो । पछिल्लो एक दशकमा नेपालको आर्थिक वृद्धिदर औंसतमा ३.५ प्रतिशतको हाराहारीमा छ । नेपाललार्इ डबल डिजिट ग्रोथमा लैजान के गर्न आवश्यक छ ?
विकासका लागि  पहिलो सर्त भनेको पूर्वाधारको विकास नै हो र  मेरो विचारमा पहिलो सवैभन्दा ठूलो चुनौती भनेको पूर्वाधार विकास हो । हामीले भौतिक पूर्वाधार कुन तरिकाले विकास गरेका छौ यसले आर्थिक बृद्धिदरको निर्धारण गर्छ । नेपालका विकासका लागि विश्वव्यापी रुपमा साझेदार रहेका पाएका छौं र यहाँका नेपालीहरु पनि विकासको पक्षमा रहेको पाएका छौं ।
 
तर पनि विकासको गति भने सुस्त छ । गत वर्षको नाकाबन्दीका बेलामा नेपालीहरुले पेट्रोलियम पदार्थका लागि धेरै सास्ती ब्योहोर्नुपर्यो । तर नेपालीहरुले त्यस्तो संकटको समेत सहज रुपमा सामना गरेको मैले पाएँ त्यो सकारात्मक पक्ष हो । नेपालीहरुले जुन संकटको सामना गरे त्यो भनेको विकासप्रतिको आत्मविश्वास हो । मैले भने उर्जा संकट समाधानका लागि देशभित्रबाट उर्जा क्षेत्रमा लगानी आवश्यक रहेको देखेको छु ।
 
दोस्रो कुरा नेपाली युवा जनशक्ति कुन तरिकाले परिचालित भएका छन् र उनीहरुको परिचालन कसरी गर्ने भन्ने हो । सधै युवालाई वाहिर पठाएर मात्र पनि डबल डिजिटको आर्थिक बृद्धिदर भेट्टाउन सक्ने सम्भावना कम  हुन्छ।
 
युवालाई ग्लोबल इकोनोमीको एक पक्ष बनाउनका लागि उनीहरुलाई अहिलेको बजार सुहाउँदो सीप तथा तालिम दिएर वाहिर पठाउन सकियो भने पनि अहिलेको परिस्थितीलार्इ परिवर्तन गर्न सकिन्छ । तर यो भन्दा ठूलो कुरा नेपालमा सम्भावना भएका क्षेत्रहरुमा लगानी गर्यो भने देशले चाँडो विकास गर्न सक्छ।
 
तेस्रो भनेको प्रत्यक्ष वैदेशिक लगानी नै हो । अहिलेको अबस्थामा नेपाल धेरै सम्भावना भएको मुलुकभित्र पर्छ । यहाँको जलस्रोत र पर्यटनमा मात्र लगानी गर्न सके मात्र  पनि डबल डिजिटको आर्थिक बृद्धिदर सजिलै प्राप्त गर्न सकिन्छ । हामी त्यहि कुराहरुलाई सहज बनाउनका लागि यहाँ आउन लागेका हौं । हंङकङ मलेसिया र भारतमा हामीले सफल रुपमा विदेशी लगानी गर्नका लागि सहज वातावरण बनाएका छौं भने नेपालमा त्यही काम गर्न समस्या छैन ।
 
नेपालमा प्रत्यक्ष लगानी गर्नका लागि यहाँको राजनीतिक अस्थिरता मुख्य कारक हो । विदेशी लगानीकर्ताहरु अहिले पनि नेपालमा लगानी गर्न  हच्किरहेका छन् किनकी नेपालको राजनीतिक भविष्य कता जान्छ भनेर अझै अन्योलमा छ। उनीहरुलाई  चिन्ता भनेको लगानी नीति स्थिर हुन्छ कि हुँदैन भन्ने पनि हो । अर्को यहाँको कर्मचारीतन्त्रले विदेशी लगानीलाई सहयोग गर्छ कि गर्दैन भन्ने पनि हो । मूख्य नीति बन्नु हो त्यसपछि त्यसलाई व्युरोक्रेसीले सहयोग गर्यो भने नेपालले आर्थिक वृद्धिदर डबल डिजिट पुर्याउन असहज छैन ।
 
गएको २५ बर्षमा राजनीतिक अस्थिरताका कारण नेपालले चाहेजस्तो आर्थिक बृद्धिदर हाँसिल गर्न सकेन। हामी अझै संक्रमणकालमा नै छौं, यस्तो अवस्थामा कसरी विकासको बाटोमा जान सक्ने सम्भावना रहन्छ ?
 
