आरविआई गभर्नर राजन आफैले अस्वीकार गरे दोस्रो कार्यकाल, लेखे फेयरवेल पत्र, अब फेरी पढाउने

बिजमाण्डू
२०७३ असार ५ गते ००:०० | Jun 19, 2016
आरविआई गभर्नर राजन आफैले अस्वीकार गरे दोस्रो कार्यकाल, लेखे फेयरवेल पत्र, अब फेरी पढाउने

मुम्बई। अन्तत रिजर्भ बैंक अफ इन्डियाका गभर्नर रघुराम राजनले आफ्नो कार्यकाल नबढाउने संकेत गरेका छन्। आगामी सेप्टेम्वरमा तीन वर्षे कार्यकाल सकिएपछि आफू फेरी शैक्षिक क्षेत्रमा फर्कने जानकारी दिंदै उनले आरबिआईका कर्मचारीलाई 'फेयरवेल' पत्र लेखेका हुन्।
 
उनले पत्रमार्फत केन्द्रिय बैंकमा दोस्रो टर्म नलिने जानकारी दिएका छन्। मनमोहन सिंह प्रधानमन्त्री हुँदा आरबिआईको गभर्नर बनेका राजन भारतको कर्पोरेट जगतमा निक्कै लोकप्रिय छन्। उनले आफ्नो तीन वर्षे कार्यकालमा भारतको मौद्रिक तथा बैंकिङ इतिहासलाई बदल्ने गरी काम गरे।
 
उनले यो तीन वर्षमा के काम भयो भन्ने फेहरिस्त पनि पत्रमार्फत सार्वजनिक गरेका छन्। उनले भारतीय मुद्राको स्थिरिकरण, मूल्य वृद्धिको नियन्त्रण, नयाँ बैंकिङ लाइसेन्स, भुक्तानी प्रणालीको विकास तथा मोवाइलदेखि मोवाइलमा भुक्तानीका लागि प्रणालीको विकास जस्ता काम यो तीन वर्षमा भएको बताए। त्यसैगरी खराब कर्जाको वर्गीकरण, त्यसका लागि नोक्सानी व्यवस्था र त्यस्तो कर्जा असुलीका लागि संयन्त्रको निर्माण पनि राजनको कार्यकालमा भयो।
 
 
भारतका प्रसिद्ध अर्थशास्त्री उनले केन्द्रिय बैंकको नेतृत्व लिएपछि गरेको सुधारबाट भारतीय अर्थव्यवस्था सुदृढ भएको मानिन्छ। भारतको कर्पोरेट जगत, विदेशी तथा स्वदेशी लगानीकर्ता तथा राजनीतिज्ञ केन्द्रिय बैंकमा उनको दोस्रो कार्यकाल हुनुपर्ने पक्षमा छन्।
 
तर सरकारको नेतृत्व गरिरहेको भारतीय जनता पार्टीका एक नेता सुव्रमण्यम स्वामी भने राजनलाई दोस्रो कार्यकाल दिन नहुने पक्षमा लविङ गरिरहेका छन्। उनको लविङपछि भारतमा राजनको विषयालई लिएर बहस भैरहेको छ। राजनले गभर्नरबाट अवकाश लिएपछि फेरी अमेरिकाको युनिभर्सिटी अफ सिकागोमा फर्किने बताएका छन्।
 
उनले अवकाश लिन लागेपछि भारतमा विपक्षी दलले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारको कडा आलोचना गरेका छन्।
 
 उनले आफ्ना सहयात्रीलाई लेखेको अंग्रेजी पत्रको नेपाली उल्था

Tata
GBIME
Nepal Life
प्रिय साथीहरु,
२०१३ सेप्टेम्वरमा मैले २३ ‌औं गभर्नरका रुपमा रिजर्भ बैंक अफ इन्डियामा काम सुरु गरेको थिएँ। मुद्रा दैनिक रुपमा अवमूल्यन भैरहेको थियो, मूल्यवृद्धि उच्च थियो र आर्थिक वृद्धिदर कमजोर। भारतलाई कमजोर पाँच मुलुकमा एक मानिनथ्यो। मैले गभर्नरका रुपमा आफ्नो पहिलो वक्त्व्यमा मेरो कामका एजेण्डाहरु राखेको थिएँ। जुन विषयमा मैले तपाईंहरुसँग छलफल पनि गरेको थिएँ।
 
