बजारमा पौने तीन अर्बको कारोबार, वित्तीय क्षेत्रले उचाल्यो नेप्से, वोटलर्सको ९४४ रुपैयाँ झर्यो

बिजमाण्डू
२०७३ साउन ११ गते ००:०० | Jul 26, 2016

काठमाडौं । ब्रोकर कमिसन घटेको तथा कारोबार समय बढेका कारण सेयर बजारमा लगानीकर्ताको सकृयासमेत बढेर गएको छ । मंगलबार सेयर बजारमा दुई अर्ब ७५ करोड रुपैयाँको सेयर किनबेच भएका छन् ।
 
कुल १४३ कम्पनीका  ५८ लाख ८८ हजार ७११ कित्ता सेयर कारोबार भएको हो । नियामक निकायले ब्रोकर कमिसन ४० प्रतिशतले घटाउँदै कारोबार समय तीनबाट चार घन्टा पुर्‍याएपछि सेयर बजारका लगानीकर्ता उत्साहित देखिएका हुन् ।
 
बजार बृद्धि भने वित्तीय क्षेत्रका कम्पनीहरुले गराइरहेका छन् । उच्च नाफासहितको वासलातहरु सार्वजनिक हुन थालेपछि वित्तीय क्षेत्रमा लगानीकर्ता तानिएका हुन् । बै‌क, विकास बैंक र फाइनान्समा लगानीकर्ता ओइरिएका छन् ।
 
बिमा र लघुवित्तको तुलनामा सस्तो सेयर मूल्य भएका कारण पनि बजारले उचाइ लिइरहेका बेला लगानीकर्ता वित्तीय क्षेत्रतर्फ लागेका हुन् । बजार २८ अंकले बढेर १८६६.५० अंकमा पुगेको छ ।
 
उत्पादनमूलक क्षेत्रक ६४ अंकले ओर्लिए पनि बाँकी सबै सुचक उक्लिएका छन् । अन्य सुचक एक अंकभन्दा कमको बृद्धिमा छ भने बाँकी सबै दोहोरो अंकले वढेका छन् ।
 
लगानीकर्ताहरु अहिले विकास बैंकतर्फ वढि आकर्षित देखिएका छन् । मंगलबार यो सुचक ७४ अंकले उक्लिएको छ । फाइनान्स २२ अंकले बढेको छ भने वाणिज्य बैंक समूह २७ अंकभन्दा वढिले उक्लिएको छ । होटलमा पनि लगानीकर्ता तानिएका छन् । होटल ७६ अंकले बढेको छ । बिमा सुचक साढे ३१ अंकले बढेको छ ।
 
हिजोजस्तै सिद्धार्थ बैंकमा मंगलबार पनि लगानीकर्ता तानिएका छन् । सिद्धार्थको २५ करोड ४३ लाख रुपैयाँको किनबेच भएको छ । बैंकको कुल एक लाख ८१ हजार ७१५ कित्ता सेयर किनबेच भएको छ । एनबी बैंकको पनि १३ करोड ४५ लाख रुपैयाँको किनबेच भएको छ । तेस्रोमा नेपाल बैंकको नौं करोड ९६ लाख र चौथो ठूलो कारोबार हुनेमा प्राइम बैंकको ९ करोड ५७ लाख रुपैयाँ छ ।
 
तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । मुक्तिनाथ विकास, गुहेश्वरी मर्चेन्ट र एनएमबी माइक्रोफाइनान्सको मूल्य १० प्रतिशतले बढेको हो । १० प्रतिशतकै हाराहारीमा २८ कम्पनीको सेयर मूल्य बढेको छ ।
 
वोटलर्स नेपाल तराईका लगानीकर्ताको सेयर मूल्य १० प्रतिशतले झरेको छ । एकै दिन सेयर मूल्य प्रतिकित्ता ९४४ रुपैयाँले झरेर ८५०५ रुपैयाँमा आएको छ ।

Tata
GBIME
Nepal Life