मैले यहाँ आशा देखेको छु । मैंले यहाँ केही रोचक तथ्यांक पढेको छु । तीब्र रुपमा विकास भइरहेको इन्टरनेटको पहुँच नेपालीहरु जोडिनु मलार्इ रोचक लागेको विषय हो । इन्टरनेटले मानिसले सोचेको भन्दा फरक रुपमा कामहरु अगाडि बढाइरहेको हुन्छ । जसका कारण मानिसहरुलाई धेरै भन्दा धेरै व्यवसायलार्इ विश्वसँग जोडिरहेको हुन्छ ।
 
विगत २५ बर्ष राजनीतिक परिवर्तन भए अब यो अन्त्य हुनैपर्छ । अबको पथ भनेको विकासको पथ हो । पहिलो कुरा संसारको कुनैपनि सर्वोत्कृष्ट विश्वविद्यालयमा पढाइ हुने गरेका सवै किसिमका कोर्षहरु यहि इन्टरनेटका माध्ययमवाट निशुल्क रुपमा पाइन्छन् । यो नै अहिलेको सवैभन्दा मुख्य परिवर्तन हो  । ज्ञानको स्रोतमा जाने र ग्रहण गर्ने यो नै सरल र सहज उपाय हो।
 
दोस्रो कुरा यहाँ नेपालमा मध्यम र साना व्यावसायहरु प्रशस्त छन् । उनीहरुले पर्यटन र अरु साना व्यवसाय गरेका हुनसक्छन् उनीहरु सवै इन्टरनेटको पहुँचमा नै हुन्छन्।  मेरो विचारमा इन्टरनेटको पहुँचले मध्यम स्तरका व्यवसायलार्इ निकै फाइदा पुग्छ। उदाहरणका लागि अमेरिकाको उबर भन्ने संस्थाले विश्वभरी धेरैको संख्यामा रोजगारीहरु निर्माण गर्छ। उनीहरुले धेरैलार्इ पार्टटाइम रोजगारी पनि दिन्छन्। र उबरमा जो पनि ड्राइभर हुन सक्छ र उनीहरु आय श्रोतको माध्यम आफै बनाउन सक्छन् ।
 
त्यहि भएर पावर अफ ट्रान्सफरमेसनले मान्छेहरुमा प्रविधिको लचकता बनाइदिन्छ । त्यस्तै हामी पनि उबरको जस्तै सानासाना माइक्रो इनर्जी अगाडि बढाउन सक्छौ। अथवा अरु स्मार्ट स्कुलहरु विकास गर्न सक्छौ। नेपाल लगायत अरु विकासशील  देशहरुमा इन्टरनेटको माध्यमबाट परिवर्तन गर्ने आधारहरु धेरै छन् ।  उनीहरुले नयाँ प्रविधिलाई भित्र्याएर इन्नोभेसन गर्न सक्छन्।
 
मलाइ लाग्छ तपाइ र तपाइको संस्था पहिलोपटक नेपाल आउन लागेको छ, नेपालको निजी क्षेत्र र सरकारसँग मिलेर कसरी नेपालको आर्थिक वृद्धिदरलाई अगाडि बढाउने लक्ष्य लिनुभएको छ ।  विकासका लागि नेपाली निजी क्षेत्रलार्इ तपार्इको सफलताको मन्त्र के हो  ?
 
पहिलो हामीले धेरै कम  नेपाली कम्पनीहरु ग्लोबल्ली गएको देखेका छौं ।  अहिले सोच्नुपर्ने कुरा भनेको विश्वव्यवपिकरण नै हो । यहाँ धेरै युनिक स्ट्रेन्थ एण्ड क्यापेविलिटजहरु रहेको छ यसलाई ग्लोबल्ली लैजानुपर्छ। नेपाली निजी क्षेत्रका लागि विदेशी आम्दानी सवैभन्दा कम  छ ।
 
