एक सातामै भयो करिव आठ अर्बको सेयर कारोबार, नेप्से १६६६ अंकमा पुग्यो, कुनको कति कारोबार

बिजमाण्डू
२०७३ असार ११ गते ००:०० | Jun 25, 2016
एक सातामै भयो करिव आठ अर्बको सेयर कारोबार, नेप्से १६६६ अंकमा पुग्यो, कुनको कति कारोबार


काठमाडौँ । सेयर बजारमा यससाता नेप्से परिसूचक ४४ अङ्कले बढेर १६६६.९९ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार साताभर १४७ कम्पनीको सात अर्ब ८२ करोड बराबरको एक करोड १० लाख कित्ता सेयर खरिद बिक्री भएका छन् ।
 
नेप्से परिसूचक बढेको देखिए पनि कारोबार भने अघिल्लो साताको तुलनामा १५.७६ प्रतिशत कम रहेको छ । गतसाता १४९ कम्पनीको नौ अर्ब ३० करोड बराबरको एक करोड ५२ लाख कित्ता सेयर खरिद बिक्री भएका थिए ।
 
समूहगत रुपमा यस साता बिमा समूहको सबैभन्दा बढी कारोबार भएको छ । बिमा समूहमा लगानीकर्ता ओइरिएपछि कारोबार बढी भएको स्टकले जनाएको छ ।
 
बिमा समूहमा ३१९ अङ्कले बढेको छ भने जलविद्युत् समूह १८६ अङ्कले अगाडि रहेको छ । वाणिज्य बैंक समूह ४२, विकास बैंक समूह २०, फाइनान्स समूह ३, होटल ३२ र उत्पादनमूलक समूहले भने ३४ अङ्कले अग्रता लिएको थियो ।
 
यस्तै समूह ‘क’ को मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा नौ प्रतिशतले बढेर साताको अन्तिम दिन ३५९.३९ अङ्कमा पुगेको थियो ।
 
सो अवधिमा कारोबार रकमको आधारमा ४३ करोड ९४ लाख बराबरको कारोबार गरेर लुम्बिनी जनरल इन्स्योरेन्स अगाडि रहेको थियो । यस्तै  ३९ करोड बराबरको कारोबार गर्दै नेसनल लाइफ इन्स्योरेन्स दोस्रो, ३२ करोड कारोबार गरेर शिखर इन्स्योरेन्स तेस्रो, २८ करोड कारोबार गरेर सानिमा माई हाइड्रो चौथो र २३ करोड कारोबार गर्ने नेको इन्स्योरेन्स पाँचौ स्थान रहेका थिए। रासस

Tata
GBIME
Nepal Life