एफएनसिसिआईको विधान संशोधन गरेर बरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने, केही सदस्यको विरोध

बिजमाण्डू
२०७३ असार ११ गते १२:३२ | Jun 25, 2016

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघले बरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रस्तावलाई अघि बढाउने भएको छ । महासंघको धनगढीमा शुक्रबार बसेको १४ औं कार्यसमिति बैठकले अध्यक्षमा निर्वाचनको प्रतिस्पर्धा नगराउने गरी विधान संशोधन अघि बढाउने निर्णय गरेको हो ।
 
महासंघको विधान २०४९ मा संशोधन गरेर बरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने तयारी भएको हो । यदि यो प्रस्ताव पारित भएमा नेपाल उद्योग परिसंघकै संरचनामा महासंघ जानेछ । परिसंघले बरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउँदै आएको छ ।
 
तर कार्यसमितिको बैठकको फ्लोरमा उठेको विषयलाई प्राविधिकहरुले अन्तिम रुप दिएर पदाधिकारी बैठकमा पेश गर्नेछ र पदाधिकारीहरुले निर्णय गरेर विशेष साधारणसभामा पेश गर्नेछन् ।  महासंघले बरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने गरी विधान संशोधन गर्ने निर्णयलाई विशेष साधारणसभामा पेश गर्नेछ ।
 
कार्यसमिति बैठकमा बरिष्ठलाई स्वतः अध्यक्ष बनाउने प्रस्तावका बारेमा दुई धार थिए । स्रोतका अनुसार     बरिष्ठलाई स्वत अध्यक्ष बनाउनु पर्ने पक्षमा केही थिए भने केही सदस्यले अध्यक्षको निर्वाचन गर्ने अहिलेकै प्रक्रियालाई राख्नुपर्नेमा जोड दिएका थिए ।
 
यो बाहेक बरिष्ठ उपाध्यक्षको निर्वाचनका बारेमा मत विभाजन भएको थियो । कार्यसमितिबाट बरिष्ठ उपाध्यक्ष निर्वाचन हुने प्रक्रियालाई परिवर्तन गरेर प्रत्यक्ष रुपमा साधारणसभाबाट निर्वाचन गर्नुपर्ने माग आएको स्रोतले बतायो ।
 
महासंघको अध्यक्षको कार्यकाल दुई वर्षको राख्ने प्रस्ताव पनि गरिएको छ । अहिले महासंघको अध्यक्षको कार्यकाल तीन वर्षको छ । महासंघका अध्यक्ष पशुपति मुरारकाले बरिष्ठ उपाध्यक्षलाई नै अध्यक्ष बनाउने, महासंघलाई संघीय संरचनामा लैजानेगरी विधान संशोधनलाई अघि बढाउने निर्णय भएको बताए ।
 
मुलुक संघीय संरचनामा गइसकेको छ । हामीले पनि त्यही संरचना अनुसार महासंघलाई लैजान आवश्यक छ, उनले बिजमाण्डूसँग भने, प्रदेशका आधारमा महासंघको संरचना गर्ने प्रस्तावलाई अघि बढाउने निर्णय गरेका छौं ।

Tata
GBIME
Nepal Life