नेपालको जस्तै अर्थतन्त्र र जनसंख्या भएको मलेसियाको कुरा गर्ने हो भने त्यहाँका धेरै कम्पनी एसिया प्यासिफिक क्षेत्रमा लगानी विस्तार गरिसकेका छन् ।  केही कम्पनी ग्लोबल्ली नै रिक्ग्नाइज्ड भइसके।  मलेसियाको बैंक, टेलिकम, हेल्थ केयर, इन्स्युरेन्स कम्पनी छन् । ती कम्पनीहरु एसिया प्रशान्तमा लगानी विस्तार गरिसकेका छन् । त्यहि भएर नेपालका निजी क्षेत्रले पहिलो क्षेत्रीयतामा सोच्नुपर्यो र साथसाथै विश्वव्यापीकरणमा सोच राख्नुपर्यो ।  नेपालसँग धेरै किसिमका सम्भावनाका क्षेत्रहरु  छन्। त्यसलाई कसरी सञ्चालन गर्ने भन्ने कुरा नै महत्वपुर्ण हो।
 
त्यहि भएर नेपालका निजी क्षेत्रले कसरी विश्वमा आफ्नो क्षमता र स्रोत परिचालन गर्न सक्छ भनेर अहिलेदेखि नै सोच्नुपर्छ र त्यसका लागि योजना अगाडि ल्याउनु राम्रो हुन्छ। यो भयो भने मात्र ग्लोबल मार्केटमा परिचित र कम्पीटिसन गर्न सकिन्छ। दोस्रो कुरा प्रविधिले कसैलाई पनि सोषित गरेको हुँदैन। नेपालमा लगभग ५० प्रतिशत इन्टरनेको पहुँचमा रहेको छ तर यसको फाइदा निजी क्षेत्रले लिन सकेको छैन् । विश्वमा अरु केही देश छन् जहाँ नेपालको भन्दा कम इन्टरनेट एक्सेस छ र विकास धेरै गरिरहेका छन् । यो देश सामाजिक रुपमा सहिष्णु भएर बसेका छन् । यहाँका जनताहरु कुनैपनि वाहनामा सामाजिक सदभाव विगार्ने हिसाबले अघि बढेको देखेको छैन ।
 
नाकाबन्दी हुँदा पनि हजारौ सवारीसाधन कुनै परवाह नगरी तेल भर्नका लागि राम्ररी लाइनमा बसेर तेल हालेको देखियो, यसले के संकेत गर्छ भने नेपालीहरु धेरै सहिष्णु छन् । नेपालीहरु आफूभन्दा आफ्नो समाजप्रति धेरै उत्तरदायी छन् भन्ने प्रमाणित भएको छ। त्यसैले एउटा सफल देश हुनका लागि सामाजिक सहिष्णुता धेरै नै महत्वपुर्ण पक्ष हो। नेपालीहरु धेरै मात्रामा सामूहिक रुपमा कामका लागि मिल्छन् र यसलाई मात्र अगाडी लैजान सक्यो भने नेपाल एक सफल राष्ट्रमा उभिन सक्छ। नेपाली निजी क्षेत्रले सामाजिक सदभाव र इन्टरनेटलाई मात्र उपयोग गर्न सक्यो भने धेरै ठूलो उपलब्धि हासिल गर्न सक्छ ।  
 
नेपालको विकासको प्रमुख बाधक के लार्इ मान्नुहुन्छ ?
विकास र आर्थिक क्रियाकलापमा धेरै राजनीति भयो । राजनीतिक अस्थिरताका कारण यो भएको हो । म नेपालमा के पनि देख्छु भने राजनीतिक क्षेत्र बाहेकबाट विज्ञहरु राजनीतिमा आएको कम देखेको छु । केही मात्रै हो जो राजनीति भन्दा अलग क्षेत्रबाट प्रतिनिधित्व गरेका छन् । राजनीति भन्दा वाहिरबाट आएका विज्ञहरुले देशको विकासको खाका कोर्ने र कार्यान्वयन समेत गरेको धेरै देश छन् ।  
 