त्यसमध्ये एक मौद्रिक नीतिको नयाँ फ्रेमवर्क तयार गर्ने थियो। यो नीतिबाट मूल्य वृद्धिलाई तल झार्ने,  विदेशी मुद्राको रिजर्भ बढाउने, निष्ठावान समितिबाट पारदर्शी ढंगले बैंकको लाइसेन्स दिने, भारत बिल पेमेन्ट सिस्टम, ट्रेड रिसिभेवल एक्सचेञ्ज जस्ता नयाँ संस्था खडा गर्ने थियो। त्यसैगरी भुक्तानी व्यवस्थालाई मोवाइलस्तरमा लैजाने, वित्तीय प्रणालीमा समस्या खडा गर्न सक्ने ठूला ऋणको डाटावेश विकास गर्ने थिए। मैले भनेको थिएँ, विश्व वित्तीय बजारले पैदा गरेका बेजोड तरङ्गहरुमा यी व्यवस्थाहरु खडा गरेर भविष्यका लागि एउटा पुल तयार गर्ने।
 
आज म गर्व गर्छु, रिजर्भ बैंकका रुपमा हामीले यी सबै प्रस्तावमा काम गर्यौं। मुद्रास्फिती केन्द्रित एउटा फेर्मवर्कले काम सुरु गरेको छ र मूल्यवृद्धिलाई आधामा ल्याएको छ। यसका कारण धेरै लामो समयपछि निक्षेपकर्ताले उनीहरुको आफ्नो निक्षेपमा सकारात्मक खुद व्याज दर प्राप्त गरिरहेका छन्। योसँगै हामीले १५० वेशिस प्वाइन्टमा व्याजदर कटौती गर्न पनि सफल भएका छौं।
 
यसैका कारण सरकारले पाकिसकेको साँवामा भुक्तानी गर्नुपर्ने व्याज समेत घटेको छ। त्यसैगरी सरकारले पहिलोपटक ४० वर्षे अवधिको बोन्ड समेत निकाल्न सफल भएको छ। हामीले गरेको कामकै कारण हाम्रो मुद्रा स्थिर भएको छ, हामीसँग विदेशी मुद्राको सञ्चिती रकर्डस्तरमा छ। जबकी हामीले सन् २०१३ मा सुरक्षित राखेको विदेशी मुद्राको भुक्तानीलाई पूर्णरुपमा खुला गरेका छौं। आज हामी कमजोर पाँच मुलुकमा होइन्, विश्वमा तिव्र गतिमा विकास गरिरहेको ठूलो अर्थतन्त्र हौं।
 
मैले आफ्नो पहिलो वक्त्व्यमा भनेभन्दा हामी धेरै काम गरिसकेका छौं, त्यसमध्ये सरकारको रिफर्मलाई सहयोग गरेर सार्वजनिक क्षेत्रका बैंकको व्यवस्थापकमा नियुक्तिका लागि बैंक बोर्ड व्युरोको गठन(आरबिआईले नियुक्त गरेको नायक कमिटिको सिफारिश) गर्ने विषय पनि हो।
 
खराव भएको परियोजनाबाट बैंक ऋण असुली गर्नका लागि नयाँ संरचना तयार गरिएको छ। साथै खराब कर्जाको पहिचान समयमा गर्न तथा एस्सेट क्वालिटी रिभ्युमा रहेर नोक्सानी व्यवस्था गरिएको छ। हामीले नेशनल पेमेन्ट कर्पोरेशन अफ इण्डियालाई क्रियाशिल बनाउन फ्रेमवर्क तयार गर्ने काम गर्यौं। यसको युनिभर्सल पेमेन्ट इन्टरफेसमार्फत देशको मोवाइलदेखि मोवाइलसम्मको भुक्तानी प्रणालीमा ठूलो क्रान्ति ल्याउनेछ।
 
