राष्ट्रिय फुटबल टीमका कप्तान अनिल भन्छन्- यस कारण युरोको दावेदार इंगल्याण्ड

बिजमाण्डू
२०७३ असार १२ गते ००:०० | Jun 26, 2016
राष्ट्रिय फुटबल टीमका कप्तान अनिल भन्छन्- यस कारण युरोको दावेदार इंगल्याण्ड

अनिल गुरुङ, कप्तान- राष्ट्रिय फुटबल टीम

Tata
GBIME
Nepal Life

यसपटक युरो कपमा केही नयाँ टीमहरु आए। पाँच टीमले डेब्यु गरेका मध्ये चार टीम नकआउट चरणमा पुग्न सफल भए। युरोका लागि टीम नयाँ भए पनि खेलाडीहरु भने विभिन्न लिगहरुमा खेल्दै आएका थिए। प्राय: खेलाडी युरोपियन लिगमा सँगै खेल्थे। उनीहरु नै अहिले राष्ट्रका लागि बाँडिएर खेलिरहेका छन्।

यो पटक पुराना पावरहाउसले भन्दा पनि नयाँ टीमले समूह चरणमा राम्रो प्रदर्शन गरे। जसको परिणामस्वरुप चार नयाँ टीमले समूह चरण पार गरे। तर दाबेदारका रुपमा रहेका केही टीमले सोचेअनुरुप प्रदर्शन गर्न सकेनन्। यसको मुख्य कारण लगातार रुपमा खेलिरहनु हो।

युरो सुरु हुनुअघि मात्र लिगहरु सकियो। अहिले खेलिरहेका खेलाडीहरु सबै लिगमा खेलेर आएका हुन्। उनीहरुले आराम गर्ने मौका पाएनन्। निरन्तर खेल्दा खेलाडीहरु थाक्नु नै राम्रो प्रदर्शन नहुनुको मुख्य कारण हो। जसले गर्दा खेलाडीले शतप्रतिशत दिन सकेनन्। त्यसैले पनि आशा गरिएको राष्ट्रले राम्रो खेल्न सकेन। यस्तै समूह चरणमा कसैले पनि शतप्रतिशत रिजल्ट नल्याउनु यही मुख्य कारण हो।
 

समर्थन इंगल्याण्डलाई, मन पर्ने खेलाडी रुनी
मलाई सबैभन्दा मन पर्ने टीम इंगल्याण्ड हो। समूह चरणमा इंगल्याण्डले सोचेअनुरुप प्रदर्शन गर्न सकेन। जुन रिजल्ट आश गरिएको थियो त्यो आएन। यसो भन्दैमा इंगल्याण्डको फुटबल नै नराम्रो भन्न मिल्दैन। अहिलेको इंग्लिस टीममा राम्रा खेलाडीहरु छन्। त्यहाँको लिग विश्वकै उत्कृष्ट छ।
 
इंगल्याण्डमा रहेका फुटबल फ्यानहरुले पनि यो पटक युरोकप इंगल्याण्डले नै जित्ने अनुमान गरेका मेरा त्यहाँका साथीहरुले बताएका छन्। अहिले इंगल्याण्डका मिडियाहरुमा पनि जताततै उसकै चर्चा छ। समूह चरणको खेलपछि इंगल्याण्डको समीकरण कठिन बनेको छ। तर पनि मेरो विचारमा इंगल्याण्ड अझै युरो उपाधिको दाबेदारको रुपमा देखिन्छ।

सन् २०१२ को युरो छनोट अन्तर्गत इंगल्याण्ड र वेल्सको म्याच मैले वेम्बलेमै गएर हेरेको थिएँ। त्यतिखेर इंगल्याण्ड १–० ले विजयी भएको थियो। वेल्सका गारेथ बेल भर्खर राइजिङ स्टारका रुपमा आइरहेका थिए। अहिले उनको प्रदर्शन अझ राम्रो हुँदै आएको छ र वेल्सका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। यो पटक क्रोएसियाका लुका मोडरिचले पनि उत्कृष्ट प्रदर्शन गरे तर उनको टीम प्रिक्वाटरफाइनलबाटै बाहिरियो। 

मेरो मन पर्ने खेलाडीचाहिँ इंगल्याण्डका वायन रुनी हुन्। मलाई पहिल्यैदेखि रुनीको खेल मन पर्छ। यसपालि रुनीको पोजिसन चेन्ज भयो। त्यसले कस्तो असर पर्छ, त्यो मलाई पनि थाहा छ। नयाँ पोजिसनमा एडजस्ट हुन टाइम लाग्छ। तर खेल्न सकेन भनेर आलोचना गर्न मिल्दैन। किनकि हरेक खेलाडीको निश्चित टाइम हुन्छ, उत्कृष्ट खेल्ने। कहिले को चल्छ, कहिले को चल्छ थाहा हुँदैन। अहिले रुनीको हकमा पनि त्यस्तै भइरहेको छ।

 

फिनिसिङ चुक्दा कम गोल

यसपालि सहभागी टीम बढे पनि संख्याको हिसाबमा हेर्दा थोरै गोल भयो। यसमा फिनिसिङ लाइन कमजोर भएर कम गोल भएको जस्तो लाग्छ। हाम्रो नेपाली टीममा पनि कहिलेकाहीँ गोल नै गर्न सकेन भनेर आलोचना भइरहन्छ नि, त्यस्तै हो।

जुन खेलाडीले क्लबमा धेरै गोल गरेका छन्, उसले युरोमा गोल गर्न सकिरहेको छैन। किनकि राष्ट्रका लागि खेल्दा खेलाडीले क्लबमा जस्तो ध्यान दिएर खेल्दैनन्। क्लबमा खेल्दा खेलाडीले करोडौं आम्दानी गर्छन्। तर राष्ट्रमा त्यस्तो हुँदैन। राष्ट्रका लागि पनि क्लबजसरी नै ध्यान दिएर खेल्ने हो भने अवश्य राम्रो नतिजा आउँछ।
 