तर यो भनिरहँदा हामिले राजनीतिक दललाईमात्र दोष दिन मिल्दैन। राजनीति गर्ने मान्छेमा लिडरसिपको कमी भएको निश्चित हो। आर्थिक स्थितिलाई अगाडि लैजान र राजनीतिक रुपमा अगाडि लैजान लिडरसिपको मूख्य भूमिका रहन्छ । स्ट्रोङ लिडरसिप भएको व्यक्ति राजनीतिमा आउनुपर्छ। तपाइले संसारको धेरै देशहरुमा देख्न सक्नुहुन्छ कि युवाले नेतृत्व गरेको र  विकासका चरणहरुमा स्ट्रोङ लिडरसिपले सफलता समेत पाएका छन् ।  साथै उनीहरुले विश्वमा आएका नयाँ सूचना प्रविधिलाई सजिलै उपयोग  गरेर त्यसलाई देश विकासको क्षेत्रमा लगाइरहेका हुन्छन्। यसको मतलब के हो भने राजनीतिक नेतृत्व गर्ने व्यक्ति योङ, प्रविधिमैत्री र सकारात्मक कुरालाई तत्काल एडप्ट गर्न सक्ने खुवी भएको हुनुपर्छ। र अर्को मुख्य कुरा  विकास र आर्थिक अवस्थालाई अगाडि बढाउनका लागि 'कलेक्टिभ विल' अत्यावस्यक हुन्छ।
 
नेपालको निजी क्षेत्र र आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रसँग साझेदारी गरेर अघि बढ्दै हुनुहुन्छ ?  
नेपालको आर्थिक विकासका लागि धेरै सम्भावनाहरु  छन् । नेपालले  स्मार्ट सिटीहरु बनाउँदैछ । कम विकसित देशवाट विकासशील देशमा जानका लागि मास्टर प्लान बनाएको छ। नेपालको विकासका लागि पर्यटन, जलविद्युत , स्वास्थ्य लगायतका बलियो सम्भावना रहेका क्षेत्रहरु छन् ।
 
हामीसँग यी क्षेत्रहरुमा काउन्सिलिङ र सहयोग गर्नका लागि  उम्दा विशेषज्ञहरु छन्  ।  हामीले सिंगापुर, मलेसिया, भारत लगायत संसारका धेरै देशमा काम गरिसकेका छौं । हाम्रो विश्वभरी ३५ देशमा सञ्जाल समेत छन्  । सरकारका एजेन्सी र निजी क्षेत्रलार्इ नेपालले विकासका लागि बनाएको मास्टर प्लानलाई सहयोग गर्न सक्छौं। हामी पनि नेपालको आउँदो दशकमा हाम्रो कम्पनीले गरेका कामहरुवाट ब्लुप्रिन्ट नै बसाउन र नेपालको विकासमा सफलताको सहयात्री हुन चाहन्छौं।
 
अनुभवका आधारमा पनि नेपाललाई विकासको गतिमा अगाडि बढाउन केहि सहयोग होस भन्ने  हाम्रो चाहना हो। विश्वका विभिन्न ३५ देशका ४५ भन्दा धेरै सहरहरुमा हाम्रा विभिन्न प्रोजेक्टहरु सञ्चालन भइरहेका छन्। हामी दावीका साथ भन्नसक्छौं ती देशहरुवाट नेपालमा लगानी भित्र्याउन सक्षम हुनेछौं।
 
हामी नेपालमा विकासको ढोका खोल्नका लागि प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन सहयोगीको भूमिकामा रहनेछौं र ग्लोवल मार्केटमा के विकास भइरहेको छ भनेर नेपाली बजारलाई पनि प्रशिक्षित गर्नेछौं। मूख्य कुरा विकासको पथमा लैजानका लागि सवैभन्दा माथिल्लोस्तरको भूमिकामा हामी रहने लक्ष्य समेत राखेका छौं । हामी नेपालमा धेरै मात्रामा रोजगारी सिर्जना गर्नेछौं । हामीलाई थाहा छ नेपालमा धेरै ठूलो युवा जनशक्ति छ जो रोजगारी नपाएर  बस्नुपरेको छ । ती युवाहरुलार्इ तालिम दिएर दक्ष बनाउनेछौं ।
 
हामीले भारत र मलेसियाका युवालार्इ तालिम दिएर विश्व श्रम बजारमा समेत पठाएका छौं । नेपालमा रहेका युवा ट्यालेन्टलाई ब्रिज गरेर संसारभरि नै फैलाउन चाहन्छौं। हाम्रो मान्यता पनि के छ भने आइडियाको विविधता भयो भने मात्र विकासका कामहरुमा चाँडो अगाडि बढ्न सक्छ ।

Tata
GBIME
Nepal Life