आरबिआईका आफ्ना वरिष्ठ कर्मचारीका माध्यमबाट आन्तरिक रुपमा पनि हामीले पुर्नसंरचना गर्ने काम गर्यौं। हाम्रा कर्मचारीको दक्षता र क्षमता यसरी विशिष्टीकृत गर्यौं जसका माध्यमबाट हाम्रा कर्मचारी विश्वमा दोस्रा हुने छैनन्। हामीले जे गर्यौं यो सबैमा हामीलाई सार्वजनिक क्षेत्रका हस्तीले मार्गनिर्देशन गरे। हाम्रो बोर्डमा रहनु भएका पद्म विभुषण अटोमिक इनर्जी कमिशनका पूर्व अध्यक्ष अनिल ककोदर, पद्म विभुषण तथा म्यागासेसे अवार्ड विजेता इला भट्ट, जो स्वरोजगार महिला एशोसिएशनमा आवद्ध हुनुहुन्छ।
 
हाम्रा कर्मचारीको निष्ठा तथा क्षमता र हामीले गरेको कामको पारदर्शीता अतुलनीय छ। र म यो जस्तो सक्षम संस्थाको सहयात्री बन्न पाउँदा गौरवान्दित छु।
 
म शैक्षिक व्याक्ति हुँ, र मैले जहिले पनि भन्ने गरेको छु मेरो अन्तिम घर त्यही हो, जहाँ विचारको संसार छ। मेरो तीन वर्षे कार्यकाल पूरा हुनै लागेको छ। र मेरो युनिभर्सिटी अफ सिकागोको तीन वर्षे छुट्टि पनि पुरा हुन लागेको छ। त्यसैले हामीले कति काम पूरा गर्यौं त्यो समिक्षा गर्ने सही समय पनि हो।
 
हामीले पहिलो दिनमा जे प्रतिवद्धता गरेका थियौं ती सबै पूरा भएका छन् मात्रै दुइ वटा काम विकासको चरणमा छन्। मूल्यवृद्धि हामीले राखेको लक्ष्यमा छ, तर मोनिटरी पोलिसी कमिटीले नीति तय गर्न अझै बाँकी छ। त्यसैगरी एसेट क्वालिटी रिभ्युका माध्यमबाट हामीले बैंकको जुन सुद्धिकरण सुरु गरेका थियौं त्यसबाट बैंकको विश्वसनियता त्यसको व्यालेन्ससिटमा आउन थालेको छ। यो प्रक्रिया अझै जारी छ।
 
मैले जुन विकास देखिरहेको छु, त्यसको आधारमा तथा सरकारसँगको छलफल पछि मैले एउटा कुरा तपाईंहरुसँग साझा गर्न चाहन्छु। जब गभर्नरको रुपमा सेप्टेम्वर ४ २०१६ मा मेरो कार्यकाल सकिनेछ, त्यसपछि म फेरी शैक्षिक क्षेत्रमा फर्कनेछु। पक्कै पनि देशका लागि आवश्यक पर्दा म सेवा गर्न सँधै हाँजिर हुनेछु।
 
साथीहरु, हामीले पछिल्लो तीन वर्ष सरकारसँग मिलेर म्याक्रोइकोनोमिक तथा संस्थागत स्थायित्वका लागि प्ल्याटफर्म तयार गरेका छौं। म विश्वास गर्छु ब्रेक्जिट जस्ता खतरनाक चुनौतीले सिर्जना गर्ने अस्थिर बजारको सामाना गर्न हामी पूर्ण रुपमा तयार भैसकेका छौं। त्यसैगरी नन रेजिडेन्ट 'बि' जस्ता विदेशी मुद्राको पुर्न भुक्तानीको व्यवस्थापन गर्न हामी तयार भैसकेका छौं।
 
तपाईंहरुले गरेका कामको उपलब्धिका कारण बैंकमा कर्मचारीको हौसला उच्च छ। सरकारसँग मिलेर हामी तथा हामी जस्ता नियामक निकायले गरेको सुधारका कारण आउने दिनमा उच्च रोजगारको सिर्जना तथा समृद्धि प्राप्त हुने मलाई विश्वास छ। मलाई विश्वास छ तपाईंहरुको सहयोगमा मेरा उत्तराधिकारीले हामीलाई अझ माथि लैजानुहुनेछ।  म अझै पनि आगामी केही महिना तपाईंसँगै काम गरिरहने छु। तर म आरबिआई परिवारका रुपमा तपाईंको कडा परिश्रम तथा अभूतपूर्व सहयोगका लागि तपाईंलाई अग्रिम धन्यवाद भन्न चाहन्छु। मैले तपाईसँग एउटा अद्वतीय यात्रा तय गरें।

आभारसहित
तपाईंको
रघुराम जी राजन