इयुसँग वेलायत छुट्टिने भएपछि नेपालमा सुनको भाउ ३००० रुपैयाँ बढ्यो, बढेको मूल्यमा कारोबार नै भएन

बिजमाण्डू
२०७३ असार १० गते ००:०० | Jun 24, 2016
इयुसँग वेलायत छुट्टिने भएपछि नेपालमा सुनको भाउ ३००० रुपैयाँ बढ्यो, बढेको मूल्यमा कारोबार नै भएन


काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनको मूल्य महँगिएर एकै दिन तोलाको तीन हजार रुपैयाँ बढेपछि नेपालमा सुनको कारोबारनै भएन ।
 
एकै दिन तोलामा तीन हजार बढेको पहिलो पटक हो । यसअघि २०६८ साउन २३ गते सुनको भाउ १९ सय रुपैयाँले बढेको थियो । सुनको भाउ एकै दिन यतिधेरै बढेकोले सुनको कारोबार हुन नसकेको हो ।
 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार मूल्य बढेकै कारण सुन किन्न उपभोक्ता
नै आएनन् । बेच्नका लागि भने उपभोक्ता आएपनि भाउको उचारचढाबले व्यवसायीले नै किनेनन् ।
 
महासंघका निवर्तमान अध्यक्ष तेजरत्न शाक्यका अनुसार, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उचारचढाबकै अवस्थामा रहेकाले सबै व्यवसायी पर्ख र हेरको अवस्थामा छन् ।
 
बिहीवारसम्म बेलायत युरोपेली युनियनमै रहने संकेतका आधारमा मूल्यलार्इ हेरिरहेका थियौ । तर बेलायतको जनमत संग्रह ठीक विपरित आएपछि मूल्य आकासियो,  उनले बिजमाण्डूसँग भने, यहाँ एकै पटक तीन हजार रुपैयाँले मूल्य बढ्यो । यसले बजारलार्इ ठूलो असर गर्यो । सुनको कारोबार नै गर्न सक्ने अवस्था भएन ।
 
 
उनका अनुसार शुक्रबार होलसेल बिक्रेताले समेत सुन दिएनन् । होलसेलले सुन नदिएपछि त्यस्को प्रत्यक्ष असर गहना पसललार्इ पर्यो ।
 
महासंघले शुक्रबार नै व्यवसायीलार्इ केही दिन अन्तर्राष्ट्रिय बजारलार्इ हेरेर मात्रै कारोबार गर्ने सचेत गराएको शाक्यले बताए ।
 
उनले सोमबारसम्म सुनको कारोबारको अवस्थाको बारेमाम जानकारी हुने बताउँदै अहिले नै कारोबारमा लाग्दा नोक्सानी ब्योहोर्नु पर्ने जोखिम समेत रहेको बताए ।
 
विवाहको सिजन नभएकोले सुनको कारोबार अहिले कम नै हुने गरेको छ । सुनको भाउ एकै पटक तीन हजार रुपैयाँ बढेपछि सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको आकस्मिक बैठक समेत बसेको थियो ।
 
रत्न आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि नेपाली बजारमा सुनको कारोबार हुन नसकेको बताउँदै अझै पनि अनिश्चयका कारण अन्यौंलमा परेको बताए ।
 
सुनको मूल्य कसरी गर्ने भन्ने अन्यौंलमा छौ । यो बेलामा सुन फिर्ता मात्रै आउने समस्या हुने देखिएको छ, उनले बिजमाण्डूसँग भने, हामी यसलार्इ कसरी समाधान गर्ने भनेर छलफलमा छौ तर पनि कुनै समाधान निकाल्न सकेका छैनौ ।
 
उनका अनुसार अफ सिजनका कारण सुनको कारोबार घटेका बेला अन्तर्राष्ट्रिय बजारको मूल्य थप संकटमा परेको छ । बेलायत युरोपेली युनियनबाट अलग्गिने नतिजा शुक्रबार आएपछि विश्वभर नै सुनको मूल्य बढेको छ । जनमत संग्रहको नतिजा आएपछि सुनको मूल्य प्रति औंस ५९ डलर बढेर १३ सय १५ डलर पुगिसकेको छ । बढ्नेक्रमले निरन्तरता पनि पाइरहेको छ ।
 
संघबाट वेलायत अलग हुने भएसँगै सुरक्षित सम्पतिका रुपमा सुनको माग वढेका कारण मूल्य उक्लिएको हो । पाउन्ड ३१ बर्षयताकै कमजोर भएको छ भने डलरको भाउ उक्लिएको छ ।

Tata
GBIME
Nepal Life