नकआउटका सबै खेल फाइनल बराबर

नकआउट राउण्ड यस्तो ठाउँ हो, जहाँ बराबरी वा हारले कुनै अर्थ राख्दैन। अगाडि बढ्नको लागि खेल जित्नैपर्छ। यस्तोमा सबै टोलीले आफ्नो शतप्रतिशत दिएर खेल्छन्। नकआउट राउण्डका हरेक खेल प्रतिस्पर्धात्मक हुनेछ। सबै टोलीका लागि नकआउट खेल फाइनल बराबर हुनेछ। त्यसैले यस चरणका खेलहरु प्रतिस्पर्धात्मक र रोमाञ्चक हुनेछ।

कसले उपाधि जित्छ अहिल्यै भन्न गाह्रो छ। हिजै भएको खेलमा पनि पोर्चुगलले क्रोएसियालाई हरायो। वेल्सले पनि आफ्नो खेल जित्यो। यहाँ कसले कसलाई हराउँछ भन्न कठिन छ। सम्भवत: यो पटबाट वेल्स, बेल्जियम र पोर्चुगलमध्ये एक टोली फाइनलमा पुग्नेछ।

यता अर्को पटमा स्पेन, इटली, जर्मनी, फ्रान्स र इंगल्याण्ड परेको छ। यसका सबै खेल प्रतिस्पर्धात्मक हुनेछ। इटलीले पनि यसपटक राम्रो खेलिरहेको छ। जर्मनी र स्पेनको टीम पनि राम्रो छ। यस पटबाट फाइनल पुग्ने टोलीको अनुमान गर्न कठिन छ।
 
कोपामा अर्जेन्टिना दाबेदार
युरोसँगै कोपा अमेरिकाको खेल पनि हेरिरहेको छु। कोपामा पनि रोमाञ्चक प्रतिस्पर्धा भयो यस पटक। गत वर्षकै फाइनलिस्ट अर्जेन्टिना र चिली फाइनलमा पुगेका छन्। यो पटक अर्जेन्टिना स्ट्रोङ छ र उसैले जित्छ भन्ने मेरो अनुमान छ। अर्जेन्टिनालाई गत वर्षको इगो पनि छ। मुख्य कुरा, अर्जेन्टिनाका कप्तान लियोनल मेसी उत्कृष्ट फर्ममा छन्। मेसीले खेल जित्न र टीमका लागि निकै मेहनत गरिरहेका छन् र उपाधि जित्नका लागि पनि उनले निकै मेहनत गर्छन् जस्तो लाग्छ।
 
ब्राजिलमा अनुभवी खेलाडीको अभाव
ब्राजिल कोपाको समूह चरणबाटै बाहिरियो, जुन अप्रत्यासित नजिता हो। तर पछिल्लो समय ब्राजिलियन फुटबल खराब समयबाट गुज्रिरहेको छ। पहिला-पहिला ब्राजिल भन्नेबित्तिकै वाह भन्ने गरिन्थ्यो। ब्राजिलियनहरु 'फुटबलको किरा' नै हुन्छन् भन्ने सुनिन्थ्यो। तर अहिले त्यो समय रहेन। ब्राजिलबाहेक अन्य राष्ट्र लगायत युरोपमा पनि उत्कृष्ट खेलाडीहरु निस्किसके। पहिलो रोनाल्डो, रोनाल्डिन्हो जस्ता खेलाडी हुँदा ब्राजिल जति फर्ममा थियो, अहिले त्यस्तो छैन।

यसको मुख्य कारण ब्राजिलियन टोलीमा अनुभवी खेलाडीको अभाव हुनु हो। ब्राजिलले चाँडोचाँडो राष्ट्रिय टीमको खेलाडीहरु परिवर्तन गरिरहन्छ। यसले गर्दा टीम राम्रोसँग सेट हुन पाएकै हुँदैन। अनि कसरी राम्रो रिजल्टको अपेक्षा गर्ने? ठूला प्रतियोगिताहरु जस्तै: विश्वकप, कोपा खेल्न अनुभवी टीम नै चाहिन्छ।
 
म्याच आउने बेला निदाउने, बेट लगाउँदा हार्ने

पहिला-पहिला विश्वकप र युरोकप जस्ता ठूला प्रतियोगिता बाहिरै साथीहरुसँग हेरिन्थ्यो। यो पटक भने युरो घरमै परिवारसँग बसेर हेरिरहेको छु। नकआउट राउण्डका राम्रा म्याचहरु भने बाहिर गएर हेर्ने प्लान छ।

साथीहरुसँग म्याच हेर्दा रमाइलो हुन्थ्यो तर प्राय: खेल राति हुने हुँदा खेल आउने बेलासम्म म निदाइसक्थेँ। अनि साथीभाइले उठाइदिन्थे र खेल हेर्थें। यस्तै क्याम्पमा हुँदा फुटबल खेल्ने साथीहरुको हेरिन्थ्यो। आ-आफ्नो समर्थन हुन्थ्यो। गोल हान्यो वा गोल खायो भनेर जिस्काउने गरिन्थ्यो। बेट पनि लगाइन्थ्यो। तर बेट लगाउँदा म सधैं हार्थें। यो पटक भने अहिलेसम्म बेट लगाएको छैन। अवसर मिले फेरि पनि बेट लगाइन्छ।

(पहिलोपोस्टका खेल संवाददाता गोविन्दराज नेपालले गरेको कुराकानीमा आधारित)